लन्डनमा श्रीमद्भागवत कथा सुन्न भक्तजनहरुको ओइरो



लन्डन । बेलायतमा पहिलोपटक आयोजना गरिएको श्रीमद्भागवत कथा समारोहको दोस्रो दिन साउथलस्थित विश्व हिन्दू मन्दिर भक्तजनले खचाखच भरियो।
धर्मदर्शन फाउन्डेशन नेपाल र बेलायतमा बसोबास गर्ने भक्तजनहरूको सक्रिय पहलमा मङ्गलबारदेखि सुरु भएको यस आध्यात्मिक महोत्सवले दोस्रो दिनको कार्यक्रममा अपेक्षाभन्दा निकै बढी उपस्थिति जुटाएपछि आयोजक उत्साहित मात्र होइन, व्यवस्थापनमा पनि व्यस्त देखिए ।
आयोजकका अनुसार, बुधबार ५० जनाको उपस्थिति अपेक्षा गरिए पनि १५० भन्दा बढी भक्तजन कथा श्रवणका लागि साउथलस्थित विश्व हिन्दू मन्दिर पुगे। अप्रत्याशित भीडका कारण व्यवस्थापनमा केही चुनौती आए पनि कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको बताइयो।
‘श्रीमद्भागवत कथा’मा आधा दर्जनभन्दा बढी कर्ताहरूले आफ्ना पितृहरूको स्मृतिमा नियमित रुपमा सक्रिय सहभागिता जनाइरहेका छन्। यस दिनको कार्यक्रममा लेष्टर, पिटरबरो, कोभेन्ट्री, रेडिङ, अल्डरशटलगायत विभिन्न शहरबाट भक्तजनहरू साउथल आएका थिए । ‘श्रीमद्भागवत कथा’ सुन्न आएका भक्तजनहरूको भोजन व्यवस्था कुल आचार्य तथा दधि आचार्य परिवार, विनु लिम्बु र रुक कुमारी राईले गरेका थिए ।
आयोजक समितिले साउथल ब्रोडवे क्षेत्रमा भइरहेको सडक निर्माणका कारण दिनहुँजसो ट्राफिक जामको समस्या हुने भएकाले साँझ ४ बजे सुरु हुने कथामा समयमै पुग्न भक्तजनलाई घरबाट अलिक छिट्टै प्रस्थान गर्न अनुरोध गरेको छ।
नेपालको धर्मदर्शन फाउन्डेशनका तर्फबाट कथा वाचन तथा प्रवचन गरिरहेका पण्डित कुवेर सुवेदीले श्रीमद्भागवत कथा आध्यात्मिक यात्राको मार्गदर्शन हो भन्दै यसको गहिरो धार्मिक र नैतिक महत्त्वबारे प्रकाश पारे।
एक हप्तासम्म चल्ने यो कथा सप्ताह १२ अगस्.ष्टदेखि १८ अगष्टसम्म दैनिक सञ्चालन हुनेछ। सनातन धर्मको अमूल्य ग्रन्थ ‘श्रीमद्भागवत महापुराण’को १२ स्कन्धअनुसारको संक्षिप्त कथा भक्तजनमाझ प्रस्तुत भइरहेको छ।
कार्यक्रममा प्रथम स्कन्धमा पाण्डवपश्चात् युगको प्रारम्भदेखि भीष्म उपदेशसम्म, दशम स्कन्धमा भगवान श्रीकृष्णको जन्मदेखि महाभारतसम्मका लीलाहरू, अष्टम स्कन्धमा समुद्र मन्थन र वामन अवतार, सप्तम स्कन्धमा प्रह्लाद भक्तिको कथा तथा षष्ठ स्कन्धमा अजामिलको मोक्ष विशेष आकर्षण बने।
अन्तिम द्वादश स्कन्धमा कलियुगका लक्षण र परीक्षित मोक्षको प्रसङ्गसँगै कथा सम्पन्न भयो। आयोजक समितिका अनुसार, भागवत कथा श्रवणले “मनको अशुद्धि मेटाई, भक्तिमा स्थिरता ल्याई जीवनलाई मोक्षको बाटोतर्फ उन्मुख गराउने” सन्देश दिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५