‘ईन्द्रायणी देखि बेलायतसम्म’ ध्रुव केसी
पुस्तक समीक्षा



हिमाली बक्खु पहाडको दौरासुरूवाल
तराईमा लुङ्गीको पहिरन
कति राम्रो छ यो मौसम सुहाउने
लवाई खुवाई नेपाली रहनसहन !
‘ईन्द्रायणी देखि बेलायतसम्म’ पुस्तक भित्रका यी माथिका काव्य पंक्तिहरूबाट प्रस्तुत पुस्तकका लेखक तथा कवि ध्रुव केसीले आफ्नो जन्मभूमी नेपालको सामाजिक चित्रण बढो सरल र यथार्थपरकरूपमा ’सेन्ड होम अ फ्रेन्ड’ शीर्षक दिएर आफ्नो देश प्रतिको समृद्धिको भावना काव्यको लहरमा पोखेका छन् । उनले आफ्नो कविताका बाँकी लहरहरूमा नेपालको प्राकृतिक, सामाजिक र सांस्कृतिक सुन्दरताको वणन गर्दै पर्यटनको विकासबाट नै देशको विकास अगाडि बढ्न सक्छ भन्ने जिकिर र जोड पनि आफ्नो काव्य सिर्जनामा गरेका छन् । सबै प्रवासमा रहेका नेपालीले वर्षमा कम्तिमा एक जना आफ्नो विदेशी साथी नेपाल भ्रमणमा पठाउँ भन्ने आग्रह पनि उनको कवितामा छ । यत्तिमात्र होइन, केसीले जुन भावना कवितामा कोरेका छन् त्यस अनुरूप काम पनि गरेर आफ्नो जन्म देशप्रतिको कर्तव्य पनि पुरा गरेका छन् ।
उनले बेलायतका लागि पर्यटन दूत भएर लामो समयसम्म नेपालमा पर्यटक भित्राउन प्रचारप्रसार देखि समन्वय र सम्पर्क समेत अथकरूपले गरे । चाहे त्यो भिजिट नेपाल ९८ को लन्डन संयोजक भएर होस् वा प्रयटन प्रवर्धन संस्था फ्रेन्डस् अफ ब्रिटेन एण्ड टुरिजम अर्गनाइजेसन यूकेको संस्थापक अध्यक्ष भएर होस् वा यती नेपाली एसोसिएसन यूकेको कार्यकारिणी सदस्य, महासचिव, उपाध्यक्ष र पछि अध्यक्ष भएर होस् । यस अलवा कोसेली नेपाली सांस्कृतिक परिवार यूके को संस्थापक सदस्य तथा सल्लाहकार भएर होस् वा नेपाली साहित्य विकास परिषद् यूकेको संस्थापनाकालदेखि सल्लाहकार र हाल वरिष्ठ सह–अध्यक्ष भएर होस् । बेलायतस्थित नेपालीहरुका सबैभन्दा पुराना यी अग्रज सामाजिक एवं बौद्धिक संस्थाहरूमा रातदिन खटेर अविछिन्न लागिपरेका छन् ।
यसैगरी नेपाली केटरर्स एसोसिएसन यूकेको संस्थापक अध्यक्ष भएर होस् वा बेलायतमा नेपाली चलचित्र ’कस्तुरी’ निर्माण गरेर होस् । नेपाली खानाको रेष्टुरेन्ट ’लाइट अफ नेपाल’ खोलेर होस् वा क्षेत्री समाज यूकेको संस्थापक संरक्षक रहेर होस् वा एनआरएनए यूके लगायत बेलायतमा रहेका दर्जनौं संस्थाको सल्लाहकार भएर होस् वा यतीपत्र पत्रिकाको सम्पादक मण्डलमा रहेर होस् । अथवा कविता लेखरचना आदि सिर्जना गरेर होस् वा आफ्नो मौलिक कृति ’ईन्द्रायणी देखि बेलायतसम्म’ पुस्तक प्रकाशन गेरर होस् ।
प्रस्तुत पुस्तकका लेखक ध्रुव केसीको मनोभावना, श्रम, चिन्तन मनन, सेवा र शुभेच्छा सबै एउटै छ कि समाजमा उर्जा थप्ने, समाजका हरेक कठिनाइहरूमा सहयोगी बन्ने, समाजका लागि सरलरूपले उपयोगी हुने, नेपाली भाषा, साहित्य, संस्कृति, भेषभूषा, चाडपर्व र नेपाली परिकार आदि नेपाली पहिचानहरूलाई विदेशी भूमिमा संरक्षण र सम्वर्धन गरेर एकातिर नेपाली पहिचानहरूलाई जीवन्त राख्ने र अर्कोतिर यी सबै हेर्नका लागि नेपाल भ्रणमा जाउँ भन्ने भावना विदेशहरूलाई जगाउन प्रचारप्रसार र संयोजन र सम्पर्क बढाएर नेपालको पर्यटन विकासमा सक्दो टेवा पुरयाउने पवित्र भावनाले रातदिन लागि पर्ने बेलायतमा रहेका पहिलो पुस्ताका सक्रिय समाजसेवी अग्रणी व्यक्तित्वहरू मध्यकै एक महत्त्वपूर्ण वरिष्ठ व्यक्ति हुन् ध्रुव केसी । यत्ति कुरा पुस्तक भित्र पस्नु अघि यहीँ निर राख्दा पाठक वर्गलाई पुस्तकका बारेमा बुझ्न सरल रहनेछ । किनकि यो पुस्तकभित्र लेखकको छोटो पारिवारिक परिचय पश्चातः यी माथि उल्लिखित संस्थाहरूभित्र नै समाज र देशका लागि गरेका गतिविधिहरूकै फेरिस्त समेटिएको छ ।
बेलायतमा मात्र जीवनका ५ दशक बढी समय समाजसेवामा बिताएका समाजसेवी लेखक कवि ध्रुव केसीको यो ’ईन्द्रायणी देखि बेलायतसम्म’ पुस्तक पहिलो कृति हो । लेखक केसी ले यस पुस्तकमा आफ्नो जीवनका कलिला पक्ष देखि वर्तमान अवस्थासम्म समयको गति र जीवन प्रवाह उतारेका छन् । देशप्रेमी समाजसेवी सर्जक केसीले पुस्तकभित्र व्यक्तिगत जीवन, पारिवारिक जीवन र सामाजिक जीवनगरी तीन पक्षमा समर्पित आफ्नो जीवनका गतिविधि दस्तावेजमा उतारेर भावी पिंढीलाई प्रेरणामूलक अनुकरणीय इतिहास सुम्पेका छन् भन्न सकिन्छ ।
काव्यमा होस् वा कथनमा होस्, लेखक केसीका भावनाहरू देशप्रेम, राष्ट्रभक्ति, समाज प्रेम र सामाजिक एकता र समृद्धितर्फ नै उन्मुख भएका छन् र ती सबै आफूले कर्ममा उतारेका पनि छन् । चाहे त्यो विभिन्न संघ संस्थाको जिम्मेवारीमा रहेर होस् वा पर्यटन दूत भएर होस् या भनौं कार्यक्रम आयोजना गरेर होस् वा संयोजक भएर होस् । सतप्रतिसत् सेवा भावले समर्पित भएर लागि पर्ने र आफ्नो कार्य फत्ते गर्ने गुण नै समाजसेवी लेखक कवि ध्रुव केसीको अनुकरणीय छ ।
पुस्तकभित्र उनले यिनै कुरा समेटेर आकार दिएका छन् । शब्दमा भन्दा प्रमाणमा बोलेका छन् । कामले देखिएका छन् । त्यसैले पुस्तकभित्र सभा समारोहहरू, सहयोग र सहभागिताहरू , भाषण र साहित्य गोष्ठीहरू वा साँस्कृतिक कार्यक्रमहरू, संस्थागत पत्रहरू, प्रकाशित समाचारहरू, पुरस्कार र प्रशंसापत्रहरू सचित्र सँगालेर पस्केका छन् । यत्तिमात्र नभई आफू संलग्न संघसंस्थाहरूको संक्षिप्त परिचयदेखि संलग्न अन्य पदाधिकारी समाजसेवीहरूको समेत नाम र योगदान उल्लेख गर्न मन साँगुरो गरेका छैनन् । यसर्थ पनि पुस्तक उदार, प्रेरणामूलक, उदाहरणीय र अनुकरणीय छ । रोचक र जिज्ञासा उन्मुख छ ।
बेलायतमा लेखकले समर्पित गरेका पाँच दशक भन्दा बढी समयका नेपाली गतिविधिहरूको सचित्र जानकारीबाट यस अवधिमा बेलायतस्थित नेपाली जनसमाजको यथार्थ वस्तुस्थिति, आवादी, रहनसहन, सहयोग र सहभागिता, देशभक्ति र राष्ट्रप्रेम लगायतका सामाजिक ज्ञान र इतिहास आर्जन गर्ने अवसर यस पुस्तकले दिएको छ ।
लेखकले करिव ३३७ जति पृष्ठमा आफ्ना जीवनका व्यक्तिगत, पारिवारिक र सामाजिक गतिविधिहरू समेटेर पाँच अध्यायमा बाँढेँका छन् । पहिलो अध्यायमा बाल्यकालदेखि किशोर अवस्थासम्मका प्रसंग छन् । संक्षिप्त पारिवारिक जानकारी र आर्थिक सेरोफेरोका कुराहरू समेटिएका छन् । गोठको भैँसीमा साहुको गिद्धे आँखा परेको घटना मर्मस्पर्सी छ ।
दोस्रो अध्यायमा वयस्क अवस्थाको जीवन गाथा छन् । पशु चिकित्सालयको जागिरका कुरा, प्रेम सम्बन्ध र विवाहसम्मका कुरा छन् । चुलेसीको घाउले आफ्नो भविष्यकी जीवन संगिनीसंग प्रेमको डोरी कसिने सूत्र बनेका घट्नाहरू रोमाञ्चकारी छन् । तेस्रो अध्यायमा कामको इजाजतपत्र लिएर जन्मभूमीबाट विदेश तर्फको यात्रा आरम्भ र लन्डनमा पुगेपछि रोजीरोटीको काममा संलग्नता र विकसित शहर लन्डनका डबल डेकर बसदेखि अन्डकग्राउण्डका कुराहरू समावेश छन् ।
लन्डनमा भएका अन्य नेपाली दाजुभाईहरूसँगका भेटघाट र हार्दिकताका कुराहरू स्नेहपूर्ण र लोभ लाग्दा छन् । चौथो अध्यायमा लन्डनमा रहेका नेपाली राजदूतावास, पुराना संस्थाहरू यती नेपाली एसोसिएसन यूके–१९६०, कोसेली नेपाली साँस्कृतिक परिवार यूके–१९८६, नेपाली साहित्य विकास परिषद यूके–१९९५, लगायतका अन्य पछि स्थापित सामाजिक संस्थाहरूमा सहभागिता र समाजसेवामा सक्रियताका प्रसङ्गहरू छन् । च्यारिटीमूलक सभा र समारोहहरू, सामाजिक गतिविधि, सांस्कृतिक कार्यक्रमहरू, नेपाली भाषा साहित्यका सिर्जनात्मक कार्यहरू, पत्रपत्रिका प्रकाशनमा सहभागिता र समाचार संप्रेषण आदि कुराहरू समावेश छन् । नेपाल र नेपालीको पहिचान फैलाउने र सामाजिक सहयोग र सहभागिता जुटाउने समाज र देशभक्तिपूर्ण क्रियकलापहरू अनुकरणीय र प्रेरणावर्धक रहेका छन् ।
पाँचौ अध्यायमा पूर्णरूपले नेपालको समृद्धिका लागि नेपालको पर्यटन विकासमा ठोस योगदान पुरयाउन नेपालको पर्यटन दूत भएर व्यक्तिगतरूपले वा संगठितरूपले गरिएका प्रचारात्मक कार्यक्रमहरू र अभियान लगायतका गतिविधि रहेका छन् । देशप्रतिको माया र राष्ट्रको समृद्धिको चिन्तन एवं क्रियाकलापहरू मननीय, अनुकरणीय र प्रशंसनीय छन् ।

सुरेशजङ्ग शाह
संक्षेपमा भन्नु पर्दा ‘ईन्द्रायणी देखि बेलायतसम्म’ कृतिले लेखक ध्रुव केसीको जीवनी भन्दा पनि देश र समाजका लागि गरेको निस्वार्थ कर्मको दस्तावेजीकरण गरेको छ । तसर्थ यो पुस्तक लेखक, कवि, समाजसेवी केसीको जीवनी नभई जीवन–जगत बोकेको सामाजिक कृति हो भन्न सकिन्छ ।
पुस्तकबारे ’विगत पाँच दशकदेखि बेलायतमा समाजसेवामा समर्पित यस नेपाली साहित्य विकास परिषद् यूकेका वरिष्ठ सह–अध्यक्ष उदार दिलका धनी वरिष्ठ समाजसेवी सर्जक कवि ध्रुव केसीको यो पुस्तक ‘ईन्द्रायणी देखि बेलायतसम्म’ सिर्जनात्मक समाजसेवा र जीवन गाथाको परिपुञ्ज हो’ भन्ने अभिमत नेपाली साहित्य विकास परिषद् यूकेका अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लको छ ।
अन्त्यमा गत पाँच दशक अवधिभरको बेलायत स्थित नेपाली जनसमाजको सामाजिक ज्ञान आर्जन गर्न र समाजसेवाको महिमा जान्नका लागि यो ‘ईन्द्रायणी देखि बेलायतसम्म’ पुस्तक पढ्नु पाठक वर्गमा रूचिकर रहने शुभेच्छा राख्दछु । लेखक तथा कवि वरिष्ठ समाजसेवी मित्र ध्रुव केसीमा शुभकामना ।
(समीक्षक शाह सन् १९९५ मा स्थापित नेपाली साहित्य विकास परिषद् यूकेका संस्थापक तथा निवर्तमान अध्यक्ष हुन्)
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५