बुधबार, ३ सेप्टेम्बर, २०२५
15:41 | २०:२६

सुडान डारफरमा भीषण पहिरो: हजार बढीको मृत्यु

रासस/एएफपी सेप्टेम्बर ३, २०२५

खार्तुम । सुडानको डारफर क्षेत्रमा परेको भीषण वर्षापछि गएको पहिरोमा पुरिएर कम्तीमा १०० जनाको शव फेला परेको विद्रोही समूहले जानकारी दिएको छ । 

डारफरको दुर्गम पहाडी क्षेत्र जेबेल मर्रा अन्तर्गत पर्ने तारासिन गाउँ पुरिँदा गाउँका झण्डै सम्पूर्ण परिवारका सदस्य सम्पर्कबिहीन बनेको प्रारम्भिक अनुमान गरिएको छ ।

उक्त क्षेत्रको नियन्त्रणमा रहेको सुडान मुक्ति सेना (एसएलएम) अन्तर्गतका अब्दुलवाहिद अल-नुर पक्षले बुधबार यो जानकारी दिएको हो । समूहका प्रवक्ता मोहम्मद अब्देलरहमान अल–नायरका अनुसार, “हिजो (मङ्गलबार) सम्म १०० वटा शव निकालिएका छन्, उद्धार कार्य अझै जारी छ, यद्यपि स्रोतसाधन सीमित छन् ।” 

समूहद्वारा सार्वजनिक गरिएको भिडियोमा स्थानीय स्वयंसेवक हिलो र ढुङ्गामाटो हटाउँदै नाङ्गा हातले शव फेला पारिरहेको देखिएको छ ।

प्रारम्भिक अनुमान अनुसार, गाउँमा रहेका एक हजार बढी मानिस मध्ये एक जना मात्र जीवित छन् । बाँकी सबै पहिरोमा पुरिएर ज्यान गुमाएको आशङ्का गरिएको छ । संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफेन दुजारिकले घटनाबारे प्रतिक्रिया दिँदै भने, “पूरा क्षतिको विवरण आउन बाँकी छ, किनभने घटनास्थल अत्यन्तै दुर्गम भएकाले उद्धार र सहायता पुगोस् भन्ने चुनौतीपूर्ण छ ।”

सन् २०२३ मेबाट सुरु भएको सुडानी सेना र अर्धसैनिक द्रुत सहयोग बल (आरएसएफ) बीचको द्वन्द्वका कारण हालसम्म दशौँ हजार नागरिकको ज्यान गएको छ र करिब एक करोड ४० लाख नागरिक विस्थापित भएका छन् । युद्धको चपेटाबाट जोगिन हजारौँ मानिस एसएलएम नियन्त्रणमा रहेका क्षेत्रमा शरण लिन बाध्य भएका छन् । डारफर क्षेत्र विशेष गरी वर्षायाममा पर्वतीय भूभाग भएका कारण पहिरोको उच्च जोखिममा रहने गर्दछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू