एनआरएनका माग पुरा गर्न ४० बढी कानून संशोधन गर्नु पर्छ: गगन थापा



काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले गैर आवासीय नेपाली (एनआरएन) हरुका समस्या सम्बोधन गर्न ४० भन्दा बढी कानून संशोधन गर्नु पर्ने बताएका छन्।
गैर आवासीय नेपाली संघको १२ औं महाधिवेशनमा भाग लिन आएका एनआरएन अभियन्ता तथा नेपाली जनसम्पर्क समितिका पदाधिकारीहरुसंग मंगलबार आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले एनआरएन नागरिकता सम्बन्धी विधेयकको मस्यौदा तयार गर्दा आफुले पनि काम गरेको स्मरण गरे। उनले कानून बन्न नसकेका कारण एनआरएन नागरिकता अहिलेसम्म कार्यान्वयन हुन नसकेको जनाए ।
“मालपोतको कानून छुट्टै छ, यातायातको कानून छुट्टै छ। ४० भन्दा बढी कानून संशोधन गरे पछि मात्रै सम्बोधन गर्न सकिन्छ,” थापाले भने। उनले एनआरएनको लगानी आए पछि मात्रै वैदेशिक लगानी ल्याउन सहज हुने पनि बताए।
“हामीले हाम्रो प्रतिज्ञापत्रमा एनआरएन सम्बन्धमा स्पष्टसंग बोलेका छौं। प्रमुख प्रतिपक्षको रुपमा पनि हाम्रो प्रतिज्ञा जस्ताको तस्तै रहन्छ,” थापाले भने।
‘संगठनात्मक संरचना र शैली बदल्नु पर्छ’
गत ५ मार्चमा भएको आम चुनावमा आफ्नो पार्टीले निकै कमजोर प्रदर्शन गरेको र सर्लाही- ४ बाट आफु स्वयं पराजीत भएको सन्दर्भतर्फ इंगित गर्दै सभापति थापाले अब कांग्रेसको संगठनात्मक संरचना र शैली बदल्नु पर्ने बताए।
“पार्टीको क्रियाशील सदस्यता, भ्रातृ संस्थाहरु र जनसम्पर्क समितिहरुबारे -याडिकल डिसिजन गर्नु पर्ने बेला आएको छ। मेरा पनि केही धारणाहरु छन्, तपाईंहरुको साथ चाहिएको छ,” उनले भने।
“म आफैबारे पनि केही प्रश्नहरु छन्। टुंगोमा पुगी सकेको छैन,” सभापति थापाले भने। “आगामी दिनहरु चुनौतीपूर्ण छन्, तर (कांग्रेस) सम्हालिएर, सुदृढ भएर निस्कन्छ भन्नेमा मलाई रत्तिभर शंका छैन। ”
उनले कांग्रेस केन्द्रीय समितिको आगामी बैठकमा चुनावको समीक्षा गरिने पनि बताए। सभापति थापाले मध्यपूर्वमा जारी तनावले त्यहाँ कार्यरत नेपालीहरु र तिनका परिवारमा पर्न सक्ने प्रभावबारे आफ्नो पार्टी सजग रहेको पनि बताए।
नेपाली कांग्रेसका महामंत्री गुरुराज घिमिरेले चुनावी परिणाम अनपेक्षित र अकल्पनीय भए पनि यसलाई स्विकार्नुको विकल्प नरहेको बताए। उनले सबै तागतहरुले कांग्रेसलाई निशाना बनाएको र गठबन्धन सरकारमा बसेकोमा पनि जनताको आक्रोश कांग्रेसप्रति रहेको जनाए। “हामीले नेतृत्व परिवर्तन गर्यौं, तर कांग्रेसलाई किन समर्थन गर्ने भन्ने मेसेज समयमै मतदातासम्म पुराउन सकेनौं। अब दैनिक १८ घण्टा काम गर्नु पर्ने अवस्था छ। हामीले पार्टी संगठनलाई जरैदेखि बलियो बनाउँछौं, कांग्रेसलाई कांग्रेस जस्तै बनाउँछौं,” उनले भने।
नेपाली कांग्रेसकी सह-महामंत्री डा डिला संग्रौलाले एनआरएनहरु नेपालको विकासको साझेदार रहेको बताउंदै एनआरएनहरुसंग रहेको सीप, अनुभव र श्रोत नेपालको विकास र समृद्धिका लागि परिचालन गर्नु पर्ने बताइन्। उनले एनआरएनहरुका मुद्दा सम्बोधन गर्न कांग्रेस सधैं प्रतिबद्ध रहेको पनि जनाइन्। ।
उक्त अन्तरक्रियामा बोल्दै नेपाली जनसम्पर्क समिति युएइका सभापति भुवानी प्रसाद तिमिल्सिनाले आफुहरुले सीमित श्रोत साधन परिचालन गरेर सम्भव भए सम्म अलपत्र परेका नेपालीहरुका लागि खाने, बस्ने व्यवस्था गरिरहेको बताए। उनले खाडी मुलुकमा जोखिममा परेका नेपालीहरुलाई तत्काल उद्धार गर्न सरकारसंग माग पनि गरे।
कार्यक्रममा एनआरएन प्रतिनिधिहरुले आआफ्ना धारणा तथा सुझाव राखेका थिए। कांग्रेस प्रवक्ता देवराज चालिसेले सबै एनआरएन प्रतिनिधि तथा जनसम्पर्क समितिका पदाधिकारीहरुलाई स्वागत गरेका थिए।
रमेश जमरकट्टेलको सभापतित्वमा आयोजित अन्तरक्रियाको संचालन चिन्तामणि सापकोटाले गरेका थिए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


