बिहीबार, १६ जुलाइ, २०२६
15:19 | २०:०४

एनआरएनए आइसीसीमा प्राध्यापक तथा विज्ञहरुसहित ५१ सदस्यीय सल्लाहकार समिति गठन

नेपाली लिङ्क जुलाइ १६, २०२६

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद बैठकले लब्ध प्रतिष्ठित प्राध्यापक तथा विज्ञहरुसहित ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ।

अमेरिका र क्यानडा (अमेरिका क्षेत्र) बाट सल्लाहकारमा चिरञ्जीवी घिमिरे, डा. द्रोण रसाली, डा. लक्ष्मी पाठक र डा. मनिका प्रधान चयन हुनुका साथै इभान शर्मा र लक्ष्मण अधिकारी आइसीसी सदस्य बनेका छन्।

संघको सल्लाहकार समितिमा बेलायतबाट प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयका प्रख्यात मानवशास्त्री प्रोफेसर डेभिड गेल्नर, प्राध्यापन र जनस्वास्थ्य क्षेत्रका विज्ञ प्रा. पदम सिम्खडा तथा बीबीसीका पूर्व पत्रकार भगीरथ योगी समेटिएका छन् ।

यसैगरी पूर्व पदाधिकारी तथा अगुवाका रूपमा एनआरएनए बेलायतकी पूर्व अध्यक्ष पुनम गुरुङ र अभियन्ता लक्ष्य गुरुङलाई सल्लाहकार मनोनीत गरिएको छ । आइसीसी सदस्यका रूपमा महिला तथा दोस्रो पुस्ता कोटाबाट कल्पना त्रिपाठी, गौरव राज केसी र जागृत पौडेल चयन भएका छन् भने चिकित्सा क्षेत्रबाट विज्ञ सदस्यका रूपमा डा. सुनील साह तथा सदस्यहरूमा राजन खकुरेल र राम चन्द्र गुरुङलाई सर्वसम्मत अनुमोदन गरिएको छ।

अष्ट्रेलिया र न्यूजील्याण्ड (ओशनिया क्षेत्र) बाट सल्लाहकार समितिमा भवानी ओली, विनोद श्रेष्ठ, इन्द्रा वन, होम पाण्डे, सुरेन्द्र सिग्देल, डा. जगदिश तिम्सिना, डा. पुरु श्रेष्ठ र डा. राजु अधिकारी समेटिएका छन् भने आइसीसी सदस्यहरूमा दिवा जोशी, करुणा रावत, प्रा. कृष्ण श्रेष्ठ, इञ्जिनियर राजु उपाध्याय, दीपक भुसाल, केशव जोशी र मिक्की सुवेदी चयन भएका छन्। युरोपबाट हरिहर अर्याल र डा. गिरीश कँडेल सल्लाहकार बनेका छन्।

एसिया प्रशान्त क्षेत्रका विभिन्न मुलुकहरूबाट पनि प्रभावशाली व्यक्तित्वहरू समेटिएका छन्। रोशन केसी, डा. सरोज कँडेल, सुदन थापा, डा. कमल लामिछाने र डा. राम गिरी सल्लाहकार मनोनीत भएका छन्। थाइल्याण्डबाट प्रा. भारती लिम्बुनी सल्लाहकार र कुमार कार्की आईसीसी सदस्य बनेका छन्।

हङकङबाट कृष्ण पाण्डे र अरुणा गुरुङ सल्लाहकार मनोनीत भएका छन्। म्यानमारबाट देवेन्द्र नौलखा र सिंगापुरबाट अर्थविद डा. अंगराज तिमिल्सिना सल्लाहकार बनेका छन्।

मध्यपूर्व, अफ्रिका र अन्य देशहरूबाट पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ। साउदी अरबबाट यास्मिन बेगम, रूसबाट एक नारायण चापागाईं र उत्सव अमात्य, सेशेल्सबाट आर.पी. पन्त र नेपालबाट वरिष्ठ उद्योगपति राजेन्द्र खेतान र डा. दिनेश पौडेललाई सल्लाहकारमा मनोनयन गरिएको छ।

आइसीसीले सल्लाहकार तथा मानार्थ सदस्य मनोनयनका लागि यसअघि सल्लाहकार वा मानार्थ सदस्य भइसकेकाहरूलाई सम्मान गर्दै नयाँ व्यक्तिहरूलाई अवसर प्रदान गर्ने निर्णय गरेको थियो । त्यस्तै आ-आफ्नो क्षेत्रमा योगदान पुराएका विज्ञहरुलाई प्राथमिकता दिने पनि उल्लेख थियो।

यस बृहत् र समावेशी मनोनयनले गैरआवासीय नेपाली संघलाई आगामी कार्यकालमा अझ बढी गतिशील, मर्यादित र विश्वभरका नेपालीहरूको हितमा काम गर्ने बलियो संस्थाका रूपमा अगाडि बढाउने विश्वास ११५ औँ बैठकले व्यक्त गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू