बुधबार, १ जुलाइ, २०२६
15:58 | २०:४३

रक्षा क्षमता थप सुदृढ र सेनाको आधुनिकीकरणलाई तीव्रता दिने सीको प्रतिवद्धता

रासस/एएफपी जुलाइ १, २०२६

तस्विर- सिन्हवा

बेइजिङ, असार १७ गते । चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने, सेनाको आधुनिकीकरणलाई तीव्रता दिने र सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचार विरुद्धको अभियानलाई अझ कडा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले ताइवानलाई चीनसँग एकीकरण गर्ने लक्ष्य पनि पुनः दोहोरयाउँदै बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको १०५औँ स्थापना दिवसका अवसरमा ग्रेट हल अफ द पिपुलमा आयोजित कार्यक्रममा राजनीतिक तथा सैन्य नेतृत्वलाई सम्बोधन गर्दै सीले सशस्त्र सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम राख्दै राष्ट्रिय रक्षा र सेनाको आधुनिकीकरणलाई निरन्तर अघि बढाइने बताए ।

सीले बलियो सेना राष्ट्रिय सुरक्षाको आधार भएको उल्लेख गर्दै रक्षा क्षमता थप सुदृढ बनाइने धारणा राखे ।

सीले पार्टीले भ्रष्टाचार विरुद्धको दीर्घकालीन र व्यापक अभियानलाई दृढतापूर्वक अघि बढाउनुपर्ने बताए । उनको नेतृत्वमा सञ्चालित भ्रष्टाचार विरोधी अभियानका क्रममा पछिल्ला तीन वर्षमा दुई जना रक्षामन्त्री पदमुक्त भएका छन् भने चीनको सर्वोच्च सैन्य निकाय केन्द्रीय सैन्य आयोगमा पनि व्यापक फेरबदल भएको छ ।

यही अभियानका कारण चिनियाँ सेनाको युद्ध क्षमता र नेतृत्व संरचनामाथि विश्लेषकले प्रश्नसमेत उठाउँदै आएका छन् । यसअघि मे महिनामा केन्द्रीय सैन्य आयोगले वरिष्ठ सैन्य अधिकारीमाथि कडा शिक्षा, व्यवस्थापन र निगरानी लागू गर्ने नयाँ व्यवस्था सार्वजनिक गरेको थियो । यसको उद्देश्य सेनाभित्र अनुशासन र पारदर्शिता सुदृढ गर्नु रहेको बताइएको छ ।

सम्बोधनका क्रममा सीले ताइवान चीनको अभिन्न हिस्सा रहेको दोहोरयाउँदै ताइवानसँगको पूर्ण एकीकरण चिनियाँ कम्युनिस्ट पार्टीको ऐतिहासिक लक्ष्य र सम्पूर्ण चिनियाँ जनताको साझा आकांक्षा भएको बताए ।

कुनै देशको नाम उल्लेख नगरी उनले बाह्य शक्तिको हस्तक्षेपको दृढतापूर्वक प्रतिरोध गर्न पनि आह्वान गरे ।

सन् १९२१ जुलाई १ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीको सन् २०२५ अन्त्यसम्म १० करोड १० लाख बढी सदस्य रहेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू