बेलायतको काउन्सिलर निर्वाचित भइन् रोजिना


लन्डन- बेलायतको ग्लस्टरशायरस्थित ट्वीकेसबरी बरोमा नेपालीमूलकी रोजिना प्रधान राई काउन्सिलर निर्वाचित भएकी छन्।
विहीबार सम्पन्न स्थानीय निर्वाचनमा लिबरेल डेमोक्र्याट पार्टीका तर्फबाट उनी बरोको इन्सवार्थ वडामा काउन्सिलर विजयी बनेकी हुन्।
शुक्रबार सार्वजनिक नतिजाअनुसार रोजिनाले ६ सय ६६ मत पाएर जीत हासिल गरिन्। उनका निकटतम प्रतिद्वन्दी रिफर्म यूके उम्मेदवारले ५ सय ९६ मत पाए।
दुई दशकभन्दा लामो समयदेखि बेलायत बस्दै आएकी रोजिनाले काउन्सिलर बनेपछि अब स्थानीय सडक मर्मत सम्भार तथा निर्माण, सरसफाइ, हाउजिङ, व्यवसाय प्रवर्धन तथा लाइसेन्सिङ, विद्यालय पूर्वाधार लगायत क्षेत्रमा काम गर्नुपर्नेछ ।
काउन्सिलर निर्वाचित राई एनआरएनए आइसीसीकी उपाध्यक्ष पनि हुन्। एनआरएनए अभियानमा लामो समयदेखि आवद्ध समाजसेवी रोजिना एनआरएनए यूकेमा उपाध्यक्ष रहंदा धेरै उल्लेखनीय काम गरेर प्रशंसा बटुलेकी थिइन् ।
एनआरएनए यूके अध्यक्ष पदमा सफलता हासिल हुन नसकेपनि उनले यस संघमा सक्रियता छाडेकी छैनन् । रोजिनाले अहिले व्यवसाय र समाजसेवा एकसाथ अगाडि बढाइरहेकी छन् ।
रोजिनाले औद्योगिक नगरी विराटनगरमा हालै सम्पन्न प्रथम कोशी लगानी सम्मेलनमा सुनसरीको बर्जु ताल प्रोजेक्टमा ४ अर्ब २८ करोड रुपैयां लगानी गर्ने सहमति गरेकी छन् ।
सोका लागि रोजिना र लगानी प्राधिकरणका सिइओ डा. सरोज कोइरालाबीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।
कोशी प्रदेशको समग्र आर्थिक विकासका लागि सम्मेलनमा कुल १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ बराबरका ४६ वटा परियोजनामा समझदारी भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५