बिहीबार, २३ अप्रिल, २०२६
11:17 | १६:०२

मार्च १५ मा महासंघ जापानको १५औँ स्थापना दिवस, प्रवास पत्रकारिता पुरस्कार वितरण गरिने

नेपाली लिङ्क फ्रेब्रवरी १, २०२६

लन्डन  । नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो १५औँ स्थापना दिवस आगामी मार्च १५ तारिख भव्य रूपमा मनाउने निर्णय गरेको छ।

स्थापना दिवसलाई विशेष बनाउँदै महासंघले प्रवासमा सक्रिय नेपाली पत्रकारहरूको योगदानको कदर गर्न प्रवास पत्रकारिता पुरस्कार स्थापना गर्ने तथा १० लाख येनको पत्रकार कल्याण कोष सञ्चालनमा ल्याउने महत्वपूर्ण निर्णय समेत गरेको छ।

शाखाको हालै सम्पन्न नियमित दोस्रो बैठकले स्थापना दिवस कार्यक्रमको तयारी र व्यवस्थापनका लागि सचिव अर्जुन लामिछानेको संयोजकत्वमा उपसमिति गठन गरेको छ।

उक्त उपसमिति सदस्यहरूमा दिनेश थापा, रामचन्द्र गिरी, दुर्गा आचार्य र भवानी भट्ट छन्। उपसमितिले कार्यक्रम योजना, व्यवस्थापन र समन्वयको जिम्मेवारी सम्हाल्ने छ।

बैठकले स्थापना दिवसकै अवसरमा प्रदान गरिने गरी ५० हजार रुपैयाँ राशीको ‘प्रवास पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय पनि गरेको छ । विदेशमा रहेर नेपाली पत्रकारितामा योगदान पुर्‍याउने पत्रकारलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले उक्त पुरस्कार स्थापना गरिएको महासंघले जनाएको छ।

पुरस्कारलाई पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्न मापदण्ड तथा कार्यविधि तयार गर्ने जिम्मेवारीसहित तीन सदस्यीय समिति गठन गरिएको छ। समितिको संयोजकको जिम्मेवारी पत्रकार खगराज गौतमलाई दिइएको छ भने सदस्यमा दिनेश कुमार थपलिया र इन्दिरा खनाल छन्। समितिले छिट्टै कार्यविधि तयार गरी कार्यसमितिमा पेस गर्ने जनाएको छ।

बैठकले प्रवासमा कार्यरत पत्रकारहरूको हित र कल्याणलाई ध्यानमा राख्दै १० लाख येनको पत्रकार कल्याण कोष स्थापना गर्ने निर्णय पनि गरेको छ। स्वास्थ्योपचार, अप्रत्याशित समस्या, विपद् तथा आपतकालीन अवस्थाका बेला पत्रकारलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त कोष स्थापना गरिएको महासंघले जनाएको छ।

कल्याण कोष सञ्चालन सम्बन्धी कार्यविधि महासंघ जापान शाखाका निवर्तमान अध्यक्ष शान्त पहरीको संयोजकत्वमा तयार पारिएको कार्यविधिलाई आवश्यक संशोधन सहित बैठकले अनुमोदन गरेको छ। साथै, कोषलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन कार्यसमिति सदस्य, साधारण सदस्य, जापानस्थित नेपाली संघ–संस्था, व्यवसायी तथा शुभेच्छुकहरूलाई सहयोगका लागि आह्वान गरिएको छ।

बैठकले जापानमा रहेका नेपाली समुदायका समस्या, सरोकार र गतिविधिबारे विश्लेषणात्मक तथा तथ्यपरक लेखनलाई प्राथमिकता दिने निर्णय पनि गरेको छ। जापानस्थित पत्रकार तथा विभिन्न क्षेत्रका विज्ञहरूलाई लेख लेख्न आग्रह गर्ने र ती सामग्री महासंघको आधिकारिक फेसबुक पेज तथा वेबसाइटमार्फत प्रकाशन गरिने छ।

उक्त सामग्रीको सम्पादनका लागि उपाध्यक्ष मनिषा चम्लागाईंको संयोजकत्वमा सम्पादन मण्डल गठन गरिएको छ। सम्पादन मण्डलका सदस्यमा फुर्वा शेर्पा र भुवन भण्डारी रहेका छन्।

यस अतिरिक्त, बैठकले महासंघको आधिकारिक फेसबुक पेजमार्फत जनचेतनामूलक सामग्री प्रकाशन गर्ने, महासंघका गतिविधि र सुधारका लागि गुगल फर्ममार्फत राय–सुझाव सङ्कलन गर्ने तथा प्रवास पत्रकारिता सम्बन्धी विश्व सम्मेलन आयोजना गर्न पहल अघि बढाउने निर्णयसमेत गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू