एनआरएनए आयरल्याण्डको सचिवमा उम्मेद्वारी दिने युवा व्यवसायी विकास पण्डितको घोषणा



डब्लिन–आयरल्याण्डस्थित युवा व्यवसायी विकास पण्डितले एनआरएनए आयरल्याण्डको सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
यस अघि कार्यसमिति सदस्यको रुपमा सफलता पूर्वक काम गरेका पण्डितले २०२५-०२७ कार्यकालका लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
उनले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै नेपाली समुदायको वर्गीकरण सहित जनगणना गराउन पहल गर्ने तथा नेपाल हाउस (नेपाल समाज घर) स्थापनाको शुभारम्भ गर्ने जनाएका छन्। त्यस्तै विद्यार्थी, युवा र नयाँ आगन्तुकलाई सहजीकरण, स्थानीय सरकारी निकाय संग सहकार्य गरी सेवा विस्तार, नेपाल- आयरल्याण्ड सांस्कृतिक पुल निर्माण र युवा व्यवसायिक स्टार्ट अपहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसै गरी उनले नेपाली समुदायका समस्या पहिचानका लागि हेल्प डेस्क स्थापना, कोर्क, लिमरिक, कार्लो, पोर्टलिश लगायतका सहरहरुमा सांस्कृतिक तथा सामुदायिक कार्यक्रम संचालन, प्रवासी नेपाली मानसिक स्वास्थ्य सचेतना र सहयोग कार्यक्रम पनि संचालनका साथै कन्सुलर सेवा निरन्तरताको लागि पहल गर्ने जनाएका छन्।
“एनआरएनएको नयाँ कमिटिका सबै साथीहरु संग सहकार्य गर्दै आफ्नो क्षमताले भ्याएसम्म आयरल्याण्डस्थित नेपाली समुदायको सेवा गर्न मैले कुनै कसर बाँकी राख्ने छैन,” उनले भने।
को हुन् विकास पण्डित ?
चितवन दिव्यनगरमा जन्मिएका विकासले स्थानीय युवामाविबाट एसएलसी उत्तीर्ण गरे। त्यसपछि उनले एपेक्स एकेडेमीबाट आइएससी उत्तीर्ण गरे। बीएससी पहिलो वर्ष पढ्दै गर्दा आयरल्याण्डको भिसा लागे पछि सन् २००९ सेप्टेम्बरमा उनी आयरल्याण्ड आए। पढ्दै काम गर्दै गरे।
सन् २०१३ मा उनको चितवन गुन्जनगरकी सेविका पराजुलीसंग बिहे भयो। पण्डित दम्पतिका छोरी कयुवी (१० वर्ष) र छोरा प्रेम (८ वर्ष) छन्।
सन् २०२२ तिरको कुरा हो। भारतीयमूलका उनका एक जना साथीले उनलाई मोमो बनाउने एकजना मानिस खोजी दिन भने। तर कोही पाईएन। “त्यति बेला फ्रोजन मोमो सजीलै पाइदैनथ्यो। एक जना भाइलाई अनुरोध गरें। उनी र म मिलेर घरमै मोमो बनाएर ती साथीकहाँ पठाई दियौं। पछि मैले बजारको अध्ययन पनि गरें र मोमोको राम्रो माग भएको थाहा पाएँ। त्यस पछि मोमो बनाउने मेशिन मगाएर आफ्नो काम छाडेर डिसेम्बर २०२२ देखि आफ्नै व्यवसाय शुरु गरें । हामी दुई जना मिलेर सुरु गरेकोले कम्पनीको नाम ब्रोज डम्प्लिङ फुड ट्रेलर राखें,” विकास भन्छन् ।
मोमो नेपालीहरुको अत्यन्तै मन पर्ने खाना। खाजाकै रुपमा प्रचलित छ। “विभिन्न चाड पर्वहरुमा स्थानीय पार्कहरुमा फुड ट्रेलर लिएर जाँदा रमाई रमाई खानु भयो । त्यो भीड देखेर आइरिशहरुले पनि चाखे र मन पराए। यहाँको चिसो हावा पानीमा तातो मीठो मोमो, नेपाली स्वाद, ताजा, स्वस्थकर भएर पनि होला, ‘वार्ड अफ माउथ’ हुँदै अहिले धेरै आइरिसहरुले पनि मोमो किनेर खान थालेका छन्,” उनी भन्छन् ।
गत वर्ष विकासले दैलो नेपाली किचन पनि सुरु गरे। त्यसो त विदेशी भूमिमा आफ्नै व्यवसाय सुरु गर्दा जोखिम पनि धेरै छन् । ‘व्यवसाय गर्न पहिलो पूँजी पर्याप्त नहुनु, दोश्रो जनशक्ति नपाउनु, कोभिड जस्ता आकस्मिक समस्या, परिवारलाई पर्याप्त समय दिन नसक्नु, अभिभावकलाई तीन महिना भन्दा बढी भिसा दिने प्रावधान नहुनु, यस्ता समस्याहरु छन्,’ विकास भन्छन। अर्को तर्फ अवसर पनि छन् – जस्तै क्षमता र योग्यता अनुसार व्यवसाय गर्न पाइने, व्यवसाय फैलदै गए आफू र परिवार बाहेक अरु नेपालीलाई समेत रोजगारी दिन सकिने र अरु देशमा समेत विस्तार गर्न सकिने।
“नेपालबाट आउन चाहने सबैलाई सवारी चालक अनुमति पत्र लिएर वा गाडी सिकेर आउन र त्यस्तै ब्युटीसियन, कुक, आइटी, हार्डवेयर वा सफ्टवेयर सिकेर आउन सुझाव दिन चाहन्छु,” विकासले भने।
आनो व्यवसाय र समाजसेवा संगसंगै अगाडि बढाउन चाहेकाले परिवारबाट पूर्ण सहयोग प्राप्त भइरहेको विकास बताउंछन्। उम्मेदवारको एजेन्डा हेरेर १५ जुलाईमा हुन गइरहेको एनसीसी आयरल्याण्डको चुनावमा मतदान गर्न पनि उनले अपिल गरेका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५