बेलायतमा नेपाली विद्यार्थीले आत्महत्या गर्ने क्रम बढ्दो



लन्डन- गत जुन १४ तारिख लन्डनस्थित वेम्बली स्टेडियमभित्र कार्यस्थलमै मृत भेटिए २७ वर्षीय विपिन न्यौपाने ।
डेढ वर्षअघि अध्ययनका लागि बेलायत आएका विपिनले यहाँको सेन्ट जोन युनिभर्सिटीबाट मास्टर्स पूरा गरी हालै मात्र पिएसडब्लु भिजा लिएर फुलटाइम काम शुरु गरेका थिए ।
गुल्मी जोहाङ पुख्र्यौली र हाल रुपन्देहीको मणिग्राममा घर भएका स्वर्गीय न्यौपानको लन्डन एल्थामस्थित क्रिमेटोरियममा अन्त्येष्टि पनि भइसकेको छ ।
– रुकुम पश्चिमको मुसिकोट स्थायी घर भएका सुशान ओली गत अप्रिल २३ तारिख लन्डनबाट सम्पर्कविहिन भए । उनको खोजीमा नेपाली समुदाय र प्रहरी समेत लाग्यो । तर सुशानलाई हराएको पाँच दिनपछि अप्रिल २८ मा बेलायती प्रहरीले थेम्स नदी किनारमा मृत फेला पारेको थियो ।
ओली एक वर्षअघि बेलायत आएर कोभेन्ट्री युनिभर्सिटीमा अध्ययनरत थिए । साउथ इष्ट लन्डनमा विपिनको अन्त्येष्टि भएकै दिन सुशानको पनि वेष्ट लन्डनको फेल्थाममा अन्त्येष्टि भएको छ ।
उता, गत वर्ष युनिभर्सिटी अफ वेष्ट लन्डनमा ब्याचलर्स अध्ययनरत २० वर्षीय सुजल बराल ससेक्सस्थित बिचीहेड समुद्रछेउको क्लीफ (भीर) बाट तल करिब ५ सय मिटर खोचमा मृत भेटिए ।
– बेलायतको नर्दन आयरल्यान्ड बस्दै आएका भक्तपुरका ३० वर्षीय ओमी प्रजापति जुलाई पहिलो साता सुतेकै अवस्थामा मृत भेटिए ।
बेलफाष्ट सिटीको फिनेगी भन्ने ठाउँमा आफ्नै निवासमा सुतिरहेका प्रजापति अचेत अवस्थामा भेटिएपछि तत्कालै एम्बुलेन्सलाई खबर गरियो ।
केही मिनेटभित्रै एम्बुलेन्समा आएका प्यारामेडिक टोलीले जाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।
यी त केही प्रतिनिधि घट्नामात्र हुन् । पछिल्लो समय बेलायतमा असामयिक रुपमा ज्यान गुमाउने नेपाली विद्यार्थीको संख्या बढ्दै गएको छ ।
अध्ययनका लागि लाखौं ऋण जोरजाम गरेर बेलायत आएका विद्यार्थीले आत्महत्या जस्तो अप्रिय बाटो रोज्नुको प्रमुख कारण अपेक्षा बढी तर यहांको वास्तविकता अर्कै हुनु रहेको बताउंछन् अगुवा ।
लन्डनस्थित नेपाली दूतावासले गोपनियताका कारण यकीन तथ्यांक प्राप्त नभएपनि विद्यार्थीको असामयिक निधनले चिन्ता बढाएको जनाएको छ ।
कयौं दुःखद घट्नाको प्रत्यक्ष साक्षी बनेका दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी विद्यार्थीहरु कानून उल्लंघनका कारण प्रहरी हिरासतमा रहेका एवं आत्महत्या, मानसिक समस्या र कुलतमा लाग्ने क्रम चिन्ताजनक रुपमा बढेको बताउंछन् ।
‘धेरै घट्ना त बाहिरसम्म आइपुग्दैनन्’, दुवाडी भन्छन्, ‘यस्ता घट्ना पीडित परिवार, आफन्तजन वा साथीभाईले भनेमात्र हामीले थाहा पाउने हो । तर यसको सुक्ष्म अध्ययन जरुरी भइसकेको छ ।’
दुवाडी विद्यार्थीले यहां आत्महत्या गर्नु, मानसिक समस्या भोग्नु वा कुलतमा लाग्नुको प्रमुख कारण नेपालको ऋणमाथि यहां काम नपाएर थप आर्थिक बोझ, छिटो कमाउने महत्वकांक्षा पूरा नहुंदा विक्षिप्तता, पढाईको बोझले व्यक्तिगत जीवन व्यवस्थापन गर्न कठिनाइ, कागजी बिहे, खटपट र सम्बन्ध विच्छेद, अपरिपक्व उमेर, गलत संगत, होम सिकनेस र यहां आइसकेपछि ‘प्रोपर गाइडेन्स’ नपाउनु देख्छन् ।
अभिभावकले आफ्ना सन्तान विदेश पठाउंदा उनीहरुमा नयां परिवेश सामना गर्ने सामर्थ छ छैन त्यो राम्ररी बुझ्नु पर्ने सुझाउंछन् उनी ।
‘कतिपय विद्यार्थी कागजी बिहे गरेर डिपेन्डेन्टका रुपमा बेलायत आउने रहेछन् । तर, आएपछि सम्बन्ध बिग्रेर डिभोर्सको अवस्थामा पुग्छन् । पछि मानसिक दवाव झेल्न नसकी ज्यान फालेको उदाहरण पनि छन्’, दुवाडीले भने ।
लन्डनस्थित नेपाली दूतावासका अनुसार २०८१-२०८२ मा ५५४ अधिकृत वारेसनामा जारी भएको छ जसमा सम्बन्ध विच्छेदका सबैभन्दा बढी छन् ।
विद्यार्थीका लागि बेलायतको जनजीवन अहिले कष्टकर छ । यहां भन्ने बित्तिकै जागिर पाउन मुश्किल छ । जागिर नभएपछि नेपाल र बेलायतको आर्थिक भार एकैचोटी पर्नु स्वभाविक भइहाल्यो । जागिर भइहाले पनि रातदिन जोतिनु पर्ने अर्को वाध्यता छंदैछ ।
‘हामीलाई जागिर खोजिदिन नेपालदेखि यति धेरै फोनकल आउंछन् तर हामी सहयोग गर्नै सक्दैनौं’, उपनियोग प्रमुख दुवाडीले भने ।
बेलायतमा आत्महत्या दर २५ वर्ष यताकै उच्च
बेलायतमा आत्महत्या दर २५ वर्ष यताकै उच्च तहमा पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।
हाउस अफ कमन्स लाइब्रेरीको एक प्रतिवेदनले सन् २०२३ मा इङ्गल्याण्ड र वेल्समा दर्ता भएका आत्महत्याको संख्या १९९९ को तुलनामा १६ प्रतिशतले बढी रहेको देखाएको छ ।
आधिकारिक तथ्यांकले सन् २०२३ मा इङ्गल्याण्ड र वेल्समा ६ हजार ६९ आत्महत्या दर्ता भएको देखाएको छ, जुन अघिल्लो वर्ष ५ हजार ६४२ थियो ।
बेलायतमा हुने १० प्रतिशत आत्महत्या कामसँग सम्बन्धित हुने एक अनुसन्धानले बताएको छ ।
विश्व स्वास्थ्य संगठनले भनेको छ- ‘हरेक वर्ष ७ लाख २७ हजार बढी मानिस आत्महत्याका कारण मर्छन्। १५ देखि २९ वर्ष उमेर समूहका वयस्कमा मृत्युको तेस्रो प्रमुख कारण आत्महत्या हो ।’ विश्वभरि हुने आत्महत्याको ७३ प्रतिशत न्यून र मध्यम आय भएका देशमा हुन्छन्।
संगठनका अनुसार, आत्महत्याका कारण बहुआयामिक हुन्छन् जुन जीवनकालमा सामाजिक, सांस्कृतिक, जैविक, मनोवैज्ञानिक र वातावरणीय कारकहरुबाट प्रभावित हुन्छन् ।