एनआरएनएमा बृहत् एकताका लागि प्रयास जारी, रोविन शेरचनले गरे उम्मेदवारी फिर्ता



काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) मा बृहत् एकताका लागि उपयुक्त वातावरण बनाउन अध्यक्ष पदका प्रत्याशी रोविन शेरचनले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
संस्थापन पक्षको अनुरोध पछि शेरचनले शुक्रबार आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन्।
एनआरएनएका अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठसहित भएको उच्चस्तरीय वार्तापछि संस्थागत सहमतिका लागि शेरचन अध्यक्षको प्रतिस्पर्धाबाट पछि हट्न तयार भएका हुन्। वार्तामा उनलाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको बताइएको छ।
सहमति अनुसार शेरचनले शुक्रबार नै वरिष्ठ उपाध्यक्ष पदका लागि मनोनयन दर्ता गराइसकेका छन्।
“मेरो सुरुदेखिकै धारणा संस्था एकताबद्ध हुनुपर्छ भन्ने हो। संस्थाको हितलाई ध्यानमा राख्दै अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएको छु र सहमति अनुसार वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता गराएको छु,” शेरचनले भने ।
स्रोतका अनुसार आगामी १३औँ महाधिवेशनमा शेरचनलाई अध्यक्ष बनाउने सहमति समेत भएको दाबी गरिएको छ।
यसैबीच अध्यक्ष महेश श्रेष्ठले वर्तमान अवस्थामा संस्थाको आवश्यकता सहमति र एकता भएकाले सोहीअनुसार नेतृत्व चयनको प्रयास भइरहेको बताएका छन् । उनले शेरचनले सहमतिका लागि उम्मेदवारी फिर्ता लिएको उल्लेख गर्दै अन्य आकांक्षीहरूलाई पनि मिलाएर सर्व सम्मतिको वातावरण बनाउन प्रयास भइरहेको जानकारी दिए।
एनआरएनएको १२औँ महाधिवेशन काठमाडौँमा शनिबारदेखि सुरु हुँदैछ।


