आइतबार, १५ फ्रेब्रवरी, २०२६
00:15 | ०६:००

नेपाल रुपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन तयार रहन कुलमान घिसिङको आह्वान

नेपाली लिङ्क अगस्ट २३, २०२५

लिस्बन-हाल युरोप भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको रुपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन तयार रहन प्रवासमा रहेका नेपालीहरुलाई आह्वान गरेका छन्।  

नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलद्वारा आफ्नो सम्मानमा शनिबार आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले प्रवासी नेपालीबाट मुलुकले ठूलो अपेक्षा राखेको बताए।

खाडी मुलुक लगायत संसारभरि रहेका नेपालीहरुले पठाएको रकम (रेमिटान्स) बाट मुलुकको अर्थतन्त्र चलिरहेको तर तिनै प्रवासी नेपालीलाई एअरपोर्टदेखि नै दु:ख दिने गरिएको उनले बताए।

“विदेशमा रहेका नेपालीले हरेक महिना एक खरब रुपियाँ भन्दा बढी नेपाल पठाई रहनु भएको छ, त्यसैले मुलुक धानेको छ, तर त्यस अनुसार उहाँहरुले सम्मान पाउन सक्नु भएको छैन,” उनले भने।  

मुलुकमा छिटो भन्दा छिटो आर्थिक परिवर्तन गर्न र विदेशिएका नेपालीलाई नेपाल फर्काउन पनि नीति र नेतृत्वमा व्यापक परिवर्तन आवश्यक छ,” उनले भने।

आफू खाडी राष्ट्र, अमेरिका, बेलायत हुँदै युरोपेली मुलुकहरुको भ्रमणमा आइपुगेको बताउंदै घिसिङले जबसम्म नेपाल समृद्ध हुँदैन तब सम्म  कसैको पनि इज्जत नबढ्ने बताए।

चिलिमे जलविद्युत आयोजनाको प्रमुख भएर काम गरेको अनुभव साझा गर्दै घिसिङले भने, “चिलिमेबाट मलाई सरुवा गरिए पछि स्थानीय जनताले एक महिनासम्म आन्दोलन गर्नु भयो, एक हप्तासम्म त सडक नै बन्द गर्नु भयो। त्यसैले जनताको माया कस्तो हुन्छ भन्ने मैले त्यसै बेला थाहा पाएको हुँ ।”

जनतालाई केन्द्रमा राखेर सामाजिक-आर्थिक रुपान्तरणको लागि काम गर्नुपर्ने उनले बताए।  

“आम जनतालाई सहुलियत दिन विद्युत महसुल २५ प्रतिशत घटाउँदा  पनि प्राधिकरणले अहिले वार्षिक १२- १५ अर्ब रुपियाँ नाफा गरिरहेको छ । १० वर्षसम्म लोडशेडिङ अन्त्य हुँदैन भनेर हाम्रै एक्स्पर्टहरुले भनेका थिए, तर अहिले भारत र बंगलादेशलाई विद्युत निर्यात गरिरहेका छौं। सात हजार मेगावाटका परियोजना निर्माणाधीन छन्,” उनले भने।  

घिसिङले ५० हजार मेगावाट विद्युत उत्पादन गर्ने हो भने नेपालले विद्युत बिक्री गरेर वर्षेनी  ३० देखि ४० खरब रुपियाँ आम्दानी गर्न सक्ने बताए । “२५ देखि ३० वर्षभित्र ती सबै आयोजना सरकारको स्वामित्वमा आउँछन् । विद्युतबाट प्राप्त आम्दानी शिक्षा, स्वास्थ्य र  पूर्वाधारको विकासमा खर्च गर्न सकिन्छ,” उनले भने।

विद्युत मात्रै हेरेर हुँदैन, नेपालमा सबै क्षेत्र उज्यालो बनाउनु पर्छ भन्दै आफूले उज्यालो नेपाल अभियान सुरु गरेको उनले बताए।

“नेपालमा सही समयमा सही व्यक्ति सही ठाउंमा हुँदैन, त्यसले समस्या आउँछ। राजनीतिमा पनि, हरेक क्षेत्रमा यो लागू हुन्छ,” उनले भने।

“यो पोलिटिकल लिडरशिप राम्रो हुनु पर्छ भन्ने अभियान पनि हो।  देश विकास गर्नलाई राजनीतिक नेतृत्व नै राम्रो हुनुपर्छ, मेरो पनि बुझाइ त्यही हो। समय आएको बेला देशमा परिवर्तन गर्नलाई तपाईंहरुले पनि योगदान गर्नु पर्छ,” उनले भने।  

नेपालको संविधानले दिएको र सर्वोच्च अदालतले दिएको  आदेश अनुसार विदेशमा बस्ने नेपालीहरुलाई विदेशमै बसेर पनि भोट हाल्न दिनुपर्ने उनले बताए। 

त्यस्तै एनआरएन नागरिकता अहिले  प्रयोगविहीन अवस्थामा रहेको गुनासो आएको भन्दै जति सक्दो चांडो कानून बनाएर एनआरएन  नागरिकता कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।

“एनआरएनहरुलाई सहज रुपमा नेपालमा गएर लगानी गर्ने वातावरण बनाउनु पर्छ। नेपाललाई उज्यालो बनाउने, नेपाललाई समृद्ध बनाउने तपाईं हाम्रो सबैको दायित्व हो। यो सबैलाई जोड्ने अभियान हो। उज्यालो नेपाल अभियानलाई साथ सहयोग दिन म आग्रह गर्न चाहन्छु,” घिसिङले भने ।

उनले आफ्नो बाँकी जीवन समग्र देशको उज्यालोको लागि समर्पित गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उक्त अवसरमा घिसिङलाई कदर पत्रसहित सम्मान गरिएको थियो।

नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलका अध्यक्ष चोप कुमार मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सोनाम योञ्जन लामाले गरेका थिए भने अर्जुन घिमिरे, सोम फुरी शेर्पा लगायतले मन्तव्य राखेका थिए।

नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलका महासचिव प्रेम लिम्बुले संचालन गरेको कार्यक्रममा शेर्पा नृत्य पनि प्रस्तुत गरिएको थियो।

उनी आइतबार (२४ अगष्ट) मा केम्टन पार्कमा तमुधिं युकेले आयोजना गर्न लागेको १६ औं नेपाली मेलामा विशेष अतिथिको रुपमा सहभागी हुने आयोजकले जनाएका छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू