एनआरएनए अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित



लन्डन । गैर आवासीय नेपाली संघको अक्टोबर ११–१४ का लागि तय १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ ।
नेपालमा उत्पन्न विषम परिस्थितिबीच आगामी ६ महिनाभित्र महाधिवेशन गर्ने गरी हाललाई स्थगित गरिएको अध्यक्ष डा. बद्री केसीले एक विज्ञप्तिमार्फत बुधबार जनाएका छन् । नयाँ मितिमा हुने बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनमा सहभागी हुन उनले सबै पक्षलाई अनुरोध पनि गरेका छन् ।
संघले काठमाडौँसहित देशका विभिन्न स्थानमा सेप्टेम्बर ८ र ९ मा भएको ‘जेनजी’ पुस्ताको प्रदर्शन र त्यसपछि उत्पन्न असामान्य परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
‘प्रदर्शनका क्रममा र त्यसपछि पनि देशैभरि भएका सार्वजनिक सम्पत्तिमाथि आगजनी, तोडफोड, हिंसा र लुटपाटका घटनाले संघ स्तब्ध भएको छ । बालुवाटारस्थित संघको मुख्य सचिवालय एवं संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको निजी निवासमा भएको आगजनीले थप मर्माहत बनाएको छ’, विज्ञप्तिमा छ ।
यस्ता किसिमका घट्नाले विदेशमा रहेका नेपाली र विदेशी लगानीकर्तालाई पनि निराश बनाएको जनाइएको छ ।
गैरआवासीय नेपाली संघले युवाहरूको चेतनशीलता र देशप्रतिको उत्तरदायित्वबोधलाई सकारात्मक रूपमा ग्रहण गरेको छ । मुलुक सरकारविहीन भएको अहिलेको परिस्थितिलाई यथाशीघ्र अन्त्य गर्दै सार्वभौमसत्ता, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्यको संरक्षण गर्दै, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक अधिकारहरु हनन नहुने गरी सार्थक र परिणाममुखी संवादमार्फत यथाशीघ्र निकास निकाल्न र युवापुस्ताका माग सम्बोधन गर्न पनि संघले आग्रह गरेको छ ।
प्रदर्शनका क्रममा देशभर ३० युवाको दुःखद निधन र १ हजार बढी घाइते भएका समाचारले विश्वभरका नेपाली समुदायलाई मर्माहत बनाएको जनाउंदै संघले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
संकटको यस घडीमा विश्वभर रहेका सबै गैरआवासीय नेपालीलाई विगतका तिक्तता र आपसी मतभेदलाई छोडेर सहकार्य, एकता र मातृभूमिप्रतिको उत्तरदायित्वबोधसहित एकबद्ध भई अघि बढ्न संघले आह्वान गरेको छ ।
विज्ञप्ति:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५