बुधबार, ३ डिसेम्बर, २०२५
21:02 | ०२:४७

श्रीलङ्कामा विनाशकारी चक्रवातका कारण कम्तीमा ४६५ जनाको मृत्यु

रासस/एएफपी डिसेम्बर ३, २०२५

पश्चिमी श्रीलंकाको बियागामामा चक्रवातले देशका धेरै भाग ध्वस्त पारेको छ । तस्बिर- एएफपी/गेटी इमेजेज

कोलम्बो । श्रीलङ्कामा हालै आएको विनाशकारी चक्रवातका कारण अहिलेसम्म कम्तीमा ४६५ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । उनीहरूले घर, उद्योग र सडकलगायतका क्षत्रीग्रस्त सुविधा पुनर्निर्माण गर्न करिब ७ अर्ब डलर आवश्यक पर्ने बुधबार जनाएका छन् ।

गत हप्ता देशभर वर्षा गराएको चक्रवातले निम्त्याएको बाढी र पहिरो पछि अन्य ३६६ जना बेपत्ता भएको जनाइएको छ ।

पुनर्निर्माणका लागि करिब ६ देखि ७ अर्ब डलर आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको उद्धार कार्यको नेतृत्व गरिरहेका अत्यावश्यक सेवाका आयुक्त–जनरल प्रभात चन्द्रकीर्तिले उल्लेख गरेका छन् ।

चन्द्रकीर्तिले सरकारले प्रत्येक परिवारलाई उनीहरूको घर सफा गर्नेका लागि २५ हजार रुपैयाँ तथा घर गुमाउनेहरूलाई २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको बताए ।

राष्ट्रपति अनुरा कुमार दिसानायकले तीन वर्ष अघि देखि देश खराब आर्थिक सङ्कटबाट गुज्रिँदै आएकाले राहत तथा उद्धार कार्यका लागि विदेशी सहयोग आवश्यक रहेको बताएका छन् । यस अघि उनले शनिबार आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय समर्थनका साथ पुनर्निर्माण गर्ने वाचा गरेका थिए ।

आर्थिक सङ्कट सामना गरिरहेको अवस्थामा आएको यस विपत्तिको सामना गर्नु सरकारको सबै भन्दा ठूलो चुनौती भएको दिसानायकले मङ्गलबार आफ्ना शीर्ष अधिकारीहरूलाई बताएका थिए ।

श्रीलङ्का सरकारले खाद्यान्न, इन्धन र औषधि जस्ता अत्यावश्यक आयातलाई पनि वित्त पोषण गर्न विदेशी मुद्रा समाप्त भएपछि अप्रिल २०२२ मा आफ्नो ४६ अर्ब अमेरिकी डलरको बाह्य ऋणमा चलिरहेको बताएको छ ।

देशको अर्थतन्त्र स्थिर भएको अवस्थामा आइएमएफबाट २.९ अर्ब डलरको ऋण प्राप्त भएको र यसलाई श्रीलङ्काले मितव्ययिता उपायहरूसहित आफ्ना सुधारहरू कायम राख्नु पर्ने उनले बताएका छन् ।

सन् २०२२ को सङ्कटले महिनौँसम्म सडकमा विरोध प्रदर्शन भएपछि तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षलाई पद छोड्न बाध्य तुल्याएको थियो ।

सप्ताहन्तमा ठूलो बाढी आएपछि बुधबार देखि राजधानी कोलम्बोमा बाढीको पानी कम हुँदै गएको जनाइएको छ ।

देशका १५ लाख भन्दा बढी मानिस प्राकृतिक प्रकोपबाट प्रभावित भएको र लगभग दुई लाख मानिस राज्यद्वारा सञ्चालित सुरक्षित आश्रयमा रहेको जनाइएको छ ।

मध्य पहाडका दुर्गम क्षेत्रहरू बढी प्रभावित भएकाले अधिकारीहरूले सडकहरू सुचारु तथा सञ्चार लाइनहरू पुनस्र्थापना गर्न कठिन प्रयास गरिरहेको जनाइएको छ ।

मुलुक पर्यटनमा आधारित भएकाले विपत्तिका बाबजुद श्रीलङ्काले मङ्गलबार कोलम्बो बन्दरगाहमा लक्जरी क्रुजलाइनरलाई स्वागत गरेको अधिकारीहरूले बताएका छन् ।

यो प्रयासले विश्वलाई श्रीलङ्का सुरक्षित, खुला रहेको तथा पर्यटकलाई स्वागत गर्न तयार रहेको सन्देश प्रवाह गर्ने श्रीलङ्काको पर्यटक बोर्डले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू