शनिबार, ४ अक्टोबर, २०२५
07:05 | ११:५०

इजरायली बन्धक मुक्त गर्न हमास सहमत, विपिन जोशीको अवस्थाबारे चासो

नेपाली लिङ्क अक्टोबर ४, २०२५

काठमाडौँ, असोज १८ गते । हमास समूहले आफ्नो नियन्त्रणमा रहेका सबै इजरायली बन्धकलाई मुक्त गर्न वार्ताका लागि सहमति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजा शान्ति योजनाअन्तर्गत सबै बन्धकको रिहाइबारे छलफल गर्न तयार भएको स्पष्ट पारेको रोयटर्सले जनाएको छ ।

एसोसिएट प्रेस (एपी) ले पनि हमासले ट्रम्पको योजनाका केही अंश स्वीकार गरिसकेपनि अन्य केही बुँदाबारे अझै छलफल आवश्यक हुने बताएको उल्लेख गरेको छ ।

त्यस्तै, द गार्जियनले इजरायललाई गाजामा आक्रमण तत्काल रोक्न अमेरिकी पक्षले आह्वान गरेको र हमासले बन्धकको रिहाइका लागि सहमति जनाइसकेकाले आगामी दिनमा वार्ताले नयाँ मोड लिन सक्ने जनाएको छ।

हमासले ‘तत्काल वार्ता’ सुरु गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको उल्लेख गर्दै यो कदमलाई दीर्घकालीन शान्ति प्रक्रियाको सम्भावित सुरुवातका रूपमा व्याख्या गरेको छ।

यद्यपि, बन्धक मुक्तिका शर्त र विवरण अझै स्पष्ट भएको छैन् ।

इजरायलले भने वार्ता केवल बन्धकको तत्काल रिहाइमा केन्द्रित हुनुपर्ने अडान लिएको छ ।

अन्तर्राष्ट्रिय समुदायले यो सहमतिको स्वागत गर्दै यसलाई शान्ति प्रक्रियातर्फको सकारात्मक संकेतको रूपमा मूल्याङ्कन गरेको छ ।

लडाकु समूह हमासले गत ७ अक्टोबर २०२३ मा इजरायलमा हमला गरि करिब १२०० जनाको हत्या र त्यसैदिन नेपाली युवा विपिन जोशीसहित करिब २५० जनालाई अपहरण गरेको थियो । अझै हमासको कब्जामा ४८ जना बन्धक रहेको विश्वास छ । ति बन्धकमध्ये २० जना जिवितै रहेको जनाइएको छ ।

विपिन जोशी कञ्चनपुर निवासी हुन् । सन् २०२३ मा कृषि तालिमका लागि इजरायलको किब्बुज आलुमिम पुगेका उनी २०८० असोजमा इजरायल–हमास युद्धका क्रममा अपहरणमा परेका थिए । हालसम्म उनको अवस्था अज्ञात छ । उनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको छ भने विपिनका आमा र बहिनी इजरायल र अमेरिका पुगेर अनुनय गरिरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू