शनिबार, ५ सेप्टेम्बर, २०२६
09:50 | १४:३५

लन्डनमा एआईले चलाउँदै ट्याक्सी

नेपाली लिङ्क सेप्टेम्बर ५, २०२६

लन्डन–कल्पना गर्नुस् त—तपाईं ट्याक्सीमा बस्नुभएको छ, तर गाडी चलाइरहेको मानिस होइन, आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् ‘एआइ’  हो । स्टेयरिङ आफैं घुम्छ, गाडी आफैं मोडिन्छ, अगाडिको ट्राफिक हेरेर आफैं ब्रेक लाग्छ ।

यो कुनै साइन्स फिक्सन फिल्मको दृश्य होइन । बेलायतको लन्डनमा उबरले सार्वजनिक रूपमा रोबोट्याक्सी सेवा सुरु गरेको छ । उबरले बेलायती प्रविधि कम्पनी वेभ (Wayve) सँग मिलेर लन्डनका सडकमा यस्तो सेवा सञ्चालनमा ल्याएको हो ।

सुरुआती चरणमा १५ वटा विद्युतीय Ford Mustang Mach-E गाडी प्रयोगमा ल्याइएको छ। यी गाडीमा वेभको एआइ आधारित स्वचालित ड्राइभिङ प्रविधि जडान गरिएको छ । यसलाई रोबोट्याक्सी भनिए पनि गाडी पूर्ण रूपमा चालकविहीन भने छैन ।

हरेक गाडीमा अहिले पनि एक जना मानव सुरक्षा चालक बस्छन्, जसले आवश्यक परेमा तत्काल स्टेयरिङ समात्न वा ब्रेक लगाएर गाडीको नियन्त्रण लिन सक्छन् । बीबीसीका एक पत्रकारले पनि यस्तो रोबोट्याक्सीमा यात्रा गरेर यसको अनुभव गरेकी छन् । उनका अनुसार अधिकांश यात्रा निकै सहज रह्यो । गाडीले सडकको अवस्था हेर्दै, अन्य गाडी, पैदलयात्री, साइकल र ट्राफिकलाई ध्यानमा राख्दै आफैं यात्रा गर्‍यो । तर यात्राका क्रममा एउटा अवस्थामा भने सुरक्षा चालकले हस्तक्षेप गर्नुपरेको थियो ।

अब यात्रुहरूले उबर एपमार्फत उबर एक्स, कम्फोर्ट वा इलेक्ट्रिक जस्ता सेवा बुक गर्दा यस्तो स्वचालित गाडीमा म्याच हुन सक्छन् । तर यात्रुले रोबोट्याक्सी नै भनेर छुट्टै माग्न भने पाउने छैनन् । यदि यस्तो गाडी म्याच भयो भने यात्रुले त्यसलाई स्वीकार गर्न वा अस्वीकार गर्न सक्छन् । र सबैभन्दा रोचक कुरा, यसका लागि अतिरिक्त शुल्क लाग्दैन ।

वेभको प्रविधिको विशेषता पनि फरक छ । यसले परम्परागत स्वचालित गाडीहरूजस्तो हरेक सडकका लागि पहिल्यै तयार गरिएको विस्तृत डिजिटल नक्सामा मात्र निर्भर रहने प्रयास गर्दैन । बरु एआइको सहयोगमा वास्तविक सडक र त्यसमा आउने विभिन्न परिस्थितिलाई बुझ्दै प्रतिक्रिया दिने प्रणाली प्रयोग गर्छ । र लन्डन जस्तो व्यस्त शहरमा यो प्रविधिको परीक्षा झन् कठिन छ । साँघुरा सडक, भारी ट्राफिक, बस, साइकल, ई-बाइक र जताततै हिँड्ने पैदलयात्री- यी सबैबीच सुरक्षित रूपमा गाडी चलाउनु एआइका लागि ठूलो चुनौती हो ।

अमेरिका र चीनका विभिन्न शहरमा भने पूर्ण रूपमा चालकविहीन रोबोट्याक्सीहरू पहिले नै सञ्चालनमा छन् । तर बेलायतले भने अझै सावधानीपूर्वक अगाडि बढ्ने बाटो रोजेको छ । त्यसैले अहिलेका लागि गाडी चलाउने मुख्य काम एआइले गर्छ, तर आवश्यक पर्दा नियन्त्रण लिन मानिस पनि तयार बस्छ ।

के तपाईं यस्तो एआइले चलाएको ट्याक्सीमा यात्रा गर्न तयार हुनुहुन्छ  ?

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू