सोमबार, ६ जुलाइ, २०२६
14:51 | १९:३६

ए–स्टार नेपाल बास्केटबल लिगको उपाधि ग्रीनफोर्ड नाइट्सलाई

नेपाली लिङ्क जुलाइ ६, २०२६

लन्डन । ‘ए–स्टार नेपाल बास्केटबल लिग २०२६’ को पाँचौँ संस्करणको उपाधि ग्रीनफोर्ड नाइट्सले जितेको छ। लन्डनस्थित ब्रुनेल विश्वविद्यालय स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक फाइनल भिडन्तमा स्याण्डहर्स्ट निक्सलाई पराजित गर्दै ग्रीनफोर्ड नाइट्सले उपाधि हात पारेको हो।

विजेता टोलीलाई लिगका मुख्य प्रायोजक ए–स्टार मोर्गेजेज यूके तथा ए–स्टार रियल एस्टेट्स यूकेका प्रबन्ध निर्देशक मिन दर्लामीले ट्रफी हस्तान्तरण गरे। कार्यक्रममा लन्डन बरो अफ हन्स्लोका पूर्व मेयर विष्णुबहादुर गुरुङ, तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ तथा नेपाल पत्रकार महासंघ यूके शाखाकी अध्यक्ष विमला सेनेले विजेता तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए। नेपाल फुड्स र अनुग्रह ज्वेलर्सलगायतका संस्थाले खेलाडीहरूलाई गिफ्ट ह्याम्पर प्रदान गरेका थिए।

प्रतियोगिताअन्तर्गत भेटरान्सतर्फ स्ल्यामर्स र ब्रिगेड बोइज क्लबबीच रोचक प्रतिस्पर्धा भएको थियो। महिलातर्फ भने विमेन बलर्स क्लबले लन्डन हटशट्सलाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको थियो।

कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित नेपाली महिला बास्केटबल टोलीकी राष्ट्रिय कप्तान अनुशा मल्लले पनि विजयी खेलाडीहरूलाई पुरस्कार प्रदान गरेकी थिइन्। खेलको स्तर उत्कृष्ट रहेको बताउँदै कप्तान मल्लले नेपालबाहिर नेपाली समुदायबीच यसरी भव्य रूपमा बास्केटबल प्रतियोगिता आयोजना हुनु उत्साहजनक रहेको बताइन्। उनले खेलाडीहरूलाई समय मिलाएर खेललाई निरन्तरता दिन र आफ्नो लक्ष्य पछ्याइरहन आग्रह गरिन्।

यसअघि गत जुन २१ मा फेल्थमस्थित स्प्रिङवेस्ट एकेडेमीमा सम्पन्न सेमिफाइनल खेलहरूबाट फाइनलको समीकरण पूरा भएको थियो। शनिबार सम्पन्न फाइनल भिडन्त निकै प्रतिस्पर्धात्मक, रोमाञ्चक र उच्च स्तरको रहेको लिगका संयोजक सार्थक गुरुङले बताए।

नेपाल बास्केटबल यूकेका अध्यक्ष रूपक गुरुङले प्रतियोगितालाई यो उचाइसम्म पुर्‍याउन योगदान दिने सम्पूर्ण खेलाडी, स्वयंसेवक, प्रायोजक तथा दर्शकहरूप्रति आभार प्रकट गरे। मुख्य प्रायोजक ए–स्टारका प्रबन्ध निर्देशक मिन दर्लामीले यस्ता प्रतियोगिताले युवाहरूलाई रचनात्मक कार्यमा लाग्न प्रेरित गर्नुका साथै व्यक्तित्व विकासमा समेत सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

नेपाल बास्केटबल लिग यूकेले विमेन बलर्स क्लबसँगको सहकार्यमा आयोजना गरेको यस वर्षको लिगमा पुरुषतर्फ ११ र महिलातर्फ २ टोलीले प्रतिस्पर्धा गरेका थिए। गत १५ मार्च २०२६ देखि सुरु भएको प्रतियोगिताले बेलायतभर रहेका नेपाली मूलका प्रतिभाशाली युवा खेलाडीहरूलाई एउटै मञ्चमा ल्याउँदै खेलकुदप्रतिको आकर्षण, आपसी सद्भाव र समुदायबीचको भाइचारा बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू