आइतबार, १५ फ्रेब्रवरी, २०२६
00:59 | ०६:४४

डा. शेष घलेले उद्यमशीलता र उद्यमी स्वभावबारे दिए महत्वपूर्ण प्रवचन

नेपाली लिङ्क फ्रेब्रवरी १४, २०२६

डा. शेष घले । फाइल तस्विर

लन्डन— गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष डा. शेष घलेले संसारभरि रहेका नेपाली युवालाई केवल व्यवसाय सुरु गर्ने होइन, प्रभाव सिर्जना गर्ने दिशामा अघि बढ्न आह्वान गरेका छन्।

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन ग्लोबल युथ नेटवर्कद्वारा शनिबार भर्चुएल आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै डा घलेले उद्यमशीलता एक पेशा मात्र भए पनि उद्यमी स्वभाव जिम्मेवारी भएको उल्लेख गर्दै अहिलेको पुस्तालाई व्यक्तिगत सफलताभन्दा सामूहिक उन्नतितर्फ केन्द्रित हुन आग्रह गरे। “उद्यमशीलताले व्यवसाय निर्माण गर्छ, तर उद्यमी स्वभावले मूल्य निर्माण गर्छ,” उनले भने।

डा. घलेले उद्यमशीलतालाई नाफा र लगानीमा सिमित नराखी समस्या समाधानसँग जोड्नुपर्ने धारणा राखे। “प्रश्न यो होइन कि म कुन व्यवसाय सुरु गर्न सक्छु, प्रश्न यो हो कि म कुन समस्या समाधान गर्न सक्छु,” उनले जोड दिए ।

अष्ट्रेलियाका एक सफल उद्यमी र नेपालमा पनि आतिथ्य लगायत विभिन्न क्षेत्रमा लगानी गरेका डा घलेले उद्यमी स्वभाव कुनै पद वा पेशासँग सिमित नहुने बताए । अमेरिकामा रहेका पीएचडी अनुसन्धानकर्ता हुन् वा सिड्नीका सफ्टवेयर इन्जिनियर, लन्डनका नर्स हुन् वा कतारका आप्रवासी श्रमिक, सिंगापुरका बैंकर हुन् वा नेपालका निजामती कर्मचारी सबैले आफ्नो सोचमार्फत प्रभाव सिर्जना गर्न सक्ने उनले बताए ।

उनले हाल विश्वका विभिन्न मुलुक—अष्ट्रेलिया, अमेरिका, युरोप, खाडी, एसिया र अफ्रिकामा—एक करोडभन्दा बढी नेपाली बसोबास गरिरहेको उल्लेख गर्दै यसलाई ‘ब्रेन ड्रेन’ होइन ‘ब्रेन डिस्ट्रिब्युसन’ का रूपमा व्याख्या गरे । तर, दिशाविहीन वितरण अन्ततः कमजोर बन्ने चेतावनी दिँदै उनले सामूहिक उदय नै अहिलेको मुख्य प्रश्न भएको बताए ।

विभिन्न मुलुकमा फरक–फरक प्रणाली र वातावरण उल्लेख गर्दै उनले युवाहरूले प्रणालीसँग जुध्ने होइन, त्यसलाई बुझेर नेभिगेट गर्न सिक्नुपर्ने बताए । “जहाँ भए पनि तपाईंले आफ्नो सीप र पहिचान बोकी रहनुहुन्छ। गुनासो होइन, समाधान खोज्ने मानसिकता आवश्यक छ,” उनले भने।

डा. घलेले विश्व भरि फैलिएका नेपाली युवाका लागि पाँच आधारस्तम्भ पनि प्रस्तुत गरे। पहिलो, अवसर दृष्टि । उनका अनुसार नेपालको समस्या कमजोरी होइन, सम्भावनाका संकेत हुन्। सेवा अभाव, नीतिगत अवरोध वा प्राविधिक ढिलाइ—यी सबै सुधार र नवप्रवर्तनका अवसर हुन्।

दोस्रो, स्रोत बुद्धिमत्ता । उनले नेपाली आप्रवासी समुदायको सहनशीलता र अनुकूलन क्षमता एउटा रणनीतिक शक्ति भएको बताए । “पूर्ण परिस्थिति कुर्नु हुँदैन, अपूर्ण अवस्थालाई नै अधिकतम उपयोग गर्नुपर्छ,” उनले भने।

तेस्रो, वैश्विक–स्थानीय सेतु । उनले युवाहरूलाई नेपाल र विश्वबीचको पुल बन्न आह्वान गरे। प्रविधि, पूँजी, सुशासन, शैक्षिक मोडल र व्यावसायिक आचरण नेपालमा हस्तान्तरण गर्न सकिने उनको धारणा थियो ।

चौथो, नैतिक आधार । साना समुदायमा विश्वास नै मुद्रा हुने उल्लेख गर्दै उनले इमानदारी, पारदर्शीता र व्यावसायिकता दीर्घकालीन प्रभावका लागि अनिवार्य रहेको बताए ।

पाँचौँ, राष्ट्रसँग जोडिएको प्रभाव । विदेशमै भविष्य निर्माण गरेपनि नेपालसँगको सम्बन्ध तोड्न नहुने उनले स्पष्ट पारे। “नेपालमा नबसे पनि मेन्टरिङ, लगानी, ज्ञान हस्तान्तरण वा संस्थागत सुदृढीकरणमार्फत नेपालका लागि योगदान दिन सकिन्छ,” उनले भने ।

उनले विगतमा नेपाली समाज जीविकोपार्जन केन्द्रित मनोविज्ञानमा सिमित रहेको उल्लेख गर्दै अबको पुस्ताले ‘कमाउने’ मात्र होइन ‘निर्माण गर्ने’ लक्ष्य राख्नुपर्ने बताए ।

“नेपालमा पैसा मात्र होइन, विचार पनि पठाउनुहोस्। अवसर खोज्ने होइन, अवसर सिर्जना गर्ने बन्नुहोस्,” उनले भने।

सम्बोधनको अन्त्यमा उनले वैश्विक नेपाली युवालाई व्यक्तिगत सफलताभन्दा पुस्तागत प्रभावतर्फ सोच्न आग्रह गर्दै नेपालको भविष्य संयोगले होइन, उद्यमी स्वभाव भएका युवाको नेतृत्वमा निर्माण हुने विश्वास पनि व्यक्त गरे।

नेपाल सरकारका सहसचिव लीलाधर सुवेदीले नरम शक्ति (सफ्ट पावर) को रुपमा नेपाललाई चिनाउन गैर आवासीय नेपालीहरुको भूमिका रहने बताउंदै आर्थिक मात्रै नभएर बौद्धिक लगानी गर्न पनि एनआरएनहरु अगाडी आउनु पर्ने बताए । उनले फाउन्डेशनसंग आबद्ध युवाहरुलाई मधेश, दलित समुदाय लगायतमा ध्यान केन्द्रित गरी पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गर्न सुझाव दिए ।

प्रवासमा नेपाली पहिचान प्रवर्द्धन गर्न सुझाव

कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष कुल आचार्य, उपाध्यक्षहरु डा हेमराज शर्मा, बुद्धि सुवेदी, रबिन शेरचन, मनोज गोर्खाली, महिला संयोजक अनुजा प्रधान, वरिष्ठ एनआरएन अभियन्ता दिल गुरुङ (जर्मनी), दिलु पराजुली (एनआरएनए क्षेत्रीय संयोजक, अमेरिका), एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डा अर्जुन बन्जाडे, जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन अष्ट्रेलियाका अध्यक्ष डा डिल्ली बन्जाडे, डेनमार्ककी अध्यक्ष सीता बराल, पूर्व सांसद बिजुला बर्मा राना, सुरज राज त्रिपाठी (वरिष्ठ उपाध्यक्ष, नेपाली जनसम्पर्क समिति, साउदी अरब) लगायतले शुभकामना दिंदै युवाहरुको जोश, जाँगर र क्रियाशीलता नेपालको पुनर्निर्माण र प्रवासमा नेपाली पहिचान प्रवर्द्धन गर्न सक्रिय रहन सुझाव दिएका थिए।

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदन राज पौडेलको सभापतित्वमा सञ्चालित कार्यक्रममा फाउन्डेशनका अध्यक्ष डा यादव पण्डितले संसारभरि रहेका नेपालीहरुलाई जोड्ने माध्यमका रुपमा संस्था स्थापना गरिएको बताए । उनले आम नेपालीलाई जोड्ने र एक अर्कालाई सहयोग गर्ने संस्थाको रुपमा फाउन्डेशन रहेको बताए।

कार्यक्रममा जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन ग्लोबल युथ नेटवर्कका विभिन्न २६ देशमा च्याप्टर गठन गरिएको जानकारीसहित च्याप्टर अध्यक्षहरुको परिचय गराइएको थियो । विभिन्न वक्ताले नवगठित च्याप्टर अध्यक्षहरुलाई बधाई र शुभकामना दिएका थिए ।

कार्यक्रममा नेटवर्कले गत एक वर्षमा गरेका कामहरु समेटिएको भिडियो पनि प्रस्तुत गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू