मंगलबार, वैशाख ३०, २०८२
05:12 | ०९:५७

बेलायतमा बुद्ध जयन्तीको अवसरमा प्रवचन र पूजा

नेपाली लिङ्क मे १२, २०२५

लन्डन । बेलायतमा विशेष समारोहबीच २५६९ औं बुद्ध जयन्ती मनाइएको छ ।

बेलायतको रेडिङस्थित पाकिस्तानी कम्युनिटी सेन्टर हलमा सोमबार कार्यक्रम भएको हो । थाउजेण्ड बुद्ध यूके, तामाङ घेदुङ रेडिङ, शाक्यलिंग बुद्धिष्ट यूके, शेर्पा एसोसिएसन यूके (साउथ सेन्ट्रल) र पासा पुचः गुथि रेडिङको संयुक्त आयोजनामा बौद्ध प्रवचन र दीर्घायूको पूजा गरियो ।

नेपालबाट आमन्त्रित महागुरु टुल्कु (अवतारी लामागुरु) लोप्साङ नामग्याल रिन्पोछेको विशेष उपस्थितिमा उक्त पूजा भएको थियो ।

महागुरु रिन्पोछेले पूजा पश्चात लगभग ४५ मिनेट आफ्नो प्रवचन दिए ।

प्रवचनका क्रममा रिन्पोछे लोप्साङ नामग्यालले बुद्ध शिक्षा र आधुनिक जीवनसंगको सान्दर्भिकताबारे आफ्ना विचार राखेका थिए । उनले बुद्ध दर्शन र विज्ञान बीचको अन्तरसम्बन्धबारे पनि प्रकाश पारे । बुद्ध शिक्षा धर्मका लागी मात्र नभई आफ्नो जीवनमा प्रयोगमा ल्याई पञ्चशीललाई मानी मात्र दियो भने पनि असल मानव बन्नेमा कुनै शंका नरहने बताए ।

अहिलेको जस्तो ‘फास्ट ट्रयाक’ विश्वमा बुद्धको तिमि नै आफ्नो मुक्तिको निर्माता हो भन्ने विषयमा जोड दिएका थिए ।

गुरु रिन्पोछेले प्रवचनपश्चात सबै उपस्थित भक्तजन हरुलाई दीर्घायूको वांङ (आर्शीर्वाद स्वरुप पवित्र फल) वितरण गरेका थिए ।

कार्यक्रममा रेडिङ मेयर काउन्सिलर ग्लेन डेनिस पनि सहभागी थिए । उनले नेपाली समाज अत्यन्त विविधताले भरिएको समाज रहेको उल्लेख गरे ।

बेलायतमा नेपाली भन्ने बित्तिकै ब्रिटिश गोर्खा हुन् भन्ने आम बुझाइ रहेको भएपनि अहिले आएर सबै खाले जातजाति र उनीहरुका विविध संस्कार-संस्कृति आफूले जान्न पाएकामा खुशी व्यक्त गरे । साथै उनले यसरी नै सबै जातजाति मिलेर बस्न पनि सुझाए ।

तामाङ घेदुङ्ग रेडिङका महासचिव धन तामाङले संचालन गरेको उक्त कार्यक्रममा उपस्थित सबै आयोजक, सहयोगी र भक्तजनहरुलाई थाउजेन्ड बुद्ध यूकेका अध्यक्ष समुन्द्र गुरुङले धन्यवाद दिए ।

कार्यक्रमका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । सहभागीलाई घरबाटै बनाएर ल्याइएको शुद्ध शाकाहारी भोजन तथा खाजा निशुल्क ब्यवस्था गरिएको थियो ।

पूजा बिहान १० देखि अपरान्ह ५ बजेसम्म चलेको थियो । कार्यक्रममा सहभागी हुन लन्डनबाट समेत भक्तजनहरु पुगेका थिए ।

-विशाल तामाङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू