शनिबार, ६ डिसेम्बर, २०२५
13:30 | १९:१५

बदलिँदो विश्व व्यवस्थाबीच मोदी पुटिन अर्थपूर्ण भेट

रासस/एएनआई डिसेम्बर ६, २०२५

तस्विर रोयटर्स

नयाँदिल्ली । चार वर्षपछि भारतीय भूमिमा पुनः भेट भएका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको अन्तरक्रिया कूटनीतिक औपचारिकता मात्र नभई, बदलिँदो विश्व व्यवस्थाबीच पुरानो मित्रताको पुनः मापन गर्ने महत्त्वपूर्ण क्षण मानिएको छ ।

सन् २०२१ डिसेम्बरपछि पहिलो पटक भारत आएका राष्ट्रपति पुटिनलाई प्रधानमन्त्री मोदीले प्रोटोकल तोडेर व्यक्तिगतरूपमा स्वागत गरे । दुवै नेता एउटै कारमा यात्रा गर्दै लोककल्याण मार्गस्थित प्रधानमन्त्रीको निवाससम्म पुगे । प्रधानमन्त्री मोदीले रुसी अतिथिलाई रुसी भाषामा अनुदित पवित्र भगवद गीताको प्रतिलिपि उपहार दिँदै यस शास्त्रले विश्वभरका लाखौँ मानिसलाई प्रेरित गर्ने बताए ।

पालम विमानस्थलमा मोदीले पुटिनलाई आलिङ्गन गर्दै स्वागत गर्दा परम्परागत नृत्य गानले वातावरण झन् उत्साहपूर्ण बनेको थियो । प्रधानमन्त्री मोदीले एक्समा भारत–रुस मित्रतालाई ‘समय–परीक्षित’ भन्दै राष्ट्रपति पुटिनलाई पुनः स्वागत गर्न पाउँदा खुसी रहेको उल्लेख गरे ।

राष्ट्रपति पुटिन डिसेम्बर ५ (शुक्रबार) सम्म भारतमा रहेर २३ औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीसँग विस्तृत वार्तामा बसेका थिए ।

त्यसअघि उनले राष्ट्रपति भवनमा औपचारिक स्वागत, त्रिसेवा गार्ड अफ अनर ग्रहण र राजघाटमा महात्मा गान्धीको स्मारकमा श्रद्धाञ्जलि अर्पण गरेको जनाइएको छ ।

हैदराबाद हाउसमा दुवै नेताको सीमित र विस्तारित वार्ता भयो । पूर्व कूटनीतिज्ञ अरुण सिंहले भारत–रुस सम्बन्ध राजनीतिक समर्थन, रक्षा सहयोग र परम्परागत विश्वासमा आधारित भएकाले पुटिनको यो भ्रमण अत्यन्त महत्त्वपूर्ण रहेको टिप्पणी गरे । उनका अनुसार संयुक्त राष्ट्र सुरक्षा परिषदमा रुसले भारतलाई दिएको निरन्तर समर्थनले दुवै मुलुकबीचको स्थायी साझेदारीलाई अझ मजबुत बनाएको छ ।

भारत प्रस्थान गर्नुअघि दिएको अन्तर्वार्तामा राष्ट्रपति पुटिनले प्रधानमन्त्री मोदीको अडिग नेतृत्व, स्पष्ट दृष्टिकोण र बाह्य दबाब नमान्ने क्षमताको प्रशंसा गर्दै भारतलाई प्रमुख विश्व शक्ति भएको उल्लेख गरेका थिए । उनले मोदीसँगको सम्बन्धलाई व्यावसायिक र व्यक्तिगत दुवै स्तरमा विश्वास र दीर्घकालीन सहयोगमा आधारित रहेको बताए ।

युक्रेन द्वन्द्व आरम्भ भएदेखि पुटिनको यो पहिलो विदेश यात्रा भएकाले यस भ्रमणलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विशेष ध्यानका साथ हेरिएको छ । दुवै देशबीच व्यापार, रक्षा, विज्ञान–प्रविधि, कृषि, शिक्षा तथा सांस्कृतिक तथा मानवीय क्षेत्रमा सहयोग विस्तारबारे कैयौं सम्झौता पनि भएका छन् ।

क्रेमलिन र भारतीय विदेश मन्त्रालय दुवैले पुटिनको भ्रमणले विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई अझ सुदृढ गर्ने, द्विपक्षीय प्रगतिमाथि समीक्षा गर्ने र विश्व तथा क्षेत्रीय मुद्दामा आपसी धारणा आदानप्रदान गर्ने अवसर प्रदान गर्ने बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू