मंगलबार, १ सेप्टेम्बर, २०२६
20:02 | ००:४७

बाढी पीडितलाई एक करोड पठाउने अभियानमा एनआरएनए यूके, संघसंस्थासँग समन्वय गर्न सुझाव

नेपाली लिङ्क सेप्टेम्बर १, २०२६

लन्डन –बेलायतस्थित नेपाली संघसंस्थाहरुले नेपालका बाढी पीडितलाई सहयोग रकम पठाउनु अघि संघसंस्थासँग समन्वय गरि एकीकृत रुपमा काम गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेलाई सुझाव दिएका छन् ।

एनआरएनए यूकेले सोमबार नेपालका बाढी पीडितबाट प्रभावित परिवार तथा समुदायलाई सक्दो सहयोग पुर्‍याउन बेलायतस्थित नेपाली समुदायका अगुवासँग गरेको अन्तरक्रियामा उनीहरुले त्यस्तो सुझाव दिएका हुन् ।

कार्यक्रममा एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी) उपाध्यक्ष रामशरण सिंखडा र उपहासचिव दिनेश घिमिरेले आइसीसी अध्यक्ष डा हेमराज शर्मासहितको टोलीले पीडितलाई राहत सामाग्री वितरण कसरी गरिरहेको छ भन्ने बारेमा जानकारी गराए । उनीहरुले नेपाल सरकार र प्रधानमन्त्री कार्यालयसँग समन्वय गरि एनआरएनएले काम गरिरहेको जनाए ।

छलफलमा वरिष्ठ पत्रकार खगेन्द्र नेपाली, एनआरएनए आइसीसी सदस्य छविलाल अर्याल, एनआरएनए यूकेका उपाध्यक्षहरु कृष्ण भण्डारी, रामप्रसाद कंडेल र उज्ज्वल कार्की, यूरोप उपसंयोजक तिलक भट्टराई, एनआरएनए अभियन्ता राम बगाले, पासा पुच गुथि यूके अध्यक्ष सुशील प्रजापतिले संघसस्थाहरुसँग समन्वय गर्न सुझाव दिए ।

सामाजिक अभियन्ता हरि नरसिंह गुरुङ, डा मुकुन्द वास्तोला, ग्रीनवीच बरोका पूर्व मेयर जीत रानाभाटले एनआरएनए यूके अध्यक्ष पुडासैनीको टिमले राम्रो काम गरिरहेकाले सबैले सघाउनु पर्ने बताए ।

कार्यक्रममा सिर्जनशील लेष्टर नेपाल यूके अध्यक्ष शिव पराजुली, सामाजिक अभियन्ता भीमलाल भट्टराई, एनआरएनए अभियन्ता ज्ञानेन्द्र आले, नटिंघम समाज यूकेका उपाध्यक्ष रेशम खड्का, एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषदकी अध्यक्ष राममाया बिष्ट, एनआरएनए यूके वेल्स राज्य समन्वय परिषदका उपाध्यक्ष बलराम अधिकारी, एनआरएनए यूके कार्यसमिति सदस्य शिवकान्त खराल, सविना श्रेष्ठ लगायतले पनि आफ्नो धारणा राखेका थिए ।

एनआरएनए यूके अध्यक्ष पुडासैनीले विगतमा पनि नेपालमा विपद आउँदा बेलायतवासी नेपालीले मन खोलेर सहयोग गरेको स्मरण गर्दै यसपटक समेत सबै संघसंस्थाले हातेमालो गरेर अगाडि बढ्नु पर्ने जनाए । उनले एनआरएनए टोलीले प्रभावित स्थलमै पुगेर राहत प्रदान गरिरहेकाले एनआरएनएमार्फत संकलित सहयोग नेपाल पठाउन आग्रह गरे।

उनले बेलायतबाट कम्तीमा रु एक करोड नेपाल पठाउन एनआरएनए यूकेले थालेको अभियानलाई सघाउन अनुरोध पनि गरे ।

प्लेमाउथबाट एक लाख ११ हजार सहयोग घोषणा

लामो समयदेखि प्लेमाउथमा बस्दै आएका सामाजिक अभियन्ता दिपक ढकालले एनआरएनए यूकेमार्फत रु एक लाख एघार हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन ।

अध्यक्ष पुडासैनीले नेपालका बाढी पीडितलाई सहयोग गर्न अनुरोध गरेपछि उनले तत्काल त्यस्तो सहयोग घोषणा गरेका हुन् । नेपालीलाई दुःख परेको बेला डायस्पोराका नेपालीहरुले सहयोगको हात अघि बढाए जस्तै आफूले पनि सक्दो सहयोग गर्न चाहेको उनले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू