आइतबार, २० सेप्टेम्बर, २०२६
03:10 | ०७:५५

दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न आग्रह

नेपाली लिङ्क मे ३१, २०२६

लागोस । गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाले दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने सरकारको निर्णयप्रति दुःख व्यक्त गरेका छन्।

सरकारले बजेट मन्तव्यमार्फत ती दूतावास बन्द गर्ने निर्णय सार्वजनिक गरेको भन्दै थापाले यस्तो निर्णयले नेपालको दक्षिण–दक्षिण सम्बन्ध, व्यापार, लगानी र आर्थिक कूटनीतिमा नकारात्मक असर पार्न सक्ने बताएका छन्।

उनका अनुसार दक्षिण अफ्रिका र ब्राजिल केवल दूतावास खर्चका केन्द्र मात्र नभई नेपालका लागि व्यापार, लगानी, प्रविधि र आर्थिक अवसर सिर्जना गर्ने महत्वपूर्ण आधार बन्न सक्ने देश हुन्। उनले अबको समयमा नेपाली दूतावासहरू आर्थिक कूटनीतिमा बढी केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

थापाले दक्षिण अफ्रिका अफ्रिका महादेशको महत्वपूर्ण आर्थिक केन्द्र र ब्राजिल दक्षिण अमेरिकाको प्रमुख आर्थिक शक्ति भएको उल्लेख गर्दै यी मुलुकहरूसँग नेपालको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखेका छन्।

उनका अनुसार ती क्षेत्रमा नेपाली डायस्पोरा पनि बढ्दो क्रममा रहेको र गैरआवासीय नेपालीहरूले राज्यको उपस्थिति अझै बढी आवश्यक महसुस गर्दै आएका छन्।

“जहाँ नेपाली समुदाय विस्तार हुँदैछ र राज्यको उपस्थिति आवश्यक छ, त्यहाँ भएका दूतावास बन्द हुनु झनै दुःखद विषय हो,” थापाले प्रेस नोटमा भनेका छन्।

उनले ब्राजिल र दक्षिण अफ्रिकास्थित नेपाली दूतावासलाई नेपालको दक्षिण–दक्षिण सम्बन्ध, नयाँ विश्वशक्तिका रूपमा स्थापित हुँदै गएको ब्रिक्ससँगको सहकार्य, दोहोरो व्यापार, प्रविधि र लगानीका अवसरतर्फ केन्द्रित गरी अघि बढाउनुपर्ने बताएका छन्।

थापाले नेपाल सरकारलाई उक्त निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।

हिक्मत थापा हाल नाइजेरियाको लेगोसमा छन्। उनले ३० मे २०२६ मा जारी प्रेस नोटमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू