विश्वकप क्रिकेटमा नेपालको साहसिक प्रदर्शन: इंग्ल्यान्डसँग ४ रनले पराजित



मुम्बई । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले विश्वविजेता इंग्ल्यान्डलाई कडा चुनौती दिएको छ।
मुम्बईको ऐतिहासिक वानखडे स्टेडियममा आइतबार भएको रोमाञ्चक खेलमा नेपाल इंग्ल्यान्डसँग केवल ४ रनले पराजित हुन पुग्यो।
टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रनको चुनौतीपूर्ण योगफल खडा गर्यो। इंग्ल्यान्डका लागि कप्तान ह्यारी ब्रुकले ५३ रन र ज्याकोब बेथेलले ५५ रनको अर्धशतकीय योगदान दिए। खेलको अन्तिमतिर विल ज्याक्सले १८ बलमा आक्रामक ३९ रन जोडे।
नेपालका लागि बलिङतर्फ दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए भने कुशल भुर्तेल, सन्दीप लामिछाने र शेर मल्लले १–१ विकेट झारे।
१८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन जोडे। कप्तान रोहित पौडेल र लोकेश बमले समान ३९–३९ रन बनाउँदै खेललाई अन्तिम ओभरसम्म पुर्याएका थिए।

अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक भएको अवस्थामा साम कुरानले कसिलो बलिङ गर्दै मात्र ५ रन दिएपछि नेपाल ऐतिहासिक जितबाट थोरैले चुक्यो। लोकेश बमले अन्तिम बलमा छक्का प्रहार गर्न सकेको भए नेपालले जित निकाल्ने थियो, तर उनी एक रनमा सीमित भए।
यद्यपि, हारका बाबजुद पनि विश्वको छैटौँ वरीयताको टोलीलाई १८औँ वरीयताको नेपालले दिएको यो टक्करलाई विश्व क्रिकेट जगतले निकै प्रशंसा गरेको छ। नेपालले अब आफ्नो दोस्रो खेलमा वेस्ट इन्डिजको सामना गर्नेछ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


