भेनेजुएलामाथि अमेरिकी हवाइ आक्रमण, राष्ट्रपतिलाई समातिएको ट्रम्पको दाबी



शनिबार भेनेजुएलाको काराकसमा विस्फोटपछि ला कार्लोटा विमानस्थलमा धुवाँ उडिरहेको छ। तस्बिर-एपी
लन्डन । अमेरिकाले भेनेजुएलाविरुद्ध ठूलो हवाइ आक्रमण गरेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले भेनेजुएलाविरुद्ध ठूलो आकारमा गरेको आक्रमणमा त्यहाँका नेता राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेको बताएका छन्।
उनीहरूलाई देशबाहिर लगिसकिएको ट्रम्पले आफ्नो सोसल मिडिया ‘ट्रुथ’ पोस्टमा लेखेका छन्। मदुरोलाई कसरी पक्राउ गरियो वा कहाँ लगियो भन्नेबारे ट्रम्पले थप विवरण दिएका छैनन्। अमेरिकी सेनाको डेल्टा फोर्सले उनलाई पक्राउ गरेको थियो। डेल्टा फोर्स अमेरिकाको शीर्ष प्रतिआतङ्कवाद सैन्य एकाइ हो।
बीबीसीका अनुसार, यसअघि भेनेजुएलाको राजधानी कराकाससहित उक्त देशका विभिन्न भागमा विस्फोटहरू भएका विवरण आएका थिए । राष्ट्रपति ट्रम्पले भेनेजुएलाका सैन्य केन्द्रहरूसहितका स्थानमा आक्रमण गर्न आदेश दिएको अमेरिकी अधिकारीहरूलाई उधृत गर्दै सीबीएस न्यूजले उल्लेख गरेको छ ।
भेनेजुएलाले उक्त आक्रमण वासिङ्टनले गरेको बताउँदै ‘अमेरिकी आक्रामकतालाई नस्वीकार्ने’ बताएको छ । भेनेजुएला सरकारले सबै राष्ट्रिय सुरक्षा योजना लागू गर्न आदेश दिएको छ र राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ।
यसअघि राष्ट्रपति मदुरोले उक्त हमला अमेरिकाले आफ्नो देशको तेल र खनिज पदार्थ खोस्ने प्रयासको रूपमा गरेको भन्दै त्यसको निन्दा गरेका थिए।


राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमती । फाइल तस्विर
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


