मंगलबार, ५ अगस्ट, २०२५
09:04 | १३:४९

निराशा र संघर्षको गाथा मात्र होइन बेलायतको जीवन

नेपाली लिङ्क अगस्ट ५, २०२५

बेलायतबारे लेख्दा कहिलेकाहीँ आफैंलाई लाग्छ, किन मेरो कलम सधैं चिन्ता, पीडा र दौडधूपतिर मात्र मोडिन्छ? किन मेरो हर लेखमा आप्रवासी जीवनका बिझाउने अनुभूतिहरू मात्रै मिसिन्छन्? तर लेख लेख्नु भनेको त मनभित्रको भावनालाई कलमको धारमार्फत पोख्नु हो, होइन र? साँचो के हो भने, बेलायतको जीवन केवल निराशा र संघर्षको गाथा होइन। म आफैं साढे तीन वर्षदेखि यस देशमा बस्दै आइरहेको छु । फरक भाषा, फरक संस्कृतिको यो भूमिमा म अझै टिकिरहेछु भने त्यसको पछाडि केही त सकारात्मक पक्षहरू छन्, केही त उज्याला पलहरू छन्, जसले मलाई यहाँ बसिरहने हिम्मत दिएको छ। धेरै लेखियो समस्याबारे, धेरै बोलियो असहजता र एक्लोपनाबारे। तर आज मेरो मनले भन्छ- एकपटक त ती सुन्दर पक्षहरू पनि साटौं, ती अनुभवहरू पनि बाँडौं जसले बेलायतलाई केवल संघर्षको भूमिमात्र होइन, अवसर, अनुशासन र आत्म-अनुशन्धानको ठाउँ बनाएको छ। 

धेरैलाई लाग्न सक्छ, बेलायत आउनु केवल डिग्री लिनु हो, पासपोर्टमा अर्को देश थप्नु हो, विदेश घुम्नु हो। तर जब कोही वास्तवमै यो यात्रामा लाग्छ, तब मात्र थाहा हुन्छ, यो त केवल पढाइको यात्रा होइन, जीवन बदल्ने, सोच बदल्ने, र आफूलाई नयाँ रूपमा चिन्ने यात्रा हो।

संसार बुझ्नका लागि साँघुरो गोरेटो छोड्नै पर्छ 

नेपालका गल्ली, गाउँ, टोल, आफन्त र साथीभाइको घेराभित्र हामी हुर्कन्छौं। तर जब त्यही सहर छोडेर बेलायत जस्तो विशाल देशमा पाइला टेकिन्छ, त्यो क्षणले हामीलाई भन्छ – अब तिमी संसारको हिस्सा हौं, केवल टोलको होइन। यहाँ आएर हामी भिन्न भाषा, संस्कृति, जीवनशैलीसँग टकराउँछौं। सुरुमा अचम्म लाग्छ, झस्किन्छौं, तर बिस्तारै त्यो फरकपनलाई अपनाउन थालिन्छ। त्यही अपनाउने क्षणबाट हाम्रो सोच बदलिन्छ। हामी सिक्छौं, सबै मानिस एकै छन्, केवल परिवेश फरक छ। अनि यो बुझेपछि, हामी हरेक संस्कृतिलाई सम्मान गर्न थाल्छौं। त्यसैले बेलायत पढ्न आउने विद्यार्थीहरू साँचो अर्थमा ग्लोबल सिटिजन बन्छन्।

शिक्षा केवल किताबको ज्ञान होइन 

बेलायतको शिक्षा प्रणालीले हामीलाई केवल उत्तर लेख्न होइन, प्रश्न उठाउन सिकाउँछ। शिक्षकको सबै कुरा अन्धाधुन्ध स्वीकार्नु हुँदैन भन्ने कुरा यहीँ सिकिन्छ। अनुसन्धान, विश्लेषण, समालोचनात्मक चिन्तन, यी सब कुराले हाम्रो सोचाइको धरातल नै परिवर्तन गर्छन्। यहाँ एक-एक असाइनमेन्टले हामीलाई सोच्न बाध्य बनाउँछ – के म सिक्दैछु, कि केवल पास हुँदैछु? डिग्री पाउनु भन्दा पहिला, आत्मज्ञान पाउनु महत्वपूर्ण रहेछ।

काम गर्ने, संघर्ष गर्ने अनि आफैँ उठ्ने बानी 

घरमा हुँदा केही खाँचो परे आमा बाबालाई भनिन्थ्यो, तर यहाँ त्यो विकल्प हुँदैन। यहाँ पढाइसँगै काम गर्नुपर्छ, कहिले दिउँसोको सिफ्ट, कहिले रातिको सिफ्ट, कहिले वीकेंडको सिफ्ट, अनि जाडो मौसमको चिसोमा काम गर्दा थाहा हुन्छ, पैसा कमाउन कति गाह्रो छ! तर यिनै संघर्षले हामीलाई आत्मनिर्भर बनाउँछ, र जब पहिलो पटक आफ्नो मेहनतले कमाएको पैसाले खर्च गर्छौं, त्यो सन्तोष शब्दले बयान गर्न सकिँदैन।

जब आँसु लुकाएर हाँस्न सकिन्छ 

विदेशमा पढ्न गाह्रो त हो, तर भावनात्मक रुपमा झन गाह्रो हुन्छ। घर सम्झना आउँछ, चाडपर्वमा एक्लोपनले सताउँछ, र कहिलेकाहीँ बिना कारण मन दुख्छ। तर त्यही क्षणहरूमा हामी भित्रैबाट बलियो बन्छौं। हामी बुझ्छौं, संसारमा हामी आफू भन्दा ठूलो साथीसँगै चल्नु पर्छ, त्यो हो स्वयंम आफैँ।

जिम्मेवारी र आत्मपरिचय 

बेलायतमा रहँदा हामी एक किसिमको मौन जिम्मेवारी बोकेर हिँडिरहेका हुन्छौं। हामी आफन्त, परिवार, गाउँ, देश, र भविष्यको आशा बोकेका मान्छे हौं। हरेक पाइलामा हामी सम्झन्छौं, म केवल आफ्नो लागि मात्रै होइन, मेरो पछि आउने पुस्ताको लागि पनि मार्ग बनाउँदैछु। त्यही सोचले हाम्रो हरेक निर्णयमा परिपक्वता ल्याउँछ। फुर्सदको हाँसोमा पनि जिम्मेवारी मिसिएको हुन्छ यहाँ।


सम्बन्ध बनाउने, नतोडिने कला 

यहाँ बनेका सम्बन्धहरू – शिक्षकसँगको प्रोफेसनल सम्बन्ध, साथीहरूसँगको साँस्कृतिक आत्मीयता, र अरू नेपालीहरूसँगको भावनात्मक सम्बन्ध, यी सबै जीवनभरका पूँजी हुन्। कहिलेकाहीँ अपरिचित मान्छेले तिमी पनि नेपालबाट? भनेर सोध्दाको त्यो आत्मीयता शब्दले होइन, आँखाले बोल्ने भावना हुन्छ त्यो।

यात्रा, अनुभव र सम्झनाहरू 

पढाइका बीचमा बेलायतका सहरहरू, यूरोपका गल्लीहरू, सस्तो फ्लाइटमा विश्वका विकसित देशहरु घुम्दा यस्तो लाग्छ- एकपटक जिन्दगी बाँचेको अनुभव यही त हो । यी अनुभवहरू डिग्रीभन्दा धेरै समय मनमा रहन्छ। फोटोमा होइन, स्मृतिमा बस्छ।

आफूलाई मात्र होइन, देशलाई पनि चिनाउने मौका 

जब हामी बेलायतमा आफ्नो इमानदारी, कडा परिश्रम र संस्कार देखाउँछौं, त्यो केवल व्यक्तिगत पहिचान होइन,

त्यो त नेपालीको पहिचान हो। हाम्रो हरेक व्यवहारले कसैलाई नेपालबारे बुझाउने माध्यम बन्छ। हामी विदेशी भूमिमा भए पनि, हामी हाम्रै देशको प्रतिनिधि हौं।

विदेश जाने सपना, तर आत्मा कहिल्यै हराउँदैन 

बेलायत आउने सपना सजिलो छैन, तर सम्भव छ। अनि यस यात्रामा प्राप्त हुने कुरा केवल डिग्री होइन, जीवनको दर्शन, संघर्षको स्वाद, अनि सफलताको वास्तविक अर्थ हो। कहिल्यै नडराउनू, किनकि हामी जुन बाटोमा हिँड्दैछौं, त्यो हजारौंको प्रेरणा बन्न सक्छ। म आफूले विदेशमा भोगेका हरेक दुःख, सिकाइ, प्रेरणा र सन्देशलाई यसैगरी शब्दमा उजागर गरिरहने छु ।

लेखन: सुशील गौतम (हाल प्रेस्टन, बेलायत) 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू