शनिबार, २० जुन, २०२६
11:56 | १६:४१

बेलायतको वेल्समा नेपाली हस्तकलाको सुवासः संस्कृति जोगाउँदै ‘गणेशा’

नेपाली लिङ्क जुन २०, २०२६

लन्डन । बेलायतको राजधानी लन्डनबाट करिब तीन घन्टाको ड्राइभमा पुगिने सुन्दर, शान्त र हरियालीले भरिएको वेल्स राज्य आफ्नै ऐतिहासिक किल्ला, मौलिक संस्कृति र प्राकृतिक सौन्दर्यका कारण परिचित छ।

यही वेल्सको राजधानी कार्डिफ शहरको मध्य भागमा नेपाली कला, संस्कृति र मौलिक पहिचान बोकेको दुईतले शोरुम छ ‘गणेशा ह्यान्डीक्राफ्ट्स’।

कार्डिफ सिटी सेन्टरमा अवस्थित गणेशाको शोरुमभित्र प्रवेश गर्दा ग्राहकले काठमाडौंको असन र ठमेलको झल्को पाउँछन्। रंगीबिरंगी नेपाली परम्परागत तयारी पोशाक, आकर्षक कपडा, पछ्यौरी, टोपी, झोला, घर सजावटका सामग्री, चाँदीका गरगहना, वास्तविक रत्न, क्रिस्टल, सिङ्गिङ बाउल तथा विभिन्न हस्तकलाका वस्तुहरूले शोरुमलाई नेपाली मौलिकताको जीवन्त प्रदर्शनीजस्तै बनाएको छ।

पछिल्लो समय वेल्समा नेपाली समुदायको उपस्थिति बढ्दै गएको छ। नयाँ पुस्ताका नेपालीहरूको संख्या बाक्लिँदै जाँदा नेपाली बस्ती, व्यवसाय र सामाजिक सक्रियता पनि विस्तार हुँदै गएको छ। कतिपय नेपालीहरू रेस्टुरेन्ट, सूचना प्रविधि, सेवा क्षेत्र तथा अन्य व्यवसायमार्फत बेलायती बजारमा आफ्नो पहिचान स्थापित गरिरहेका छन्।

यही क्रममा ‘गणेशा ह्यान्डीक्राफ्ट्स’ एउटा यस्तो व्यवसायका रूपमा अघि उदाएको छ, जसले व्यापार मात्रै होइन, सात समुद्रपारि पनि नेपाली कला, संस्कृति र परम्परालाई प्रवद्र्धन गरिरहेको छ।

सन् २००७ देखि सञ्चालनमा आएको गणेशा ह्यान्डीक्राफ्ट्स नेपाली युवा उद्यमी सुरज शर्माद्वारा सञ्चालित व्यवसाय हो । नेपालको सांस्कृतिक परिवेशमा हुर्केका शर्माले बेलायती बजारमा नेपाली तथा दक्षिण एसियाली हस्तकलाका सामग्री, पोशाक, ९२५ स्टर्लिङ सिल्भर ज्वेलरी, वास्तविक रत्नजडित गरगहना र सांस्कृतिक सामग्रीहरू प्रवद्र्धन गर्दै आएका छन्।

शर्माका अनुसार गणेशामा उपलब्ध धेरै सामग्रीहरू नेपालका ग्रामीण तथा सहरी क्षेत्रका दक्ष कालिगढद्वारा तयार पारिएका हुन्। ती कालिगढहरूले आफ्नो मिहिनेत र सीपअनुसार उचित तथा सम्मानजनक पारिश्रमिक पाउँदै आएका छन्।

यसले नेपालका स्थानीय कालिगढ तथा घरेलु उद्योगहरूको जीविकोपार्जनमा प्रत्यक्ष सहयोग पुर्‍याएको छ भने बेलायती बजारमा मौलिक हस्तकलाको महत्व, शुद्धता र ऐतिहासिक पहिचानलाई चिनाउने काम पनि गरेको छ।

गणेशा विशेषगरी ९२५ स्टर्लिङ सिल्भर ज्वेलरी, वास्तविक रत्न, क्रिस्टल, हस्तनिर्मित गरगहना, परम्परागत नेपाली पोशाक, पस्मिना, झोला, घर सजावटका सामग्री, सिङ्गिङ बाउल तथा विभिन्न हस्तकला सामग्रीका लागि परिचित छ। नेपालबाट आयात गरिएका धेरै उत्पादनहरूले नेपाली सीप, कला र परम्परालाई जीवन्त रूपमा प्रस्तुत गर्छन्।

विशेष गरी उच्च गुणस्तरका स्टर्लिङ सिल्भर तथा वास्तविक रत्नजडित गरगहनाका कारण गणेशाले बेलायती बजारमा छुट्टै पहिचान बनाएको छ। यहाँ उपलब्ध गरगहनाहरूले परम्परागत तथा आधुनिक डिजाइनको उत्कृष्ट संयोजन प्रस्तुत गर्छन्, जसले विभिन्न समुदायका ग्राहकहरूलाई आकर्षित गर्दै आएको छ।

झण्डै दुई दशकदेखि सेवा दिँदै आएको गणेशा ह्यान्डीक्राफ्ट्सको सञ्जाल अहिले यूकेमा बलियो रूपमा विस्तार भइसकेको छ। हाल गणेशाका बेलायतभर आठ वटा आउटलेट छन्। कार्डिफको रोयल आर्केड र क्वीन स्ट्रिट, ब्रिस्टलको पार्क स्ट्रिट र ब्रोडमिड, हियरफोर्डको वाइडमार्श स्ट्रिट, बाथको द करिडोर, सालिसबरीको द माल्टिङ्स र वोर्सेस्टरको क्राउनगेट सपिङ सेन्टरबाट गणेशाले व्यापक ग्राहक वर्गलाई सेवा दिँदै आएको छ।

यी स्टोरहरू हप्ताको सातै दिन ग्राहकका लागि खुला रहने गरेका छन्। सोमबारदेखि शनिबारसम्म बिहान ९:३० देखि साँझ ६:०० बजेसम्म र आइतबार बिहान १० देखि बेलुका ५:३० बजेसम्म ग्राहकहरूले प्रत्यक्ष रूपमा हस्तकलाका सामग्रीहरू खरिद गर्न सक्छन्। प्रत्यक्ष स्टोरसँगै गणेशाले अनलाइनमार्फत पनि यूकेभरिका ग्राहकलाई आफ्ना उत्पादनहरू उपलब्ध गराउँदै आएको छ।

गणेशामा प्रयोग हुने अधिकांश सामग्री नेपाल र भारतबाट ल्याइने शर्माले बताए । नेपालबाट सामग्री झिकाउँदा आवश्यक वस्तु समयमै आपूर्ति गर्न कहिलेकाहीँ कठिन हुने भएकाले कृत्रिम ज्वेलरी र स्टोनहरू भारतबाट पनि मगाउने गरिएको उनको भनाइ छ । तर नेपालबाट आउने सामग्रीहरू उच्चस्तरीय हुने उनले बताए । विशेषगरी कपडाका आइटमहरू नेपालबाट आयात गरिन्छन्।

ग्राहकको आवश्यकताअनुसार ३ देखि १४ सम्मका स्टोन साइज उपलब्ध गराइने भएकाले विभिन्न रुचि र आवश्यकताका ग्राहकहरूलाई सेवा दिन सहज भएको शर्माले बताए । विभिन्न मुलुकबाट स्टोनहरू ल्याएर मौलिक डिजाइनका सामग्री तयार पारिने शर्मा बताउंछन् ।

“नेपालबाट टाढा रहे पनि हाम्रो तनमन नेपालमै हुन्छ,” शर्मा भन्छन्, “नेपाल र नेपालीसँग जोडिने उद्देश्यले नै नेपाली कला र संस्कृतिलाई विदेशमा पुर्‍याउने प्रयास गरेका हौँ।”

गणेशा ब्रान्ड अहिले फ्रेन्चाइज मोडेलमा पनि अघि बढिरहेको छ । केही नेपाली, भारतीय र ब्रिटिश मूलका व्यवसायीहरूले यसको शाखा सञ्चालन गर्दै आएका छन्। फ्रेन्चाइजका रूपमा व्यवसाय सञ्चालन गर्न चाहनेहरूले ५० प्रतिशत शेयर सम्झौतामा अघि बढ्न सक्ने र आवश्यक सामग्री तथा व्यवस्थापन सहयोग गणेशाले उपलब्ध गराउने शर्माले बताए।

यद्यपि यो व्यवसाय चुनौतीरहित छैन। अनलाइन बजारको कडा प्रतिस्पर्धा, बढ्दो महंगी, मौलिक उत्पादन र बजारमा पाइने नक्कली सामानबीचको प्रतिस्पर्धा तथा आर्थिक अवस्थाका कारण यस क्षेत्रमा धेरै चुनौती रहेको शर्मा बताउँछन्। तर व्यवसायिक कठिनाइका बाबजुद नेपाली धर्म, संस्कृति र पहिचानलाई विदेशमा पनि जोगाइराख्नुपर्ने उनको मान्यता छ ।

व्यवसायसँगै शर्माले नेपालका विभिन्न क्षेत्रमा च्यारिटी कार्य र विद्यालयहरूलाई सहयोगसमेत गर्दै आएका छन्। “कर्म गर्ने हो, फलको आशा गर्ने होइन,” उनी भन्छन्। नेपाली कला, संस्कृति र परम्परालाई विदेशमा प्रवद्र्धन गर्न पाउनु, साथै नेपालमा रोजगारी सिर्जनामा योगदान दिन पाउनु आफ्नो लागि गर्वको विषय भएको उनले बताए ।

सानो पारिवारिक व्यवसायका रूपमा सुरु भएको गणेशा ह्यान्डीक्राफ्ट्स आज नेपाल र बेलायतबीचको सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई मजबुत बनाउने सफल उदाहरण बनेको छ। परदेशको व्यस्त भूमिमा बसेर आफ्नै थातथलोको सुवास छर्ने यसको यात्रा नेपाली समुदायका लागि प्रेरणादायी छ । विदेशमा बसेर पनि नेपालीपनलाई जोगाउँदै र प्रवद्र्धन गर्दै आएको गणेशा नेपाली समुदायका लागि गर्वको विषय बनेको छ।

नेपाली युवा उद्यमी सुरज शर्माद्वारा सन् २००७ मा स्थापना गरिएको गणेशा ह्यान्डीक्राफ्ट्स आज बेलायतमा नेपाली कला, संस्कृति तथा हस्तकलाको प्रवद्र्धन गर्ने अग्रणी व्यवसायमध्ये एक बनेको छ । यस व्यवसायले नेपालका दक्ष कालिगढहरूद्वारा निर्मित मौलिक उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउँदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू