शनिबार, २३ मे, २०२६
21:27 | ०२:१२

युद्ध तनावबीच साउदी हज जाने इस्लाम धर्मावलम्बीको सङ्ख्या वृद्धि

रासस/एएफपी मे २३, २०२६

मक्का, साउदी अरब, जेठ ९ गते । अमेरिका–इजरायलले फेब्रुअरी २८ मा इरानमाथि हवाई आक्रमण गरेपछि मध्यपूर्वमा जारी तनावबीच पनि यो वर्ष हज यात्रामा आउने इस्लाम धर्मावलम्बीको सङ्ख्या गत वर्षको तुलनामा बढी देखिएको छ ।

साउदी अधिकारीका अनुसार आगामी हजका लागि साउदी अरब बाहिरबाट १५ लाखभन्दा बढी तीर्थयात्री यहाँ आइपुगेका छन् । फेब्रुअरी अन्त्यमा इरानमा अमेरिका र इजरायलले गरेको आक्रमणबाट सुरु भएको द्वन्द्वपछि तेहरानले साउदी अरब र खाडी क्षेत्रका लक्ष्यमा आक्रमणको आदेश दिएको थियो । आक्रमणका कारण व्यापक हवाई यातायात अवरोध निम्त्याइ यात्रा लागत बढेको थियो ।

संयुक्त अरब इमिरेट्स (युएई), कतार र बहराइनका प्रमुख खाडी विमानस्थलले हप्तौँको हवाई क्षेत्र बन्द र उडान रद्द भएपछि उनीहरूको परिचालन क्षमतालाई द्रुतरूपमा पुनस्र्थापना गर्न काम गरेका छन् । जटिलताका बाबजुद यस वर्षको हजमा सहभागी हुन साउदी अरबमा तीर्थयात्रीको ओइरो लाग्ने क्रम जारी छ ।

साउदी अरबको हज पासपोर्ट बलका कमान्डर सालेह अल–मुरब्बाले शुक्रबार राति आयोजित पत्रकार सम्मेलनमा भने, “विदेशबाट आउने तीर्थयात्रीको सङ्ख्या एक लाख १८ हजार १५३ पुगेको छ । सोमबार हज सुरु हुने औपचारिक अनुष्ठान अघि विदेशबाट तीर्थयात्री आउने क्रम जारी रहेकाले आगामी दुई दिनमा यो तथ्यांक अझ बढ्ने अपेक्षा गरिएको छ ।

गत वर्ष हजमा आउने तीर्थयात्रीको कुल सङ्ख्या १६ लाख ७३ हजार ३२० पुगेको थियो, जसमा साउदी अरब बाहिरबाट १५ लाख छ हजार ५७६ यात्रु रहेका थिए । सबै मुस्लिमले इस्लामका पाँच खम्बा मध्ये एक हजको यात्रा कम्तीमा एक पटक साधनाका साथ गर्नुपर्ने धार्मिक विश्वासका कारण वर्षेनी हज यात्रा गर्ने इस्लाम धर्मावलम्बीको सङ्ख्यामा वृद्धि हुने गरेको पाइन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू