भेनेजुएलामा शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या कम्तीमा एकहजार ४५० पुग्यो


भेनेजुएला । भेनेजुएलामा गत बुधबार गएको शक्तिशाली भूकम्पको भग्नावशेषमा बाँचेकाहरूको खोजी भइरहंदा आइतबार चमत्कारी उद्धारका थप समाचार बाहिर आएका छन् ।
अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले सप्ताहन्तमा ३३ जनालाई भग्नावशेषबाट जीवितै निकालिएको जनाएकी छन् । तीमध्ये दुईजना ११ वर्षीय किशोर पनि थिए, जसलाई आइतबार केही घण्टाभित्र भत्किएका भवनहरूबाट छुट्टाछुट्टै उद्धार गरिएको थियो।
यद्यपि, दशौं हजार मानिस अझै बेपत्ता भएकाले थप जीवित व्यक्ति फेला पार्ने सम्भावना क्षीण बन्दै गएको छ ।
सहायता एजेन्सीहरूले विपत्ति पछिको पहिलो ४८ देखि ७२ घण्टा मानिसहरूलाई जीवित फेला पार्न महत्त्वपूर्ण समय हुने बताएका छन् ।
नाम दिन नचाहने एक साल्भाडोरका उद्धारकर्मीले भने, “यो अवस्थामा उनीहरू (बेपत्ता मानिस) जीवित पाउने सम्भावना कम रहन्छ । भगवानको कृपाले केही जीवित मानिसहरू फेला परेमा यो ठूलो चमत्कार हो ।”
सोमबार यो समाचार तयार पार्दासम्म मृतक सङ्ख्या एक हजार ४५० पुगेको पुष्टि भएको छ ।
गत बुधबार ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पहरू ३९ सेकेन्ड भित्रै गएपछि लगभग ८०० भवनहरू भत्किएर धेरै मानिस त्यसभित्र फसेका थिए ।
संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख टम फ्लेचरले शुक्रबार एएफपीसँग अहिलेसम्मको अनुमान अनुसार ५० हजार बढी मानिस बेपत्ता भएका जनाएका छन् । अहिले लाखौँ मानिसलाई सरसफाइ र अन्य आधारभूत आवश्यकताहरूको अभाव छ ।
पहिल्यै आर्थिक सङ्कट र राजनीतिक अस्थिरताबाट गुज्रिरहेको भेनेजुएलामा भूकम्पको क्षतिका कारण थप सङ्कट आएको छ । जनवरीमा अमेरिकी विशेष बलले तत्कालीन नेता निकोलस मादुरोलाई पक्राउ गरेको थियो ।


