फ्रान्सले पनि दियो प्यालेस्टाइनलाई देशको मान्यता



काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभामा फ्रान्सले प्यालेस्टाइनलाई देशका रुपमा मान्यता दिने घोषणा गरेको छ।
यसअघि आइतबार बेलायत, क्यानडा, अस्ट्रेलिया र पोर्चुगलले पनि प्यालेस्टाइनलाई औपचारिक रुपमा मान्यता दिएका थिए।
न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घमा बोल्दै फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले “शान्तिको निम्ति समय आएको” र “गाजामा जारी युद्धलाई कुनै पनि कुराले जायज नठहर्याउने” बताए।
फ्रान्स र साउदी अरबले राष्ट्रसङ्घको महासभामा इजरेल र प्यालेस्टाइनबीच विद्यमन पुरानो विवादबारे छलफल गर्न एक दिवसीय शिखर सम्मेलन आयोजना गरेका छन्। यद्यपि जी-सेभन समूहमध्ये जर्मनी, इटली र संयुक्त राज्य अमेरिका भने उक्त सम्मेलनमा सहभागी भएनन्।
सम्मेलनमा फ्रान्सका राष्ट्रपतिले युद्ध रोक्ने र हमासको नियन्त्रणमा रहेका बाँकी बन्धकलाई छुटाउने समय आएको बताएका छन्। उनले “अन्त्यहीन युद्धको खतरा”बारे सचेत गराउँदै “शक्तिभन्दा न्याय हाबी हुनुपर्ने” बताए।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भनेका छन्, ‘स्टेटहुड (राज्य) को दर्जा पाउनु प्यालेस्टिनीको अधिकारी हो, न कि इनाम।’
गुटेरेसले प्यालेस्टाइनलाई राज्यको मान्यता नदिनु विश्वभरका चरमपन्थीहरुका लागि ‘पुरस्कार’ हुने चेतावनीसमेत दिएका छन्। साथै उनले दुई राष्ट्रको सिद्धान्त नै इजरायल र प्यालेस्टाइनबीच स्थायी शान्तिको एक मात्र बाटो भएकोमा जोड पनि दिए।
आइतबार बेलायत, क्यानडा र अस्ट्रेलियाका तर्फबाट प्यालेस्टाइनलाई देशका रुपमा मान्यता दिएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई ‘आतंकवादलाई ठूलो पुरस्कार’ बताएका थिए।
इजरेली सेनाले गाजा सिटीलाई नियन्त्रणमा लिन अहिले स्थल कारबाही चलाइरहेको छ। उक्त सहरमा १० लाख मानिसको बसोबास थियो। त्यहाँ अनिकाल परेको गत महिना पुष्टि भएको थियो।
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली आक्रमणमा अहिलेसम्म ६५,००० भन्दा धेरै प्यालेस्टिनीको मृत्यु भइसकेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५