बिहीबार, वैशाख १८, २०८२
04:23 | ०९:०८

एकता महाधिवेशन रोक्न खोज्नु सर्वोच्चको परमादेश विपरित: डा. घले (वक्तव्य)

नेपाली लिङ्क अप्रिल २५, २०२५


काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक शेष घलेले समितिका सबै १३ सदस्यलाई एकै थलोमा भेला भएर छलफल गर्न आह्वान गरेका छन्।

उच्चस्तरीय समितिको आह्वानमा काठमाडौँमा आयोजना गर्न लागेको एकता महाधिवेशन सुरु हुन झन्डै एक साता मात्रै बाँकी रहंदा घलेले त्यस्तो अपिल गरेका हुन्।

उच्चस्तरीय समितिको अहिलेसम्म १५ ओटा बैठक बसेपनि पछिल्ला केही बैठकमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्षहरु जीबा लामिछाने, कुमार पन्त आदि अनुपस्थित रहने गरेका छन्।  

शुक्रवार एक वक्तव्य प्रकाशित गर्दै संयोजक घलेले संघ अहिले गम्भीर मोडमा आइपुगेको बताए।  

“यही वैशाख २० देखि २२ गते सम्म (मे ३-५, २०२५) मा काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनका लागि डेलिगेट्स बन्न संसारभरिका ३,२०० साथीले आवेदन दिइसक्नु भएको छ। छुट्टी मिलाएर, महँगो टिकट काटेर कतिपय साथीहरू नेपाल आइसक्नु भएको छ, आउने क्रममा हुनुहुन्छ। निर्वाचन कार्यतालिका पनि प्रकाशित भइसकेको छ ,” डा  घलेले भने।  

“यस्तो अवस्थामा महाधिवेशन रोक्न खोज्नु वा कुनै पनि किसिमको भ्रम छर्न खोज्नु उपयुक्त होइन। सम्मानित सर्वोच्च अदालतको परमादेश, एनआरएनए विधानको मर्म र उच्चस्तरीय समितिद्वारा पारित कार्यविधिको आधारमा हामीले एकताको महाधिवेशन आयोजना गर्न गइरहेका छौँ । हाम्रा बैठकहरूमा नेपाल सरकारका प्रतिनिधिहरू पनि सहभागी भई रहनु भएको छ। त्यसैले वैधानिकताको बारेमा कुनै शङ्का छैन। गैर आवासीय नेपाली नागरिकता, लगानी प्रवर्द्धनजस्ता मुद्दाहरूमा नेपाल सरकारसँग दह्रो वार्ता गर्न पनि हामी  फुटेर हैन जुटेर अगाडि बढ्नुपर्ने अवस्था छ,” डा घलेले वक्तव्यमा भनेका छन्।  

उनले एनआरएनएका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, र उच्चस्तरीय समितिका सबै १३ जना एक ठाउँमा बसेर छलफल गरी निकास निकाल्न पनि आग्रह गरेका छन्।।

“यो अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने र नयाँ उपलब्धि हासिल गर्नका लागि लाग्नु पर्ने बेला हो । विगतमा कसले के गर्‍यो त्यो कुरा अहिले छाडौँ । अहिलेको सन्दर्भमा सर्वोच्च अदालतको परमादेश अनुसार उच्चस्तरीय समितिले तोकेको मितिमा नै महाधिवेशन आयोजना गर्नु एकताको सूत्र हो। म एक पक्षको मात्रै जितको कामना गर्ने व्यक्ति होइन । हिजो पनि संघको अध्यक्ष हुँदा सबैलाई समेटेर, सहकार्य गरेर हिँडेको हुँ। त्यसैले एकै थलोमा भेला भएर, खुल्ला छलफल गरेर अहिलेको समस्यालाई निकास दिन र संस्थालाई एकजुट र बलियो बनाउन आआफ्नो क्षेत्रबाट सक्दो पहल गर्न पनि म सबै मित्रहरूलाई अपिल गर्दछु,” उनले वक्तव्यमा भनेका छन्।

हेर्नुहोस् वक्तव्यको पूर्ण पाठ:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू