आइतबार, १६ अगस्ट, २०२६
11:09 | १५:५४

गैर आवासीय नेपालीहरु नेपालमा लगानी गर्न उत्साहित भएपनि कानुनी झन्झट र सुरक्षा मुख्य चुनौती

नेपाली लिङ्क अगस्ट १६, २०२६

ग्वाङ्झाउ (चीन) । गैर आवासीय नेपालीले नेपालमा लगानी गर्न आफूहरू सधैँ उत्साही तर लगानी गर्दा मुख्य रूपमा दुईवटा समस्या रहेको औँल्याइएका छन् ।

चीनको ग्वाङ्झाउमा जारी ११औँ एसिया प्यासिफिक सम्मेलनमा उपस्थित सहभागीहरुले यस्तो साझा चिन्ता व्यक्त गरेका हुन् ।

उनीहरुले एसिया प्यासिफिक क्षेत्रदेखि अमेरिका र युरोपसम्म फैलिएका नेपालीहरू नेपालमै केही गर्न चाहने तर त्यहाँ लगानी गर्दा भोग्नुपर्ने झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षा चिन्ताले मुख्य रूपमा सताउने गरेको बताए ।

एनआरएनएका पूर्वअध्यक्ष एवं कोरियालाई कार्यक्षेत्र बनाई सफल व्यवसाय गरिरहेका विनोद कुँवरले नेपालमा काम कम गर्ने अनि गफ बढी गर्ने प्रवृत्ति पनि समस्या भएको बताए । उनले नेपालमा कानुनी प्रक्रिया पनि झन्झटिलो र लामो समयसम्म अल्झनुपर्ने भएकाले लगानीकर्ता निरुत्साहित हुने बताए ।

‘मैले नेपाल र कोरिया दुवै देशमा बराबर लगानी गरिरहेको छु । नेपालमा गफ धेरै काम कम हुन्छ भन्ने अनुभव भइरहेको छ,’ कुँवरले भने, ‘समयअनुसारको योजना बनाउनुपर्छ । समयमै काम हुनुपर्छ । नत्र त्यो कामले नतिजा दिँदैन । अनि समय पनि पर्याप्त दिनुपर्छ ।’

नेपालको कानुनले चारदेखि पाँच घन्टा कामै गर्न नदिने भन्दै यसले गर्दा नेपालमा लगानी गर्दा धेरै दुःख हुने गरेको उनले सुनाए ।

‘जहाँ जहाँ कानुनी समस्या छन् त्यसलाई तत्कालका लागि सरकारले सहजीकरण गर्नुपर्छ । नेपालमा ब्याजदर निकै महँगो छ,’ उनले भने, ‘यस्ता कुरामा पुनर्विचार गर्नुपर्छ ।’

एनआरएनएका पूर्वअध्यक्ष उपेन्द्र महतोले बाहिर रहेका हरेक नेपाली ‘मेरो देश कहिले बन्छ?’ भनेर चिन्तन गरेर बसेको र ‘मैले नगरे कसले गर्छ?’ भन्ने चिन्ता उनीहरूमा देखिएकाले नेपाल सरकारले यसलाई अवसरका रूपमा अघि बढाउनुपर्ने सुझाव दिए ।

‘नेपाल नेपालीहरूले नै बनाउने हो । राम्रा र मिठा कुराले मात्र देश बन्ने भए उहिल्यै बन्थ्यो । हामी मिठा कुरा गर्न सिपालु छौँ,’ उनले भने, ‘अब नेपालीको सभ्यता बचाएर विकास गर्नुपर्ने छ। यही एउटा हामी सबैले संकल्प गर्नुपरेको छ।’

सबै गैरआवासीय नेपालीहरूको एउटै सपना भएको र त्यो समृद्ध नेपाल भएको उनले बताए ।

‘गैरआवासीय नेपालीको लगानीले मात्र समृद्ध हुँदैन तर उनीहरूविना पनि हुँदैन,’ उनले भने, ‘यो सत्य अब नेपाल सरकारले बुझेर सहज कानुनहरू बनाउनुपर्छ । यसका लागि पुनर्संरचना गर्ने कानुनी काममा ढिलाइ गर्न हुँदैन ।’

नेपालजस्तो लगानीको राम्रो ठाउँ अन्यत्र नभएको भन्दै महतोले संसारको जुनसुकै देशमा पनि समस्या हुने तर त्यसलाई कसरी सम्बोधन गर्ने र लगानीको सुरक्षा गर्ने भन्ने हुने तर्क गरे ।

उनले कानुन वा प्रहरी देखाएर, तर्साएर, धम्काएर नहुने भन्दै यसका लागि फकाएर र लगानीकर्तालाई सहजता गराएर देश विकास गर्न सकिने सुझाव दिए।

‘उद्यमीहरूलाई धम्काएर वा डर देखाएर हैन । देशको राम्रो वातावरण बनाएर अनि कानुनी सुरक्षा दिएर लगानी ल्याउन सकिन्छ,’ महतोले भने, ‘यस्तो लगानी ल्याउँदा एनआरएनए नेपालीमात्र आउँदैन उसले वैदेशिक लगानी पनि भित्राउँछन् ।’

वरिष्ठ उपाध्यक्ष रविन शेरचनले नेपालमा लगानीको विषयमा धेरै क्षेत्रहरू भएको र केही नयाँ पहिचान गर्नुपर्ने क्षेत्रहरू पनि भएकाले अब लगानी बढाउनुपर्ने बताए ।

त्यस्तै, कोरियामा रहेका अनुसन्धानकर्ता देवीबहादुर बस्नेतले नेपालमा मेडिकल र प्रोटिन क्षेत्रमा नयाँ इनोभेसनको काम गर्ने अवसर रहेको बताए ।

‘नेपालमा नयाँ क्षेत्रमा काम गर्ने अवसर प्रशस्तै छन् । के छ त्यो खोज्नुपर्छ,’ उनले भने, ‘नेपालको वातावरणका कारण पनि मेडिकल क्षेत्रमा लगानी गर्न सकिन्छ ।’

नेपालमा भएको वातावरणले पनि माइक्रोवेभमार्फत प्रोटिनहरू बनाउन सकिने र यो चीन, कोरिया र भारतसहित विश्वभर सप्लाई गर्न सकिने भएकाले यसको सम्भावना धेरै भएको उनको भनाइ थियो ।

‘जेनेटिक आइसोलेसन गरेर पनि इनोभेसन्सको काम गर्न सकिन्छ,’ उनले थपे, ‘यसका लागि कानुन सरकारले सहज बनाउनुपर्छ अनि एनआरएनए नेपालीहरूका लागि ठूलो अवसर हुनसक्छ ।’

एनआरएन चीनका पूर्वअध्यक्ष निर्मल शर्मा चौलागाईंले नेपाल र चीनबीच धेरै काम गर्न सकिने तर पूर्वाधारले समस्या भइरहेको बताए । आफूहरूले अहिले पनि वर्षमा ६ महिनामात्र उत्तरी नाकाबाट नेपाल सामग्री सप्लाई गर्न सकेको र सरकारले पूर्वाधार समयमा नबनाउँदा उद्योगीहरूले लामो समयसम्म नाकामै सामान छोड्दा ठूलो नोक्सानमा परेको उनले बताए ।

एनआरएनए चीनकै पूर्वअध्यक्ष रोहित अग्रवालले कुनै पनि लगानीलाई नाफासँग जोड्न जरुरी हुने र त्यसका लागि कानुनी रूपमै ग्यारेन्टी हुनुपर्ने बताए ।

‘तपाईं कुनै बैंकको शेयर किन्नुहुन्छ भने त्यसको शेयर कति पुग्छ भन्ने अनुमान गरेरमात्र लगानी व्यवसायीले गर्छ,’ उनले भने, ‘नाफा हुन्छ भने नाइजेरिया पनि लगानी गर्न तयार रहेका हामीहरू नेपाल जुन आफ्नै देश हो त्यसमा लगानी गर्न उत्साही छौँ।’

चीनमा सरकार धेरै व्यवहारिक भएको र आर्थिक सुरक्षा भरपर्दो भएकाले विश्वभरबाट लगानी आएको भन्दै नेपालले पनि छिमेकीबाट यो कुरा सिक्नुपर्ने उनको सुझाव छ।

‘नेपालमा सधैँ कानुनी झन्झट र लम्बेतान समस्याहरू देखाइन्छ जसले लगानी नेपालमा लैजाने कि नलैजाने भन्ने हुन्छ,’ उनले भने, ‘मैले कुनै एउटा हाइड्रोमा लगानी गरेँ तर उत्पादन कहिले दिन्छ थाहा छैन घाटा अहिले नै व्यहोरिरहेको छु।’

लगानीका क्षेत्रमा लामो समयदेखि अनुसन्धान गरिरहेका अरुणकुमार सुवेदीले नेपालको समस्या हरेक दिन खर्ब लगानी गर्ने लगानीकर्ताले नासु र सुब्बालाई दैनिक नमस्कार गर्नुपर्ने भएको बताए ।

यत्रो लगानी गर्नेलाई के चाहिन्छ भनेर सरकारले सुविधा दिएर काम गराउनेभन्दा कसरी अड्काउने भनेर नासु र सुब्बाले कार्यालय धाउने पद्धति र कानुन कायम राखेसम्म एनआरएनएको लगानी नेपालमा आउन नसक्ने उनको दावी छ ।

अहिले विदेशमा रहेका ४० प्रतिशतले नेपालमा लगानी गर्न चाहेको अनुसन्धानमा देखिएको तर त्यहाँको राजनीतिक अस्थिरताले समस्या हुने गरेको उनले बताए । नेपालको जीडीपीभन्दा तीन गुणा बढी बाहिर बसेका नेपालीहरूको आम्दानी भएकाले यसबाट नेपालले फाइदा उठाउनुपर्ने उनले बताए ।

‘यी हाम्रै दाजुभाइ हुन् । उनीहरूसँग पैसा छ । तर लगानी गरौँ भन्यो दैनिक सुब्बालाई नमस्कार नगरी अघि बढ्दैन । लगानीमा अति कानुनीकरण भएको छ । यसले समस्या भएको छ,’ सुवेदीले भने, ‘लगानीकर्तामाथि अत्याचार गर्ने राज्य हुन सक्दैन । साधन र स्रोतको अनुपयोगबाट राज्य गरिब हुन्छ । बाहिर बसेको एनआरएनएका मानिसहरूसँग पैसा यसमा सरकारले पनि हातेमालो गर्नुपर्छ ।’

त्यस्तै, चीनका कार्यवाहक राजदूत रोशन खनालले लगानीको सम्भावना कहाँ के छ खोजी गरेमा राजदूतावासले सहयोग गर्ने बताइन् । उनले चीनमा रहेर व्यवसायमा सफल भएका ६१ प्रतिशतले नेपाल फर्कन चाहना आफूसँग व्यक्त गरेको बताइन् ।

नेकपाका पूर्वसांसद माधव सापकोटाले लगानीको कुरामात्र भइरहेको तर रेमिट्यान्स कता गइरहेको छ र त्यसलाई लगानीमा किन रूपान्तरण गर्न सकिने भन्नेमा पनि छलफल गर्नुपर्ने बताए ।

‘एउटा महत्वपूर्ण बजेटको स्रोत डायस्पोरा हो भन्ने सबैले स्वीकार गरेका छन्,’ उनले भने, ‘तर राजनीतिक अस्थिरता वा कानुनी जटिलता भनेर अब भाग्न मिल्दैन । सरकारले लगानीयोग्य र विश्वसनीय वातावरण बनाउनुपर्छ र त्यसका लागि दलहरूका तर्फबाट नेकपाले भूमिका खेल्न तयार छ।’

सामाजिक न्यायसहित आर्थिक समृद्धिमा कसरी जान सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्ने उनले बताए ।

रास्वपाका सांसद खगेन्द्र सुनारले लगानीको वातावरण बनाउने कुरामा रास्वपा सधैँ तयार रहेको र आफ्ना घोषणापत्रमा पनि यो कुरा उल्लेख गरेको बताए ।

‘नेपालमा विगतमा जुत्ता उत्पादन गर्नेभन्दा जुत्ताको कम्पनी नै खाने चलन रहेछ,’ उनले भने, ‘तर अब यो परम्परा अन्त्य हुनुपर्छ र अन्त्य गर्न सरकार प्रतिबद्ध छ । तपाईंहरू लगानी गर्न आउनुस् । संसद्को रूपमा कस्ता कानुन चाहिन्छ हामी बनाउन तयार छौँ ।’

युवा व्यवसायीलाई लगानीको वातावरण बनाउनुपर्ने र विदेशमा सीप र क्षमता कमाएकाहरू अब नेपाल फर्कनुपर्ने उनले बताए ।

‘एनआरएनए माग्ने र हामी दिने हैनौँ । दुवै एकै ठाउँमा उभिएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘सरकार सधैँ प्रतिबद्धता गर्छ । पुरानाबाट भएन भनेर नै नयाँ शक्ति आएकाले अब निराश हुन दिन हुँदैन ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू