बुधबार, २४ डिसेम्बर, २०२५
13:02 | १८:४७

संसारभर सद्भाव कायम गराउन आध्यात्मिक कूटनीति: राजदूत लम्साल

नेपाली लिङ्क डिसेम्बर २४, २०२५

ब्रसेल्स – बेनेलक्स मुलुकहरुका लागि नेपालकी राजदूत सेवा लम्सालले नेपालले आध्यात्मिक कूटनीति मार्फत संसारभरि सद्भाव र सौहार्दता कायम गराउन विश्व ध्यान दिवस मनाइरहेको बताएकी छन्।

ब्रसेल्सस्थित नेपाली दूतावासमा दोश्रो विश्व ध्यान दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा युरोपेली संघका लागि नेपाली नियोग प्रमुख राजदूत लम्सालले भगवान बुद्ध, आदि योगी शिव, महर्षि जनकको तपस्थल देवभूमि नेपालले विश्वलाई ध्यानको उपहार दिएर रोग, भोक र युद्ध अन्त्य गर्न प्रयास गरिरहेको बताइन्।

पूर्व परराष्ट्र सचिव समेत रहेकी लम्सालले योग र ध्यानका माध्यमले मानसिक शान्ति प्राप्त गरेर मात्रै हरेक समाज र देश शान्त र समुन्नत हुन सक्ने बताइन्।

विश्व शान्ति सद्भावना वृद्धिको कामनासहित सुरु भएको कार्यक्रममा योग ध्यान प्रशिक्षक ओम शर्माले प्रविधिको पासोमा परेको आजको मानिसलाई ध्यानले मात्र स्वतन्त्र बनाउन सक्ने बताए।

स्वतन्त्र चेत भएको मानिसले मात्र सहि र गलत छुट्ट्याएर निष्पक्ष र न्यायपूर्ण समाज बनाउन सक्छ भन्दै शर्माले ध्यानको अभ्यास गराएका थिए ।


त्यस्तै जीवन विज्ञानकी प्रशिक्षक सविता दाहालले स्वस्थ शरीर र मनका लागि ध्यान आवश्यक रहेको भन्दै सूक्ष्म व्यायाम सहित प्राणायाम ध्यान गराएकी थिइन् ।

सामूहिक उर्जा आदानप्रदान गर्दै राजदूत लम्साल, दूतावास परिवार र सहभागीहरुले एकआपसमा आभार र अहोभाव प्रकट गरि कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू