बिहीबार, २० नोभेम्बर, २०२५
21:57 | ०३:४२

नितिश कुमार दशौँ पटक बिहारको मुख्यमन्त्री

रासस/एएनआई नोभेम्बर २०, २०२५

पटना, मङ्सिर ४ गते । जनता दल (युनाइटेड) का प्रमुख नितिश कुमारले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का वरिष्ठ नेताको उपस्थितिमा इतिहास रच्दै दशौँ पटक बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् ।

सन् २०२० मा प्रधानमन्त्रीले शपथ समारोहमा भाग लिन नसके पनि यस पटक उनको विशेष उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो । शपथ ग्रहण पटनाको ऐतिहासिक गान्धी मैदानमा सम्पन्न भएको हो । यहाँ नितिश कुमारले सन् २००५, २०१० र २०१५ मा पनि सरकार गठनको घोषणा गरेका थिए ।

यही स्थान सन् १९७४ मा जयप्रकाश नारायणले ‘पूर्ण क्रान्ति’ को आह्वान गरेको ऐतिहासिक पृष्ठभूमिका कारणले पनि प्रख्यात मानिन्छ ।

कार्यक्रममा एनडिए नेतृत्व गरेका विभिन्न राज्यका मुख्यमन्त्रीको उल्लेख्य उपस्थिति थियो साथै हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनी, असमका हिमन्त बिस्वा सरमा, नागाल्यान्डका नेफियू रियो, आन्ध्रप्रदेशका एन. चन्द्रबाबु नायडू, उत्तर प्रदेशका योगी आदित्यनाथ र उत्तराखण्डका पुष्कर सिंह धामीलगायत प्रतिष्ठित व्यक्ति पनि सहभागी थिए ।

विहारका राज्यपाल आरिफ मोहम्मद खान, एलजेपी (राम विलास)का नेता चिराग पासवानलगायतका प्रमुख व्यक्तित्व पनि समारोहमा उपस्थित थिए ।

बुधबार पटनास्थित आधिकारिक निवासमा आयोजित नयाँ विधायकको बैठकमा जेडियू विधायक दलले सर्वसम्मतिले नितिश कुमारलाई पहिलो पटक आफ्नो दलको नेताका रूपमा चुनेको थियो । यसपछि एनडिए विधायक दलले पनि आज उहाँलाई सर्वसम्मतिले नेता चयन गर्दै नयाँ सरकार गठनको बाटो खुला गरेको हो ।

भारतीय जनता पार्टी (भाजपा) को प्रदेश मुख्यालयमा बसेको बैठकमा सम्राट चौधरी र विजयकुमार सिन्हालाई क्रमशः भाजपाको विधायक दलको नेता तथा उपनेता चयन गरिएको थियो । बिहारमा विधायक दलको नेतृत्व चयनका लागि केन्द्रीय पर्यवेक्षकका रूपमा आएका उत्तर प्रदेशका उप–मुख्यमन्त्री केशवप्रसाद मौर्यले दुवै नाम प्रस्ताव गरेका थिए, जसलाई बाँकी सांसद तथा विधायकले समर्थन जनाएका थिए ।

सन् २०२५ को बिहार विधानसभा चुनाव नितिश कुमारका लागि ‘लिटमस टेस्ट’ मानिएको थियो । विगत दुई दशकदेखि उनले राज्यको राजनीतिलाई आफ्नो नेतृत्वमा स्थिरता र निरन्तरतासहित अघि बढाउँदै आएको तथ्यलाई मतदाताले फेरि पुष्टि गरेका छन् ।

७४ वर्षीय नितिश कुमार २०१४–१५ बीच नौ महिनाको छोटो अवकासबाहेक सन् २००५ नोभेम्बरदेखि लगातार मुख्यमन्त्री पदमा रहँदै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू