शनिबार, १६ मे, २०२६
11:20 | १६:०५

ट्रम्प फर्किएलगत्तै पुटिनको चीन भ्रमण तय

रासस/एएफपी मे १६, २०२६

फाइल तस्विर- एपी

मस्को, जेठ २ गते । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीन भ्रमण मे १९–२० सम्म तय भएको क्रेमलिनले शनिबार जनाएको छ । भ्रमणका क्रममा रूसी राष्ट्रपति पुटिनले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग भेटी मस्को र बेइजिङबिचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने बारे छलफल गर्ने क्रेमलिनले विज्ञप्तिमार्फत जनाएको छ ।

पुटिन र सीले “प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालमा पनि विचार आदान–प्रदान गर्ने र वार्तापछि संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

भ्रमणका क्रममा पुटिनले चिनियाँ प्रधानमन्त्री ली किआङसँग पनि आर्थिक तथा व्यापारिक सहयोगबारे छलफल गर्ने कार्यक्रम तथा भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको पहिलो चीन भ्रमण शुक्रबार सम्पन्न भएपछि पुटिनको भ्रमण घोषणा भएको हो । भ्रमणले युक्रेन–रूस द्वन्द्व लगायत व्यापार र भू–राजनीतिक तनाव कम गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

चीनले युद्व अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको जनाएको छ । बेइजिङले मस्कोलाई रक्षा उद्योगका लागि हतियार र सैन्य सामाग्री प्रदान गरेको कुरा अस्वीकार गर्दै पश्चिमी देशलाई युक्रेनलाई हतियार दिएर द्वन्द्व लामो बनाएको आरोप लगाएको छ । द्वन्द्वको विषयलाई लिएर रूसमाथि लगाइएको आर्थिक प्रतिबन्धबीच रूसी जीवाश्म इन्धनको विश्व शीर्ष खरिद कर्ताको रूपमा चीन मस्कोको प्रमुख आर्थिक साझेदार बनेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू