बिहीबार, २३ अप्रिल, २०२६
07:17 | १२:०२

पूर्वराजदूत डा. दुबसु क्षेत्रीको अध्यक्षतामा ‘नेपाल–बेलायत लेखक संघ’ गठन

नेपाली लिङ्क अप्रिल २३, २०२६

लण्डन- बेलायतका लागि पूर्व नेपाली राजदूत एवम् साहित्यकार डा. दुबसु क्षेत्रीको अध्यक्षतामा ‘नेपाल–बेलायत लेखक संघ’ (नेपाल–ब्रिटेन राइटर्स एसोसिएसन) औपचारिक रूपमा गठन भएको छ।

नेपाल र बेलायतबीच साहित्य, भाषा र संस्कृतिको आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको यस संघले दुई देशका साहित्यिक समुदायबीच सहकार्यको नयाँ ढोका खोल्ने विश्वास लिइएको छ।

संघले नेपाल र बेलायतबीच भाषिक, साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरूको आदानप्रदान गर्ने योजना अघि सारेको छ।

यसका साथै, दुवै देशका भाषा र साहित्यका उत्कृष्ट कृतिहरूको अनुवाद तथा प्रकाशन, द्विपक्षीय साहित्यिक तथा सांस्कृतिक भ्रमण, साहित्यिक महोत्सव, अन्तरक्रिया र सम्मेलन आयोजना गर्ने लक्ष्य राखेको छ।

नवगठित संघको अध्यक्षमा डा. दुबसु क्षेत्री चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा सुरेशजंग शाह तथा उपाध्यक्षहरूमा डा. गोपाल पौड्याल, विमल भौकाजी, कृसु क्षेत्री र गोपीकृष्ण प्रसाईं छन्।

संघको महासचिवमा वीरेन्द्र कुँवर, सचिवमा नगेन्द्रराज रेग्मी र बद्रीप्रसाद ढकाल तथा कोषाध्यक्षमा पुनम क्षेत्री चयन भएका छन्।

सदस्यहरूमा तुलसीहरि कोइराला, मोहनवीर थापा, डा. नवराज रिजाल, भेषराज घिमिरे, लक्ष्मी उप्रेती, सन्ध्या पहाडी, मणि लोहनी, भरत भारद्वाज, मनोज न्यौपाने, राजेशजंग शाह, नारद पौडेल, तारा सुवेदी, सुमन कार्की, भगवती बस्नेत, सुमन वर्षा, ललिता दोषी, विमला तुम्खेवा, भुवन मास्के, किशोर उप्रेती, भरत साउद, मेघेन्द्र विश्वकर्मा र युवक उप्रेती रहेका छन्।

नेपाल र बेलायतबीच साहित्यिक सम्बन्धलाई संस्थागत रूपमा विस्तार गर्ने उद्देश्यले गठन भएको यो संघले आगामी दिनमा दुवै देशका स्रष्टा, पाठक र साहित्यप्रेमीहरूबीच अझ घनिष्ठ सम्बन्ध विकास गर्ने अपेक्षा गरिएको छ।

डा. दुबसु क्षेत्रीले सन् २०१६ देखि २०२१ सम्म बेलायतका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हालेका थिए। राजदूतका रूपमा रहँदा दुबसु एक स्रष्टा र साहित्यानुरागी व्यक्तिका रूपमा पनि बेलायतस्थित नेपाली डायस्पोरासँग नजिक थिए।

नेपाल र नेपालीको परिचय, पहिचान तथा प्रतिष्ठा बढाउने प्राज्ञिक, बौद्धिक, साहित्यिक र सांस्कृतिक गतिविधिहरूमा संलग्न हुन पाउँदा आफू हर्षित रहेको उनको भनाइ थियो।

त्यसक्रममा उनले बेलायतमा नेपाली समाजलाई जीवन्त र गतिशील बनाउन नेपाली भाषा, कला, साहित्य, संगीत, संस्कार, संस्कृति, पर्व र परम्पराको संरक्षण तथा संवर्द्धन अपरिहार्य रहेको पनि उल्लेख गरेका थिए।

त्यतिबेला नेपाली राजदूतावासले बेलायतको नेपाली समाजसँग सहकार्य गर्दै विभिन्न कार्यक्रममार्फत भाषिक, साहित्यिक, सांगीतिक, सांस्कृतिक र कलाका क्षेत्रमा पुनर्जागरण ल्याउने प्रयास गरेको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू