बिहीबार, १६ अप्रिल, २०२६
22:55 | ०३:४०

इरानले जलमार्गमा अवरोध गर्दा विश्वव्यापी ऊर्जा सङ्कट

रासस/एएफपी अप्रिल १६, २०२६

पेरिस (फ्रान्स), वैशाख ३ गते । इरानले महत्त्वपूर्ण जलमार्गमा आवतजावतमा कडाइ गरेपछि अन्य देशहरूबाट हुने ढुवानीमा व्यापक कमी आएको छ । बजार विश्लेषण गर्ने फर्म ‘केप्लर’ को तथ्याङ्कअनुसार मार्च महिनामा ‘स्ट्रेट अफ हर्मुज’ भएर हुने वस्तुको निर्यात र पैठारीमा अत्यधिक न्यूनता देखिएको हो ।

इरान सामान्यतया कच्चा तेल, पेट्रोलियम पदार्थ, तरल प्राकृतिक ग्याँस (एलएनजी) र मलसहितका वस्तुहरूको पाँचौँ ठूलो निर्यातकर्ता हो । तर, पछिल्लो समय हर्मुज भएर हुने वस्तुहरूको शीर्ष निर्यातकर्तामा इरान मात्र सीमित देखिएको छ ।

हर्मुज जलमार्ग भएर हुने साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), इराक र कतारको निर्यात अघिल्लो १२ महिनाको औसतको तुलनामा मार्चमा कम्तीमा ९६ प्रतिशतले घटेको छ । इरानको आफ्नै ढुवानीमा पनि २६ प्रतिशतले गिरावट आएको तथ्याङ्कले देखाएको छ ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि तेहरानको सेनाले हर्मुज घाँटीलाई अवरुद्ध गरेको थियो । त्यसबेलादेखि इरानले अन्य मुलुक सम्बद्ध अत्यन्त न्यून जहाजहरूलाई मात्र पार गर्न अनुमति दिएको छ ।

विश्वको कच्चा तेल र एलएनजीको लगभग २० प्रतिशत हिस्सा सामान्यतया हर्मुज घाँटी हुँदै जाने गर्दछ । युद्धपछि तेहरानले यस मार्गलाई अस्तव्यस्त बनाउँदा विश्वव्यापी ऊर्जा सङ्कटको चिन्ता बढाएको छ । यसबाट विशेष गरी एसियाली देशहरू हालैका हप्ताहरूमा बढी प्रभावित भएका छन् ।

इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दीले पनि इरानी सेनाद्वारा अवरुद्ध व्यापार मार्गको आवागमनमा थप प्रभाव पारेको देखिएको छ । बहराइन र कुवेतले मार्चमा हर्मुज घाँटी भएर कुनै पनि सामान पठाएनन् ।

प्रमुख एलएनजी आपूर्तिकर्ता कतारले मार्चमा हर्मुजमार्फत केवल ४५ हजार टन ‘ब्युटेन’ र ‘प्रोपेन’ निर्यात गर्‍यो, तर यसमा एलएनजी भने समावेश थिएन । गत महिना हर्मुज भएर पार भएको कच्चा तेलमा इरानको हिस्सा ८१ प्रतिशत थियो, जुन मार्च २०२५ देखि फेब्रुअरी २०२६ सम्म औसतमा ६२ प्रतिशत मात्र थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू