शुक्रबार, २५ जुलाइ, २०२५
21:27 | ०२:१२

बेलायतसहित युरोपका पाँच मुलुकको साङ्गीतिक यात्रामा नेपथ्य

नेपाली लिङ्क जुलाइ २४, २०२५


काठमाडौं, साउन ८- लोक-रक ब्यान्ड नेपथ्यले आगामी महिना युरोपको शृङ्खलाबद्ध साङ्गीतिक यात्रा गर्ने भएको छ । बेलायत, डेनमार्क, माल्टा, पोर्चुगल र बेल्जियममा नेपथ्यले कन्सर्ट गर्न लागेको हो ।

ब्यान्डले शृङ्खलाबद्ध यात्राको पहिलो प्रस्तुति अगस्ट ९ मा लन्डनको वेम्बलीमा दिनेछ । त्यसपछि अगस्ट २३, शनिबार डेनमार्कको राजधानी कोपेनहेगनमा ब्यान्ड प्रस्तुत हुनेछ । त्यहाँस्थित ‘पुलेन हल’ मा ब्यान्डको कन्सर्ट तय भएको छ ।

औधोगिक युगको वैभव सम्झाउने पुरानो गोदामलाई व्यवस्थित हलमा परिणत गरिएको यो हल हिजोआज नियमित रक कन्सर्ट हुने थलो बनेको छ । यसै हलको वेबसाइटमा नेपथ्य कन्सर्टको विवरणसमेत देख्न सकिन्छ ।

कोपेनहेगन सहरमा नेपथ्यको दोस्रो प्रस्तुति हुन लागेको हो । यसअघि सन् २०१६ मा ब्यान्डले कोपेनहेगनमा लोक-रक सुनाएको थियो ।


डेनमार्कपछि ब्यान्ड माल्टाको आटार्ड सहरमा उपस्थित हुनेछ । मुलुकको उत्तरी भेगमा पर्ने यस सहरको ‘माल्टा फेयर एन्ड कन्भेन्सन्स सेन्टर हल’ मा अगस्ट २७, बुधबार नेपथ्यका गीतहरु गुन्जिनेछन् ।

त्यसपछि ब्यान्ड पोर्चुगलतर्फ प्रस्थान गर्नेछ । त्यहाँको राजधानी लिस्बनस्थित ‘लिस्बोआ आओ भिभो’ मा अगस्ट ३१, आइतबार नेपथ्य प्रस्तुत हुनेछ ।

युरोप यात्राको अन्तिम प्रस्तुति भने बेल्जियमको एन्थ्रोपेन सहरमा हुनेछ । त्यहाँस्थित ‘एइडी स्टुडियोजको स्टुडियो सेभेन’ मा सेप्टेम्बर ३ मा नेपथ्यको प्रस्तुति रहनेछ ।

एन्थ्रोपेन सहरमा पनि नेपथ्य दोस्रो पटक प्रस्तुत हुन लागेको हो । यसअघि सन् २००५ मा ब्यान्डले त्यहाँस्थित आरेनबर्ग थिएटरमा आफूलाई उभ्याएको थियो ।

नेपथ्यले अघिल्लोपटक सन् २०१६ मा युरोप यात्रा गर्दै जर्मनीको हेम्बर्ग र  डेनमार्कको कोपेन्हेगनमा प्रस्तुति दिएको थियो । बेलायतको लन्डनलाई छाडेर बाँकी युरोपेली मुलुकमा नेपाली थुप्रै सानाठूला सहरमा छरिएर रहेका कारण ठूलो दर्शक उपस्थिति अपेक्षा गर्न कठिन थियो ।

पछिल्लो समय यी चार मुलुकमा भने नेपालीको सङ्ख्या उल्लेख्य मात्रामा थपिएको छ । त्यसमा पनि खास गरेर माल्टा, पोर्चुगल र बेल्जियममा अर्थोपार्जनका हिसाबले पुगेका नेपालीको सङ्ख्या बढी छ । दर्शक सङ्ख्याको सकारात्मक सङ्केत देखेर नेपथ्यले चार सहरमा शृङ्खलाबद्ध यात्रा गर्न लागेको हो ।

यी चारवटै स्थानमा दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको र केही शोका टिकट सकिन लागेको स्थानीय आयोजकले जानकारी दिएका छन् ।

नेपथ्यले हालसम्म आफूलाई प्रभावकारी रुपमा प्रस्तुत गर्दै आएका विश्वका अग्रणी सहरहरु विशेष गरी अध्ययनका लागि उल्लेख्य सङ्ख्यामा नेपाली विद्यार्थी गएका ठाउँ हुन् । यसपटक युरोपको शृङ्खलाबद्ध यात्राले भने नेपथ्यको दर्शकघेरामा देखा पर्दै गएको विविधतालाई पनि सङ्केत गरेको छ । यद्यपि यी सहरमा छिटफुट र कोपेनहेगनमा उल्लेख्य सङ्ख्यामा विद्यार्थीको उपस्थिति छ ।

‘नेपालका सानो बस्तीदेखि लिएर विश्वका अग्रणी सहरसम्म नेपथ्यको प्रस्तुततिले श्रोता दर्शकको मायामा एकरुपता पाउन थालेको छ,’ ब्यान्डको व्यवस्थापन सम्हाल्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपथ्यको कार्यक्रममा अपेक्षा गरिने व्यवस्थापकीय र प्राविधिक उत्कृष्टतालाई निरन्तरता दिँदै युरोपमा पनि सबै कार्यक्रम स्तरीय हलमा स्तरीय प्रविधिक संयोजनसहित प्रस्तुत गरिनेछ ।’

यस यात्राका लागि व्यवस्थापक, प्राविधिक र कलाकारसमेत गरेर १४ सदस्यीय नेपथ्य टोली युरोप प्रस्थान गर्दै छ । मञ्चमा भने मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

युरोपका सबैजसो कन्सर्टमा दर्शकले अनलाइनबाट सोझै टिकट काट्न सक्ने प्रबन्ध मिलाइएको छ । त्यसका लागि नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत आफ्नो सिट सुरक्षित गर्न सकिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू