सोमबार, ७ सेप्टेम्बर, २०२६
13:33 | १८:१८

मुक्तक प्रतिष्ठान यूकेको नेतृत्वमा प्रतिमा केसी ‘प्रवासी’

नेपाली लिङ्क सेप्टेम्बर ७, २०२६

लन्डन । नेपाल मुक्तक प्रतिष्ठान यूकेको चौथो अधिवेशन तथा ११औँ वार्षिक साधारणसभाले साहित्यकार प्रतिमा केसी ‘प्रवासीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। लन्डनको ईलिङस्थित मोन्टीज रेस्टुरेन्टमा ६ सेप्टेम्बरमा सम्पन्न अधिवेशनले यसअघि उपाध्यक्ष रहेकी केसीलाई संस्थाको नेतृत्व सुम्पिएको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राज श्रेष्ठ, सचिवमा गङ्गा भण्डारी, सहसचिवमा अहिल्या कुँवर र कोषाध्यक्षमा जीत बुढाथोकी छन्त्याल चयन भएका छन्। त्यस्तै सदस्यहरूमा शान्ती थापा सुब्बा र दुर्गा ढकाल चयन भएका छन्।

नयाँ कार्यसमिति चयनका लागि प्रतिष्ठानका सल्लाहकार डा. रुपक श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। समितिमा सल्लाहकारद्वय सुमलकुमार गुरुङ र विनोद अधिकारी सदस्य थिए। निर्वाचन समितिले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न गरेको हो।

कार्यक्रममा प्रा.डा. देवीप्रसाद सुवेदी प्रमुख अतिथि थिए भने हरिसिंह थापा तथा अमेरिकाबाट सहभागी मुक्तककार गोपाल रेग्मी अतिथिका रूपमा सहभागी भएका थिए। सो अवसरमा नेपाल मुक्तक प्रतिष्ठान केन्द्रका अध्यक्ष रामकाजी कोनेको शुभकामना सन्देशसमेत पढेर सुनाइएको थियो।

दुर्गाप्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम गङ्गा भण्डारीले सञ्चालन गरेकी थिइन् भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतकी कार्यवाहक अध्यक्ष माया गुरुङले स्वागत मन्तव्य दिएकी थिइन्। प्रमुख अतिथि, अतिथि तथा सहभागी स्रष्टाहरूले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई खादामाला लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए। निवर्तमान अध्यक्षलाई संस्थामा पुर्‍याएको योगदानको कदर गर्दै दोसल्ला र प्रशंसापत्रसहित सम्मान गरिएको थियो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र नेपाल मुक्तक प्रतिष्ठानको सहआयोजनामा दुई चरणमा सम्पन्न कार्यक्रममा १६०औँ मोतीजयन्तीसमेत मनाइएको थियो। सहभागीहरूले मोतीराम भट्टको तस्बिरमा माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरेका थिए। प्रतिष्ठानका सल्लाहकार सुमलकुमार गुरुङले मोतीराम भट्टको व्यक्तित्व, कृतित्व र जीवनीबारे खोजमूलक चर्चा गरेका थिए।

कार्यक्रममा हालै रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण गरी श्रद्धाञ्जलीसमेत अर्पण गरिएको थियो।

सोही अवसरमा मुक्तककार डा. रुपक श्रेष्ठको हालै प्रकाशित मुक्तक संग्रह ‘चौशूलमाथि समीक्षा गरिएको थियो। प्रमुख अतिथि प्रा.डा. सुवेदीले कृतिको समीक्षा गर्दै संग्रहमा समेटिएका मुक्तकले गहन भाव बोकेको उल्लेख गरे। उनले ‘चौशूल’का चार आयामबारे चर्चा गर्दै यसलाई नेपाली मुक्तक साहित्यको उच्चकोटिको तथा संग्रहणीय कृतिका रूपमा चित्रण गरे।

उल्लेख्य संख्यामा साहित्यकार तथा साहित्यप्रेमीको सहभागिता रहेको कार्यक्रममा लोकगीत, गीत, गजल, कविता तथा मुक्तक वाचन गरिएको थियो। विनोद अधिकारी, दुर्गाप्रसाद पोखरेल, राज श्रेष्ठ, हरिसिंह थापा, डा. रुपक श्रेष्ठ, सुमलकुमार गुरुङ, दुर्गा ढकाल, अहिल्या कुँवर, शशी थापा सुब्बा, माया गुरुङ, विजय गुरुङ, विष्णु थापा, गिरी थापा, जीत बुढाथोकी छन्त्याल, रघु भण्डारी, प्रतिमा केसी, लय प्रसाईं र कुमार केसीलगायतले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।

कार्यक्रमको समापन गर्दै नवनिर्वाचित अध्यक्ष प्रतिमा केसी ‘प्रवासी’ले निर्वाचन समिति, अतिथि, साहित्यकार तथा सहभागी सबैप्रति धन्यवाद व्यक्त गरिन्। उनले आफ्नो दुई वर्षे कार्यकालमा संस्थालाई थप सक्रिय र प्रभावकारी बनाउने लक्ष्यसहित ११ बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गरेकी छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू