अमेरिकी सरकार ‘सटडाउन’, अब के हुन्छ?



काठमाडौँ । अमेरिकी संसदको माथिल्लो सदन सिनेटबाट बजेट पारित गर्न नसकेपछि अमेरिकी सरकार सटडाउनको अवस्थामा पुगेको छ।
यसको अर्थ अब त्यहाँ सरकारका धेरै कामहरू अस्थायी रूपमा स्थगित हुनेछन्।
सत्तारूढ रिपब्लिकन र डेमोक्य्राटिक पार्टीहरू बजेटमा सम्झौता गर्न असफल भएपछि वासिङ्टनको स्थानीय समय अनुसार मंगलबार मध्यरातपछि सटडाउन सुरू भएको हो।
राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकन र विपक्षी डेमोक्र्याट पार्टीले यस्तो स्थिति आउनुका पछाडि एक अर्कालाई दोष लगाएका छन्।
बन्दको बेला संघीय निकायले कर्मचारीहरूलाई व्यापक रूपमा बेतलबी बिदामा पठाउने र सार्वजनिक सेवाहरू कटौती गर्ने सम्भावना छ।
अमेरिकामा संघीय आर्थिक वर्ष अक्टोबर १ बाट सुरू हुन्छ। त्यसअघि नै संघीय बजेट संसदले पारित गर्नुपर्छ।
उसो त अमेरिकाको दुवै सदनमा रिपब्लिकनको स्पष्ट बहुमत छ। तर सत्तारूढ दलले मनपरी नगरून् भनेर सिनेटमा बजेट जस्तो केही विधेयकमा ‘फिलिबस्टर’को प्रावधान हुन्छ। फिलिबस्टर भनेको आफूलाई मन नपरेको विधेयकमा घण्टौँसम्म बोलेर प्रक्रिया लम्ब्याइ त्यसमा मतदान हुन नदिने उपाय हो। फिलिबस्टर लाग्ने विधेयक विपक्षीको सहयोग बिना पास गर्न ६० मत चाहिन्छ।
नोभेम्बर २१ सम्म सरकारी खर्च जोहो गर्ने रिपब्लिकनको योजनाले मंगलबारको मतदानमा ५५ भोट मात्रै पायो।
अक्टोबर अन्त्यसम्म स्रोत जुटाउने डेमोक्र्याटिक पार्टीको छुट्टै योजना पनि ४७ विरूद्ध ५३ मतले पराजित भयो। सो योजनामा स्वास्थ्य सेवा खर्चमा १० खर्ब डलरभन्दा बढी थप्ने प्रस्ताव गरिएकाले रिपब्लिकनले त्यसलाई असफल पारे भनेर अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले लेखेको छ।
विपक्षीको माग अनुसार केही बजेट दिन राजी भएपछि अमेरिकामा जुन पार्टीको राष्ट्रपति भए पनि प्राय संघीय बजेट पास हुने गर्छ। यसपटक भने त्यस्तो सहमति हुन सकेन।
अमेरिकामा पछिल्लो पटक सरकार सटडाउन ट्रम्पकै पहिलो कार्यकालमा भएको थियो।
ट्रम्पले मेक्सिकोसँगको दक्षिणी सिमानामा पर्खाल निर्माणका लागि पैसा छुट्टयाउने मागमा डेमोक्य्राटिक सांसद सहमत नभएपछि २०१८ डिसेम्बरदेखि ३५ दिनसम्म सरकार बन्द भएको थियो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५