शनिबार, २९ अगस्ट, २०२६
18:26 | २३:११

नौ वटा जलविद्युत आयोजनाका ५३७ कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन

रासस अगस्ट २९, २०२६

काठमाडौँ, भदौ १३ गते । भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)का अनुसार रसुवा र नुवाकोटमा रहेका नौ वटा जलविद्युत आयोजनामा कार्यरत ८९८ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये ३६१ जनाको उद्धार भइसकेको छ ।

दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाबाट ५७६ जना सम्पर्कविहीन भएकामध्ये २५४ जनाको उद्धार भइसकेको छ । सोही आयोजनाको सुरुङमा अझै पनि ३०० जना श्रमिक तथा कर्मचारी फसेको बताइएको छ । अहिले सो सुरुङमार्गमा खोजी भइरहेको छ ।

त्यसैगरी, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट पनि ९३ जना सम्पर्कविहीन भइरहेका छन् । रसुवा भोटेकोशी जलविद्युत आयोजनाबाट चार जना सम्पर्कविहीन भएको इप्पानले जनाएको छ ।

लाङ्टाङ खोला जलविद्युत आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १८ जनाको उद्धार भएको छ । चिलिमे हाइड्रोपावरबाट आठ जना सम्पर्कविहीन भइरहेका छन् । मैलुङ खोला हाइड्रोपावरबाट सात जना सम्पर्कविहीन भएका छन् ।

त्रिशूली जलविद्युत आयोजनाबाट एक जना सम्पर्कविहीन भएका छन् । देवीघाट जलविद्युत आयोजनाबाट एक जना सम्पर्कविहीन भइरहेका छन् । माथिल्लो त्रिशूली ‘थ्री’ ए जलविद्युत आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएका छन् ।

माथिल्लो त्रिशूली ‘थ्री’ बी जलविद्युत आयोजनाबाट १२२ जना सम्पर्कविहीन भएकामध्ये ९१ जनाको जिवितै उद्धार गरिएको छ । मिडल त्रिशूली गङ्गा जलविद्युत आयोजनाबाट दुई जना सम्पर्कविहीन भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू