आइतबार, १४ जुन, २०२६
23:22 | ०४:०७

एनआरएनए युरोपले अन्तर्राष्ट्रिय महिला अभियन्ताको सम्मान गर्दै

नेपाली लिङ्क अप्रिल १, २०२६


लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्र महिला विभागले युरोपमा रहेका नेपाली महिलाहरूको नेतृत्व, क्षमता अभिवृद्धि र उनीहरूले पुर्‍याएको अतुलनीय योगदानको सम्मान गर्दै आगामी अप्रिल ५ तारिख एक विशेष भर्चुअल कार्यक्रम गर्ने भएको छ।

“नेतृत्व तपाईँको – सफलता हाम्रो (You Lead – We Elevate)” भन्ने प्रेरणादायी नाराका साथ सञ्चालन हुन लागेको कार्यक्रमले महिला नेतृत्वको सशक्तीकरण, प्रेरणा र अन्तर्राष्ट्रिय अनुभव आदानप्रदानलाई मुख्य केन्द्रमा राखेको छ।

कार्यक्रममा नेपाली समाज र कूटनीतिक क्षेत्रमा महत्त्वपूर्ण प्रभाव छाड्न सफल विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा पूर्व परराष्ट्र मन्त्री डा. विमला राई पौडेल रहने छिन् भने विशिष्ट अतिथिहरू बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधर र एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले सम्बोधन गर्नेछन्।

युरोप क्षेत्रीय महिला संयोजक बाबा राजेश्वरी थापाको संयोजनमा हुन लागेको यो कार्यक्रम विशेषतः महिला अभियन्ता, सामाजिक अगुवा, पेसागत क्षेत्रमा सक्रिय महिलाहरू र नेतृत्व विकासमा रुचि राख्ने नयाँ पुस्ताका लागि एउटा उत्साहजनक मञ्च बन्ने अपेक्षा गरिएको छ।

कार्यक्रममार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली महिलाहरूको उपस्थितिलाई अझ सशक्त बनाउँदै उनीहरूका उपलब्धि र अनुभवलाई विश्वमाझ उजागर गरिनेछ।

एनआरएनए युरोप क्षेत्रीय महिला समितिले यो कार्यक्रम महिला सशक्तीकरणको सन्देश फैलाउन र विश्वभरका नेपाली समुदायबीच सहकार्य र सम्मानको वातावरण निर्माण गर्न कोसेढुङ्गा सावित हुने विश्वास लिएको छ।

आयोजकले कार्यक्रममा सहभागी भई महिला नेतृत्वलाई हौसला प्रदान गर्न हार्दिक अनुरोध समेत गरेको छ।

भर्चुअल माध्यम जुममार्फत सञ्चालन हुने यो कार्यक्रम नेपाली समयअनुसार साँझ ६:०० बजे र युरोपियन समयअनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ।

इच्छुकले जुम आईडी ८८४ ९२६१ ८११६ र पासकोड २०२६ प्रयोग गरी कार्यक्रममा जोडिन सक्नेछन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू