आइतबार, २ अगस्ट, २०२६
09:36 | १४:२१

एनआरएन दोश्रो पुस्ताकी कोअर्डिनेटर दीपमाला बनिन् मिस नेपाल

नेपाली लिङ्क अगस्ट २, २०२६

काठमाडौँ–मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन् । दी हिडन ट्रेजरद्वारा शनिबार आयोजित प्रतियोगिताको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उनले ताज पहिरेकी हुन् । उनले मिस भिजिनरी ग्रीन, मिस हेल्थ हार्मोनी, मिस कन्फिडेन्स र ब्यूटी विथ पर्पस गरी चार सहविधा समेत जितेकी छिन् ।

प्रतियोगितामा कसिस सुब्बा मिस नेपाल कस्मो–२०२६ र आर्या निशान्त मिस नेपाल इन्टरनेसनल २०२६ घोषित भए ।

हङकङ निवासी दीपमाला विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याक रकमा इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छन् । उनी तेक्वान्दो खेलाडी (ब्ल्याक बेल्ट), रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक (होस्ट) तथा म्याराथन धाविका पनि हुन् ।

हाल उनी नेपाल क्यान्सर अस्पतालको गुडवील एम्बासडरका रूपमा सामाजिक क्षेत्रमा पनि सक्रिय छन्  । उनकी आमाले सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन् ।

उनी गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्की सेकेन्ड जेनेरेसन कोअर्डिनेटर पनि हुन् ।


गैर आवासीय नेपाली संघले दीपमालाप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

‘यहाँको यो उपलब्धि केवल व्यक्तिगत सफलतामा सीमित नभई विश्वभर रहेका गैरआवासीय नेपाली समुदाय, विशेषतः दोस्रो पुस्ताका नेपाली युवापुस्ताका लागि प्रेरणा, आत्मविश्वास र नेपाली पहिचानप्रतिको गौरवको प्रतीक बनेको छ। यस सफलताले विश्वभरिका दोस्रो पुस्ताका नेपालीलाई आफ्नो भाषा, संस्कृति, मूल्य–मान्यता र मातृभूमिसँग अझ सशक्त रूपमा जोडिन प्रेरित गर्ने विश्वास लिएका छौँ’, संघका प्रवक्ता सोमनाथ सापकोटाले जारी गरेको विज्ञप्तिमा छ ।

संघले उनलाई ‘मिस वर्ल्ड’ को प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने आगामी यात्राका लागि शुभकामना पनि दिएको छ ।

विश्वसामु नेपालको समृद्ध कला, संस्कृति, पर्यटन, विविधता र राष्ट्रिय पहिचानलाई प्रभावकारी रूपमा प्रवद्र्धन गर्दै नेपालको सकारात्मक छवि उजागर गर्न सफल हुने विश्वास संघको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू