बेलायतमा चलचित्र ‘पेन्सन पट्टा’ को विशेष प्रदर्शन हुने, गौमाया र माओत्से आउने

लन्डन- नेपाली मौलिक कथा, संस्कृति, गाउँघरको परिवेश तथा लाहुरे जीवनको यथार्थ चित्रण गरिएको नेपाली चलचित्र ‘पेन्सन पट्टा’ को बेलायतमा विशेष प्रदर्शन हुने भएको छ।
आगामी ११ सेप्टेम्बरदेखि नेपालभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र त्यसको भोलिपल्टै १२ सेप्टेम्बरमा बेलायतमा विशेष शो आयोजना गरिने भएको हो ।
बेलायतको अल्डरसटस्थित प्रिन्सेस हलमा आयोजना हुने प्रदर्शनीमा चलचित्रकी अभिनेत्री गौमाया गुरुङको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ। नेपालमा प्रदर्शनको व्यस्त कार्यतालिकाका कारण अभिनेता दयाहाङ राई भने उक्त समयमा नेपालमै रहनेछन्।
कास्की जिल्लाको रमणीय पर्यटकीय गाउँ ताङ्तिङ तथा पोखराका विभिन्न आकर्षक स्थानहरूमा छायांकन गरिएको चलचित्रलाई निर्देशक माओत्से गुरुङ स्वयं बेलायत लिएर आउन लागेका हुन्।
नेपाली कला, संस्कृति, गाउँघरको जीवनशैली र लाहुरे समुदायको अनुभवलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले दर्शकमाझ विशेष रुचि जगाउने अपेक्षा गरिएको छ।
‘पेन्सन पट्टा’ को निर्माण समूहमा बेलायतबाट तमुधिं यूके संस्थापक अध्यक्ष मीन प्रसाद गुरुङ र भोजबहादुर गुरुङ पनि संलग्न छन्।
आयोजकका अनुसार बेलायतस्थित नेपाली समुदायलाई लक्षित गरी आयोजना गरिएको विशेष प्रदर्शनबाट संकलित रकमको केही अंश सामाजिक तथा च्यारिटी कार्यमा सहयोगस्वरूप प्रदान गरिनेछ।
चलचित्र हेर्न चाहने दर्शकका लागि साधारण टिकट शुल्क २० पाउण्ड र भिआइपी टिकट शुल्क २५ पाउण्ड निर्धारण गरिएको छ।
आयोजकले परिवार, साथीभाइ तथा आफन्तका साथमा उपस्थित भएर मौलिक कथामा निर्मित नेपाली चलचित्र र कलाकर्मीहरुलाई साथ दिन सबैमा आग्रह गरेका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


