मंगलबार, १९ अगस्ट, २०२५
02:53 | ०७:३८

क्यानडा नेपाल फोरम फर रिसर्चमा नयाँ कार्यसमिति

नेपाली लिङ्क अगस्ट १८, २०२५

अटवा- गत शनिबार तथा आइतबार (१६ र १७ अगष्ट) मा अटवामा आयोजित दुई दिने सम्मेलनले अटवा विश्वविद्यालयमा प्राध्यापनरत डा भानुभक्त आचार्यको अध्यक्षतामा क्यानडा नेपाल फोरम फर रिसर्च (केनफर) को नयाँ कार्यसमिति चयन गरेको छ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा डा दिनेश गजुरेल  (न्यू बर्न्स्विक युनिभर्सिटी ) र बोर्ड अफ डाइरेक्टर्समा डा शिवहरि गौतम (लाभल युनिभर्सिटी ), डा अनुप बस्नेत (वेस्टर्न  युनिभर्सिटी), डा होमनाथ घर्ती (क्विन्स युनिभर्सिटी ) र इ सुभाष पौड्याल निर्वाचित भएका छन्।

त्यस्तै कुसुम शर्मा सचिव, अम्बिका पौडेल कोषाध्यक्ष र सौगात श्रेष्ठ प्रविधि अधिकृतमा निर्वाचित भएका छन्। यसै गरी दिपेन्द्र कुँवर विद्यार्थी सम्पर्क अधिकृतमा मनोनयन गरिएका छन्।

नवनिर्वाचित अध्यक्ष डा आचार्यले सम्मेलन सफल पार्न सघाउने नेपाली दूतावास, अटवा विश्वविद्यालय, स्थानीय संघसंस्था लगायत सबै प्रायोजकहरुलाई धन्यवाद दिए ।

अध्यक्ष डा भानुभक्त आचार्य

सम्मेलन आयोजना गर्नुको मुख्य उद्देश्य डायस्पोरामा रहेका अनुसन्धाताहरुको विज्ञता क्षेत्र पहिचान गर्ने, अनुसन्धानकर्ताहरुलाई दक्ष विषय विज्ञहरुसंग नेटवर्किङ गर्न सहज बनाउने तथा अनुसन्धानको गुणस्तर बढाउनुका साथै विद्यार्थीहरुलाई नवीनतम विषयमा अनुसन्धान गर्न उत्प्रेरित गर्ने रहेको उनले जनाए । 

अर्थशास्त्री डा राम आचार्य, डा भानु आचार्य लगायतको  पहलमा सन् २०१९ मा स्थापना गरिएको फोरमले अहिलेसम्म चारवटा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गरिसकेको छ ।

‘आगामी वर्षहरुमा उत्तर अमेरिका तथा युरोपमा कार्यरत अनुसन्धान संस्था तथा विज्ञहरुसंग सहकार्य गरी क्यानाडाकै अन्य प्रान्त तथा शहर हरुमा सम्मेलन गर्ने हाम्रो लक्ष छ’,  नवनिर्वाचित अध्यक्ष डा भानु आचार्यले भने। 

दुई दिने सम्मेलनमा जनस्वास्थ्य, विज्ञान प्रविधि, कृत्रिम बुद्धिमत्ता, वन, वातावरण, उर्जा,जलवायु परिवर्तन, व्यवस्थापन लगायत विभिन्न क्षेत्रसंग सम्बन्धित २७ वटा अनुसन्धानमूलक प्रस्तुति गरिएका थिए भने नेपाल, यूके, स्विजरल्याण्ड र क्यानाडाका विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा पीएचडी स्कलरहरु समेत गरी १०० जना बढीले भाग लिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू