अमेरिका–इरान थप वार्ताका लागि विश्व समुदायको आग्रह



अमेरिकी उपराष्ट्रपति जेडी भान्स वार्ताका लागि इस्लामाबाद उत्रिने क्रममा । तस्विर- गेट्टी इमेजेज
पेरिस । मध्यपूर्वमा जारी द्वन्द्व अन्त्यका लागि आइतबार इस्लामाबादमा भएको वार्ता बिना निष्कर्ष समाप्त भएपछि विश्व समुदायले अमेरिका र इरानलाई वार्ता जारी राख्न आग्रह गरेका छन्।
वार्ताको मध्यस्थकर्ता पाकिस्तानले वार्ताका लागि दुवै पक्षबीच विश्वासको वातावरण बनाउनु विश्व समुदायको कर्तव्य भएको र युद्ध अन्त्यका लागि वार्ता अनिवार्य देखिएको बताएको छ।
पाकिस्तानका विदेश मन्त्री इशाक दारले भने, ‘दुई पक्षहरूले युद्ध विरामप्रतिको आफ्नो प्रतिबद्धतालाई कायम राख्नु अत्यावश्यक छ।’
उनले अगाडि भने, ‘इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिकाबीच वार्ता र संवादका लागि पाकिस्तानले भूमिका निर्वाह गर्दै आएको छ र आगामी दिनमा पनि आफ्नो भूमिकालाई महत्त्वका साथ अघि बढाउनेछ।’
मध्यपूर्वमा जारी द्वन्द्व समाधानका लागि कूटनीति आवश्यक रहेको युरोपेली सङ्घका विदेश मामिला हेर्ने शाखाका प्रवक्ता अनउआर अल अनौनीले बताएका छन् ।
पाकिस्तानले आयोजना गरेको अमेरिका–इरान वार्ता असफल भएको उल्लेख गर्दै प्रवक्ता अल अनौनीले भने, ‘हामी पाकिस्तानलाई मध्यस्थताको प्रयासका लागि सलाम गर्छौं र ब्रसेल्सले आफ्ना साझेदारहरूसँगको समन्वयमा समाधानमा पुग्न थप प्रयासमा योगदान गर्नेछ।’
रूसले पनि आगामी दिनमा युद्धविराम मध्यस्थताका लागि इच्छा देखाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यपूर्वमा शान्ति स्थापनाका लागि मध्यस्थताको प्रयासमा सहयोग गर्न आफू तयार रहेको बताएका हुन् ।
‘रूसी नेता पुटिनले द्वन्द्वको राजनीतिक र कूटनीतिक समाधानको खोजीलाई अझ सहज बनाउन र मध्यपूर्वमा न्यायपूर्ण र दिगो शान्ति प्राप्त गर्ने प्रयासमा मध्यस्थता गर्न आफ्नो तत्परतामा जोड दिनुभएको छ’, क्रेमलिनद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बेलायतले पाकिस्तानमा वार्ताका लागि भेटवार्ताको पहलकदमीका लागि पाकिस्तानी सरकारको प्रशंसा गरेको छ तर वार्ता निष्कर्षविहीन अवस्थामा प्रतिनिधिमण्डल विभक्त हुनुले निराश बनाएको बताएको छ।
बेलायतका स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले स्काई न्यूजसँग भनेका छन्, ‘हामीले वार्तामा सफलता हासिल नगर्नु र इरानमा जारी युद्ध अन्त्य नहुनु निराशाजनक हो ।’
‘कूटनीतिमा वार्ता सफल नहुँदासम्म तपाईँ असफल भएको मानिन्छ । सबै वार्ताहरू सफलतामा समाप्त नहुन सक्छन्, यसको मतलब यो होइन कि प्रयास जारी राख्नुको कुनै औचित्य छैन’, उनले थपे ।
अस्ट्रेलियाले थप वार्ताको आग्रह गरेको छ । अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अहिलेको प्राथमिकता युद्ध विरामलाई निरन्तरता दिनु र वार्तामा फर्कनु हो ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


