पूर्व गोर्खा मेजर चक्रबहादुर खत्रीलाई राजा चार्ल्सद्वारा एमबीई पदक प्रदान

लन्डन । बेलायतको प्रतिष्ठित राज्य सम्मान ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिश एम्पायर (एमबीई)’ बाट पूर्व गोर्खा मेजर चक्रबहादुर खत्री सम्मानित भएका छन्।
२३ जुन २०२६ मा विन्जर क्यासलमा आयोजित विशेष इन्भेस्टिचर समारोहमा बेलायतका राजा चार्ल्स तृतीयले उनलाई उक्त पदक प्रदान गरेका हुन्।
मेजर खत्रीको नाम यसअघि सन् २०२६ को नयाँ वर्ष सम्मान सूची अन्तर्गत ३१ डिसेम्बर २०२५ मा सार्वजनिक गरिएको थियो। त्यसअनुसार उनी औपचारिक समारोहमा उपस्थित भई राजा चार्ल्सबाट प्रतिष्ठित एमबीई पदक ग्रहण गरेका हुन्।
एमबीई बेलायत सरकारले राष्ट्र, समाज, सैन्य सेवा, सार्वजनिक सेवा, शिक्षा, स्वास्थ्य, कला, विज्ञान तथा सामुदायिक क्षेत्रमा असाधारण योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गर्ने प्रतिष्ठित राज्य सम्मान हो।
यो सम्मान नयाँ वर्षको सम्मान सूची वा राजाको जन्मदिनको सम्मान सूचीमार्फत घोषणा गरिन्छ भने त्यसपछि विन्जर क्यासल, बकिङ्घम प्यालेस वा अन्य राजकीय भवनमा आयोजित विशेष समारोहमा राजा वा राजपरिवारका वरिष्ठ सदस्यबाट औपचारिक रूपमा पदक प्रदान गरिन्छ।
द क्विन्स ओन गोर्खा लजिस्टिक रेजिमेन्टमा आबद्ध मेजर खत्री १३ नोभेम्बर १९९० मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका थिए। हाल उनी ब्रिटिश सेना मुख्यालय, एन्डोभरमा स्टाफ अफिसर ग्रेड–२ का रूपमा कार्यरत छन्, जहाँ उनले सैन्य उपकरण तथा सामग्री व्यवस्थापनसम्बन्धी योजना, समन्वय र सञ्चालनको नेतृत्व गरिरहेका छन्।
उनको कुशल नेतृत्वमा सञ्चालन भएको ‘एक्सरसाइज स्टेडफास्ट डिफेन्डर २४’ दोस्रो विश्वयुद्धपछिको युरोपमा बेलायती स्थल सेनाको चार दशकयताकै सबैभन्दा ठूलो तैनाथी तथा व्यवस्थापन अभियानमध्ये एक मानिन्छ।
उक्त अभ्यासअन्तर्गत छ वटा ब्रिगेडका लागि सात हजारभन्दा बढी सैन्य सामग्री, व्यक्तिगत हतियारदेखि मुख्य युद्धक ट्याङ्क र हवाई उपकरणसम्मको तयारी, तैनाथी, आपूर्ति तथा पुनःफिर्ता व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरिएको थियो।
यही उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै उनलाई एमबीई सम्मान प्रदान गरिएको हो।
सैन्य सेवासँगै मेजर खत्री समाज सेवामा पनि उत्तिकै सक्रिय छन्। आफ्नो फुर्सदको समय समाज सेवामा लगाउँदा वास्तविक आत्मसन्तुष्टि प्राप्त हुने उनको विश्वास छ। यही समर्पणका कारण उनले व्यावसायिक क्षेत्रसँगै सामाजिक क्षेत्रमा पनि समुदायको सम्मान र विश्वास हासिल गरेका छन्।
मेजर खत्रीले प्राप्त गरेको यो प्रतिष्ठित सम्मानले सम्पूर्ण नेपाली तथा गोर्खा समुदायलाई गौरवान्वित बनाएको छ। बेलायतस्थित विभिन्न नेपाली संघसंस्था, शुभेच्छुक तथा समुदायका सदस्यहरूले उनलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उच्च सफलता तथा निरन्तर योगदानको शुभकामना व्यक्त गरेका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


