शनिबार, ३१ जनवरी, २०२६
03:58 | ०९:४३

कविता: कठै मेरो देश

नेपाली लिङ्क जनवरी ३१, २०२६

कवि सन्दिप भट्ट

हिजो मातातिर्थ औंशी अरे
औंशीकै दिन मेरी आमा बितिन् उपचार नपाएर
दोष केलाई दिउं म मेरो गरिबीलाई
या त गाली गर्दै नेपाल आमालाई

म कसरी दोष लगाउन सक्छु नेतालाई
किनकी कैयन वर्षदेखि तिनले लाखौं आमा मारेका छन्
थुप्रै बाहरुलाई बेपत्ता पारेका छन्

तिनिहरु भन्छन् सत्ताको खेलमा परेर
भोका जनताहरु, रोगी जनताहरु मलाई चाहिन्न
भोको पेट कराउनेहरु मृत्यु अघि कराउनेहरु मलाई चाहिन्न
चुनावको बेला झन्डा बोकेर जिन्दावाद भन्ने
बलिया मान्छे चाहिएको हो
तंलाई त रोग सल्केछ कान्छा
तं पनि अब चाहिन्न

अनि कसैले उसलाई विरोध गरेको पनि मन पर्दैन
किनकी भन्छ म नेता हुँ मलाई कुर्सी प्यारो छ
कसैको मानवता उदारपन मलाई चाहिन्न
किनकी मसङ्ग भ्रष्टाचारको अथाह पैसा छ

रोगीले बेड नपाएर के भो त
मैले त उपचार पाएकै छु
किन दिन्छु म तिनलाई अक्सिजन
मैले बाँच्न परेन
तिमीहरु कमजोर हौ मरेर के हुन्छ त
मलाई हेर त केही भएकै छैन
मेरा आफन्तलाई हेर त केही भएकै छैन

उ भन्छ
तं चाहिएन किनभने तं रोगी छस्
सुविधा त मलाई बाँच्न चाहिन्छ
तिमिहरु मरेर के भो
कुर्ची त मेरै भागमा छ

तिमीहरु मरेनौ भने मैले कसरी पैसा कमाउने
लासमाथि राजनीति नगरि कसरी छोरो पढाउने
उ अझै चुप छैन बोलिरहेछ भन्छ
जनताका लागि मैले के काम गरिन

हेर्नुस् त ज्यूँदो मान्छेलाई मारेरै छाडे

मर्नुअघि मेरा बा भनिरहेछन्
ए हत्याराहरु हो
तिमिहरुको मैले विश्वास गर्नु
फगतको मेरो मृगतृष्णा रहेछ

धमिराले काठ खाएभन्दा बेसी
नेताले देश खाइसके
बाँच्नु भन्दा मर्न उचित सम्झेर काका
सपरिवार आत्मदाहका लागि दाउरा खोज्दै छन्
निभ्छ कि आगो भनी अझै नेता पेट्रोल लिई पर्खेका छन्
यो देख्दा लाग्छ कठै मेरो देश
कठै मेरो देश

कविः सन्दिप भट्ट

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू