सोमबार, १ डिसेम्बर, २०२५
18:51 | ००:३६

इन्डोनेशियाको बाढीपहिरोमा ५०२ को मृत्यु, ५०० बढी बेपत्ता

रासस, सिन्ह्वा डिसेम्बर १, २०२५

जाकार्ता । इन्डोनेशियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको विनाशकारी बाढी र पहिरोले मृत्यु हुनेको संख्या ५०२ पुगेको छ भने ५०८ जना अझै बेपत्ता रहेको इन्डोनेशियाको राष्ट्रिय दैवी प्रकोप व्यवस्थापन निकायले सोमबार जनाएको छ ।

निकायका अनुसार उद्धार कार्य प्रभावित क्षेत्रमा तीव्र गतिमा जारी रहेको छ । उत्तर सुमात्रा, पश्चिम सुमात्रा र अचेह प्रान्तमा आएको बाढीका कारण झण्डै पाँच लाख ५० हजार मानिस विस्थापित भएको उल्लेख गरिएको छ ।

सडक अवरुद्ध हुनुका साथै सञ्चार अवरुद्ध भएकाले केही प्रभावित क्षेत्रमा पुग्न मुस्किल परेको र बचाउ तथा राहत सामग्री मुख्य रूपमा हवाई माध्यमबाट पुराइनुपर्ने अवस्था रहेको निकायले जनाएको छ ।

सोमबार इन्डोनेशियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले सरकारका उद्धार तथा राहत प्रयासहरू पूर्ण क्षमतासहित अघि बढाइएको बताए ।

उनले इन्डोनेशियाले जलवायु परिवर्तनका चुनौतीहरूलाई प्रभावकारी रूपमा सामना गर्नुपर्ने र स्थानीय सरकारहरूले वातावरण संरक्षण तथा आगामी चरम मौसमी घटनाका तयारीमा अझ ठूलो भूमिका खेल्नुपर्ने आवश्यकता जोड दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू