शुक्रबार, १० अक्टोबर, २०२५
04:31 | ०९:१६

फ्रान्सेली प्रधानमन्त्रीको राजीनामा स्वीकृत, फ्रान्स फेरि राजनीतिक गतिरोधतर्फ

रासस/एएफपी अक्टोबर ६, २०२५

पेरिस, असोज २० गते । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार प्रधानमन्त्री सेबस्टियन लेकोर्नुको राजीनामा स्वीकृत गरेका छन् । लेकोर्नुले आफ्नो मन्त्रिपरिषद घोषणा गरेको केही घण्टामै राजीनामा दिएका थिए ।

उनको राजीनामाले युरोपको प्रमुख राष्ट्रलाई पुनः राजनीतिक गतिरोधमा पुरयाएको छ । राष्ट्रपति म्याक्रोनले गत महिना पूर्व रक्षामन्त्री लेकोर्नुलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । तर, आइतबार साँझ सार्वजनिक गरिएको नयाँ मन्त्रिपरिषद (जुन अधिकांश रूपमा अपरिवर्तित रह्यो) ले राजनीतिक वृत्तमा तीव्र आलोचना निम्त्याएको थियो ।

लेकोर्नुमाथि आगामी वर्षका लागि मितव्ययिता बजेट संसदबाट स्वीकृत गराउने कठिन जिम्मेवारी थियो । संसदमा सांसद गहिरोरूपमा विभाजित छन् । उनका दुई तत्काल पूर्ववर्ती, फ्रान्स्वा बायरो र मिशेल बार्नियर खर्च योजनाको गतिरोधकै कारण विधायिकाबाट हटाइएका थिए ।

फ्रान्सको सार्वजनिक ऋण अहिले ऐतिहासिक उच्चतम स्तरमा पुगेको गत हप्ताको आधिकारिक तथ्याङ्कले देखाएको छ । देशको ऋण (कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अनुपात अहिले युरोपेली सङ्घमा ग्रीस र इटालीपछि तेस्रो उच्च छ । यो युरोपेली सङ्घ (ईयू) नियमले अनुमति दिएको ६० प्रतिशतको झण्डै दोब्बर नजिक छ ।

अघिल्ला तीन वर्षमा सरकारले संसदमार्फत मतदान बिना नै वार्षिक बजेट पारित गर्ने विधि अपनाएको थियो । संविधानले यस्तो प्रक्रिया अनुमति दिए पनि विपक्षीले यसको कडा आलोचना गर्दै लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएका थिए । तर, लेकोर्नुले गत हप्ता मात्र सांसदलाई बजेट विधेयकमा प्रत्यक्ष मतदान गर्न सक्षम बनाउने आश्वासन दिएका थिए ।

राष्ट्रपति म्याक्रोनले आफ्नो राजनीतिक शक्ति सुदृढ गर्ने उद्देश्यले गत वर्ष मध्यतिर आकस्मिक संसदीय निर्वाचन घोषणा गरेका थिए । तर, उक्त कदम उल्टो सावित भयो । परिणाम स्वरूप विधानसभामा म्याक्रोन समर्थक गठबन्धन अल्पमतमा रह्यो । यसले आजको राजनीतिक अस्थिरता झनै गहिरो बनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू