सोमबार, ६ अप्रिल, २०२६
09:17 | १४:०२

नेपालमा लगानीका लागि अभिप्रेरित गर्न गैर आवासीय नेपालीलाई राष्ट्रपतिको आग्रह

नेपाली लिङ्क अप्रिल ६, २०२६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरुलाईसमेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले गैर आवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरुसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सो आग्रह गरेका हुन् ।

“नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उँचो हुनेछ, नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्तैन”, उनले भने ।

नेपाललाई सुशासन, विकास र समृद्धितर्फ लैजान तथा देशको अन्तराष्ट्रिय जगतमा प्रतिष्ठा बढाउन गैर आवासीय नेपालीहरूले अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास समेत उनले व्यक्त गरे ।

नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूवार्धार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना छ भने अर्कातर्फ भारत र चीनजस्ता विश्वकै ठूलो जनसंख्या र बृहत् बजारहरू हाम्रा समीप र पहुँचमा छन् भन्दै राष्ट्रपतिले यस्तो अवस्थामा, नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकिकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रित हुनुपर्दछ भन्ने आफूलाई लागेको बताए ।

“यसका लागि बुहपक्षीय साझेदारी अत्यावश्यक हुन्छ । त्यसमा तपाईंहरूले आर्जेको पूँजी, ज्ञान, सीप, अनुभव, लगानी र उद्यमशीलता सान्दर्भिक तथा उपयोगी सावित हुन सक्छ”, राष्ट्रपति पौडेलले भने ।

उनले विगतमा तपाईहरूले नेपालका विभिन्न क्षेत्रमा व्यक्तिगत र संगठित रूपमा गर्दै आएको लगानी नेपालको विकास र समृद्धिमा सहयोगी बनेको पनि बताए । साथै, आगामी दिनमा यो सहयोगलाई अझै प्रभावकारी बनाउन उनले आग्रह गरे ।

भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट मुलुकको विषम र जटिल परिस्थितिले एउटा निकास पाएको उनको भनाई थियो ।

“नेपाली जनता र खासगरी युवा पुस्ताको चाहनाबमोजिम अब मुलुकमा सुशासनको माध्यमबाट सामाजिक न्यायसहितको विकास र समृद्धितर्फ अग्रसर हुन जनताले मतादेश दिएका छन्”, उनले भने ।

राष्ट्रपति पौडेलले हामीले राज्यको प्रशासनिक पुनसंरचना त गरयौ, तर राज्यको चरित्र र जीवन पद्दतिको पुनःसंरचना अझै हुन बाँकी छ भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रका निश्चित मूल्य मान्यता, सिद्धान्त र दर्शनलाई जबसम्म हामी आत्मसात गर्न सक्दैनौ तबसम्म नेपाली जनताले चाहेजस्तो सामाजिक न्यायसहितको समृद्धि हाँसिल गर्न कठिन रहेको बताए । “त्यसैले आज हामी सबैले ती मूल्य, मान्यता र दर्शनलाई अंगिकार गरेर अघि बढ्नुपर्ने खाँचो छ”, उनले भने ।

राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न गुरुयोजना बनाएर काम अघि बढेको उल्लेख गर्दै त्यसमा गैर आवासीय नेपाली संघले आफ्नोतर्फबाट सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।

उनले गैरआवासीय नेपाली विश्व सम्मेलनबाट भर्खरै निर्वाचित अध्यक्ष, पदाधिकारीलगायत सबैलाई बधाई दिँदै समितिले संसारभर रहेका सबै गैरआवासीय नेपालीलाई समेटेर यो संस्था सबैको साझा संस्था हो भन्ने भावना जागृत गराउन सफल होस् भन्ने शुभकामना पनि दिए ।

सो अवसरमा संघका नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्माले संघका गतिविधि र भावी योजनाबारे प्रकाश पार्दै संघले गरिरहेको लगानी, थप लगानीको सम्भावना, दोस्रो पुस्तालाई जोड्ने रणनीति लगायतका विषयमा प्रकाश पारेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू